बिहीबारदेखि नेपालीलाई युएईमा प्रवेश खुला

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

संयुक्त अरब इमिरेट्स (युएई)ले आगामी साउन ५ गतेदेखि नेपालीहरूलाई प्रवेश खुला गर्ने भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार युएईको आवासीय भिसा भएका र युएईमा कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएको प्रमाणपत्र भएकाहरूलाई बिहीबारदेखि प्रवेश दिइने भएको हो । 

युएईको आवासीय भिसा भएका, तर खोप नलगाएका नेपालीहरूले युएईको पहिचान तथा नागरिक प्राधिकरणबाट युएई प्रवेश अनुमति लिनुपर्नेछ । तर, युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति र विशेष मानवीय परिस्थिति भएका व्यक्ति मात्रै जान पाउनेछन् । यस्ता व्यक्तिसँग ४८ घन्टाभित्रको पिसिआर रिपोर्ट हुनुपर्नेछ । नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुनेछ । युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुनेछ । त्यस्तै, यस्ता व्यक्तिले युएई प्रवेशमा क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्नेछ । 

विश्वव्यापी कोरोनाको दोस्रो लहर सुरु भएलगत्तै युएई सरकारले नेपालसहित ६ वटा मुलुकलाई युएई प्रवेशमा प्रतिबन्ध गरेको थियो । युएई प्रवेशमा प्रतिबन्ध मुलुकमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन् । तर, बिदा लिएर वा कामको सिलसिलामा नेपाल आएका श्रमिक लामो समयदेखि अड्किए पनि युएई सरकारले आवासीय भिसा भएका नेपालीलाई युएई प्रवेशका लागि सहज बनाएको हो ।

अजरबैजान हुँदै युएई पुगे नेपाली
युएई सरकारले नेपाललगायत ६ वटा मुलुकलाई प्रवेशमा रोक लगाएपछि नेपाली श्रमिकहरू अजरबैजान हुँदै युएई पुगेका छन् । युएईबाट बिदामा आएका श्रमिक नेपालबाट जान नपाएपछि अजरबैजानलाई ट्रान्जिट बनाई युएई पुगेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताए । 

युएईले विश्वका विभिन्न १४ वटा मुलुकलाई ग्रिनलिस्टमा राखेका थियो । सो मुलुकबाट युएई प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन होटेल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो । युएईबाट बिदामा नेपाल आएका श्रमिक फर्कन नपाएपछि अरबैजानलाई ट्राजिन्ट बनाई युएई फर्केको संघले बताएको छ । अजरबैजानलाई युएईले ग्रिनलिस्टमा राखेको छ । त्यसैले नेपाली श्रमिक कतार हुँदै अजरबैजान पुगेका नेपालीहरू १४ दिनसम्म होटेल क्वारेन्टाइन बसेर युएई पुगेका छन् । यसका लागि ट्राभल एजेन्सीले २ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म लिने गरेको संघले बताएको छ । 

साउदी जाने नेपालीको क्वारेन्टिन खर्च रोजगारदाताले नै व्यहोर्ने
साउदी अरब जाने नेपाली श्रमिकको क्वारेन्टिनको खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने भएको छ । साउदी सरकारले गरेको नयाँ व्यवस्थाअनुसार संस्थागत रूपमा साउदी जाने श्रमिकको रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्ने व्यवस्था गरेको हो । साउदी जाने विदेशी नागरिकले सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । 
यसअघिको व्यवस्थाअनुसार साउदी जाने श्रमिकले सात दिन क्वारेन्टिन बस्दा ३ हजार ५ सय साउदी रियाल (१ लाख १० हजार रुपैयाँ) भुक्तानी गर्नुपर्ने थियो । विदेशी श्रमिकलाई चर्को मूल्य लाग्ने भएपछि साउदी सरकारले बिदामा नेपाल गई साउदी फर्कने श्रमिकलाई क्वारेन्टिनका लागि रोजगारदातासँग सम्पर्क गर्न भनेको छ । त्यस्तै, नयाँ कामदारको हकमा पनि रोजगारदाले नै भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । 

जोन्सन एन्ड जोन्सनको खोप लगाएका श्रमिक कतार प्रवेश गर्न पाउने
कतार सरकारले जोन्सन एन्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकलाई कतार प्रवेश खुला गरेको छ । गत २८ असारदेखि नै लागू हुने गरी कतार सरकारले नेपालमा उपलब्धमध्ये जोन्सन एन्ड जोन्सनको दुवै मात्रा खोप लगाएका र कतारमा नै कोभिड संक्रमण भई १२ महिना ननाघेका श्रमिकलाई प्रवेश गर्न सक्ने व्यवस्था गरेको हो । 

त्यस्तै, कतार जाने श्रमिकले तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घन्टाभित्रको कोभिड–१९ नेगेटिभ पिसिआर रिपोर्ट लिएर मात्र यात्रा गर्न सक्नेछन् । यात्रा गर्नुभन्दा कम्तीमा १२ घन्टाअघि अनलाइनबाट प्रि–रजिस्ट्रेसन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइनेछ ।

त्यस्तै, सिनोफार्म खोप लगाएका यात्रुको हकमा आगमनको बखतमा एन्टिबडी परीक्षण गरी पोजेटिभ देखिएमा क्वारेन्टिन बस्नुनपर्ने तथा नेगेटिभ देखिएमा होटेल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ । खोप मात्रा पूरा नगरेको, खोप लगाएको १४ दिन पूरा नभएका वा खोप नलगाएका व्यक्तिको हकमा अनिवार्य रूपमा डिसकभर कतार वेबसाइटमा बुकिङ गरी १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ ।

See More On

सुझावित समाचार