दार्चुला घटनाको चाँडो छानबिन गर्न र पीडितलाई क्षतिपूर्ति दिन सांसदहरूको माग

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा बेपत्ता भएका व्याँस गाउँपालिका–२ मालगाउँका जयसिंह धामीका विषयमा सरकार गम्भीर नभएको भन्दै सांसदहरूले मंगलबार प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन् । एक सातापछि बसेको संसद्को बैठकमा बोल्ने सत्तापक्ष र विपक्षका अधिकांश सांसदले दार्चुला घटनाबारे चाँडो छानबिन गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरूले आ–आफ्नो सिटबाट उठेर घटनाको विरोध गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले एमाले सांसद गणेशसिंह ठगुन्नालाई बोल्ने समय दिए । दार्चुलाबाट प्रतिनिधित्व गर्ने उनले घटनाप्रति सरकार जिम्मेवार नभएको आरोप लगाए । 

‘सीमामा यसरी नेपाली नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रूपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ,’ ठगुन्नाले बैठकमा भने । 

उनले छानबिन गर्न ससंदीय टोली गठन गर्न माग गर्दै औपचारिक रूपमा भारतसमक्ष विरोध दर्ता गरी दोषीलाई कारबाही गर्न पहल गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले घटनाबारे संसद्लाई जानकारी गराउने र त्यहाँ उठेका प्रश्नको जवाफ दिने कार्यसूची थियो । उनले सोमबार राष्ट्रिय सभाको बैठकमा सुनाइएकै विवरण प्रतिनिधिसभामा प्रस्तुत गरे । त्यसपछि सांसदहरूले दार्चुलाको विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरे । 

गृहमन्त्रीलाई प्रश्न सोध्ने समयमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सांसद शेरबहादुर तामाङले पनि संसदीय समिति गठन गर्न माग गरे । प्रमुख सचेतक भट्टराईले छिमेकीले नेपालीमाथि गर्ने ज्यादतीलाई रोक्न उच्चस्तरीय पहल गर्न माग गरे । 

भट्टराईले भने, ‘तुइन काटिएपछि जयसिंह धामी बेपत्ता भएका छन् । त्यसमा एउटा सानो टोली गठन गरेर मात्रै समाधान हुँदैन । यसको दीर्घकालीन समाधानका लागि छिमेकीले हामीमाथि गर्दै आएको हेपाहा प्रवृत्तिको अन्त्य गर्न उच्चस्तरकै पहल आवश्यक छ । त्यसका लागि हामीले संसदीय छानबिन समितिको माग गरिरहेका छौँ ।’

सांसदहरूले उक्त घटनालाई लिएर भारतीय पक्षसँग संवाद भए–नभएकोबारेमा पनि सोधखोज गरेका थिए । गृहमन्त्रीले दार्चुला घटनामाथि दिएको जानकारी अत्यन्तै हल्का भएको एमाले सांसद महेश आरोप लगाए । उनले प्रश्न गरे, ‘भारतीय सरकारसँग उहाँले कत्तिको बलियो वार्ता गर्दै हुनुहुन्छ ? यस्ता खालका समस्या पटक–पटक दोहोरिएकाले अब कहिल्यै नदाहोरिने ढंगले उहाँले के योजना बनाउनुभएको छ ?’

सत्तापक्षकै सांसद असन्तुष्ट
घटनाको सत्यतथ्य बाहिर आउनेमा कांग्रेसकै सांसदले बैठकमा आशंका जनाए ।गृहमन्त्री खाणले भारतको समेत सहयोग लिएर धामीको खोजीकार्य भइरहेको जानकारी संसद्लाई गराएका थिए । त्यस विषयमा कांग्रेसकै सांसद गगन थापाले प्रश्न गरे ।

सांसद थापाले घटनामा आफ्नो संलग्नता नभएको प्रतिक्रिया दिएको भारतले नेपाललाई छानबिनमा सघाउनेमा आशंका व्यक्त गरे । ‘जयसिंह धामीको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बलको कुनै संलग्नता नरहेको भन्ने जिकिर गर्यो भन्ने मिडियामा आएको छ । सत्य के हो ? भारतीय पक्षले आधिकारिक रूपमा आफ्नो संलग्नता नभएको भनेको हो ? यदि यस्तो हो भने छानबिन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्ला ? हाम्रो छानबिन समितिले सत्यतथ्य पत्ता लगाएर यो ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले कसरी दिलाउनुहुन्छ ?’ थापाले गृहमन्त्री खाणसँग प्रश्न गरे । 

कांग्रेस सांसद डिला संग्रौलाले पनि सरकारलाई कूटनीतिक र राजनीतिक संवाद थाल्न सुझाब दिइन् । उनले गृहमन्त्रीसँग प्रश्न सोधिन्, ‘गृहमन्त्रीले छानबिन समिति बनेको छ भन्नुभयो । यस घटनाको सत्य–तथ्य के हो ? कूटनीतिक र राजनीतिक वार्ता थालनी गर्नुपर्यो । पीडित परिवारलाई क्षतिपूर्ति, जयसिंह धामीको न्यायका लागि गृहमन्त्री उभिनुपर्छ । छानबिन समितिले तथ्य बाहिर ल्याउनुपर्छ ।’

दार्चुलाका सांसद बडूले सरकारले गरिरहेको छानबिन पर्याप्त छ कि छैन भन्दै प्रश्न गरे । उनले भारतीय पक्षसँग सरकारले घटनालाई लिएर सम्पर्क गरे–नगरेको, प्रत्यक्षदर्शीका बयान लिए–नलिएकोबारे चासो व्यक्त गरे । उनले भने, ‘छानबिनका क्रममा भारतीय पक्षसितको अहिलेसम्म सम्बन्ध राख्नुपर्ने आवश्यकता थियो, त्यो भयो कि भएन, छानबिनमा दुवैतिरको प्रत्यक्षदर्शी र दुवैतिरको छानबिनको प्रक्रियालाई अगाडि लैजानुपर्ने आवश्यकता देखिन्छ । तुइन तरिसकेका र तर्न बाँकी रहेका प्रत्यक्षदर्शी हुन्, उनीहरूको सम्पर्क भयो कि भएन र उनीहरूको सम्पर्क गराउने प्रक्रिया कहाँ पुगेको छ ? त्यसो हुँदा यसको सत्य–तथ्य बाहिर ल्याउन सहयोग पुग्छ भन्ने लाग्छ ।’ उनले पक्ष–विपक्षभन्दा पनि सत्यमा केन्द्रित हुन आवश्यक भएको बताए । 

माओवादी सांसद महेश्वरजंग गहतराजले घटनालाई टुंगोमा पुर्याउन सरकारले गम्भीर पहल गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल र भारतका सबै सीमा खुला छन् । खुला सिमानाको फाइदा स्वाभाविक रूपले स्थानीयले प्रयोग गरिरहेका छन् । तर, सीमा प्रयोग गरिरहँदा भारतीय सुरक्षाकर्मीबाट जे–जस्तो व्यवहार भएर जयसिंह धामी बेपत्ता अवस्थामा छन्, यो सबै नेपालीलाई स्तब्ध बनाउने परिघटना हो ।’

भारत सरकारसँग कूटनीतिक र राजनीतिक तहमा समेत छलफल गरेर सरकारले छिटोभन्दा छिटो सत्य–तथ्य छानबिन सार्वजनिक गर्न उनले आग्रह गरे । कांग्रेस सचेतक पुष्पा भुसालले भने अघिल्ला प्रधानमन्त्री केपी ओलीले तुइन हटाउन सफल नहुँदा एक नेपालीको ज्यान गुमेको आरोप लगाइन् । उनले भनिन्, ‘मुलुकको ३८औँ निवर्तमान प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भइसकेपछि पहिलो बैठकमा मैले दुई वर्षभित्र देशभरिका तुइन हटाएर झोलुंगेपुल कायम गर्छु भनेर बोल्नुभएको थियो, उहाँले साढे तीन वर्षसम्म शासन गर्नुभयो, बोल्नुभयो, तर काम कम भयो । त्यसकारण परिणाम नेपाली जनताले भोग्नुपर्यो । १५ साउनको घटना त्यसैको परिणाम हो ।’ 

सुझावित समाचार