राजनीतिक सभा सम्मेलन र नारा जुलुस जस्ता कार्यक्रमहरूले संक्रमणको जोखिम बढाउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्ता कार्यक्रमहरू रोक्न आग्रह गरेको । मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले भीडभाडजन्य सबैखाले गतिविधिमा रोक लगाउँदै जारी निषेधाज्ञालाई साउन २७ गतेसम्मको लागि लम्ब्याएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमणका बेला उपत्यकामा भीडभाड झन्झन् बढ्दै गएकाले यसलाई रोक्न प्रशासन थप कडा बन्ने बताए। उनले बुधबारदेखि सडकमा भीडभाडजन्य गतिविधि गरे प्रशासनले नियन्त्रणमा लिन सक्ने जानकारी दिए। ‘आगामी २७ गतेसम्मको लागि हामीले सडकमा हुने भीडभाडलाई रोक्नेगरी निषेधाज्ञा लम्ब्याएका छौं,’ उनले भने, ‘संक्रमण फैलियो भने यसलाई थप कडाई गर्छौं।’ मंगलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच संक्रमण रोकथाम र निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल भएको थियो। छलफलका क्रममा प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी–साँझ, क्लव, स्वीमिङ पुल, मनोरञ्जनस्थललगायत क्षेत्रमा हुने गतिविधिमा रोक लगाएको छ।
त्यस्तै, खुल्ला स्थानमा हुने भीडभाड, नारा जुलुस, महोत्सव, भोज भतेरजस्ता कार्य नगर्न आग्रह गरेको छ। घर–टोलमा हुने नित्य पूजाबाहेकका अन्य धार्मिक क्रियाकलापमा पनि रोक लगाइएको छ। संक्रमणको दर बढ्दै गएकोले शैक्षिक संस्थाहरुमा भौतिक रुपमा पठनपाठन नगराउन उपत्यकाका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको छ।
स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। व्यक्ति–व्यक्तिबीच पनि कम्तीमा २ मिटरको भौतिक दुरी कायम राख्ने, स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्नेजस्ता नियम पालना गर्न आग्रह गरिएको छ। हाल उपत्यकामा सार्वजनिक यातायात सञ्चालन भइरहेकोले यात्रुले उचित सतर्कता अपनाउनुपर्ने, सवारीसाधनमा कोचाकोच यात्रु राख्न नपाइने, मास्क नलगाई सवारीसाधनमा नचढाउने, चालक र सहचालकले मास्कको प्रयोग गर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजर राख्नेजस्ता कार्य गर्न यात्रु, चालक र सवारीधनीलाई आग्रह गरिएको छ। त्यस्तै, मालवहाक सवारीसाधनले राती ९ बजेदेखि विहान ५ बजेसम्म सामान ढुवानी गर्न पाउनेछन्। यसबाहेक दैनिक खाद्य तथा उपभोग्य सामग्रीका पसल र औषधी पसल भने कुनै नियम लागू गरिएको छैन। होटल तथा रेष्टुरेन्टहरुको हकमा भने साझँ ७ बजेसम्म ‘टेक अवे वा होम डेलिभरी गर्न पाउनेछन्।
कोरोना महामारीका कारण स्थगित हुँदै आइरहेका परीक्षाहरु हाल सञ्चालन भइरहेकोले परीक्षा हलमा २५ जनाभन्दा बढी विद्यार्थी नराख्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न प्रशासनले शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश यस्तो छ 

