प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद दार्चुला घटनाको विषयलाई लिएर सरकारमाथि खनिएका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोलेका विपक्षी सांसदले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन्। भारत सरकारविरुद्ध बोल्न नसकेको, कम्फर्टेबल भएको भन्दै निन्दा गरेका छन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि आफू बसेको स्थानबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदहरूले शून्य समयको भरपूर उपयोग गरेका छन्। सरकारले छानबिन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक गर्नु उचित नहुने बताइरहेका वेला सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने आवाज उठेको छ।
त्यसैगरी, सत्तारुढ दलका सांसदहरूले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन्। सांसद विमला नेपालीले तीन वर्ष अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भए पनि हालसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरूले सक्ने कामबारे मात्रै बोल्न सुझाएकी छिन्। उनले नेताले जनतालाई झुक्याउनु नहुनेमा सचेत गराए।
उनले भनिन्, ‘केपी ओलीले पहिलो निर्णय नै एक वर्षभित्रमा देशैभरिका तुइन विस्थापित गर्छु भन्ने प्रतिबद्धता गर्नुभएको कुरा आज सम्झना आयो। उहाँ तीन वर्ष प्रधानमन्त्री हुनुभयो, तर काम भएन। आज हामीले यो दुःखद घटना सम्झनुपर्दा उहाँको बोलीको ठेगान थिएन भन्ने कुरा प्रमाणित भएको छ। तसर्थ हामी नेतृत्वमा बस्ने व्यक्तिहरूले सक्ने काम मात्रै गरौँ। नसक्ने काम नबोलौँ। र जनतालाई नझुक्याऊँ भन्ने कुरा राख्न चाहन्छु।’
अर्का सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरे। वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह भएको उनको टिप्पणी छ। उनले भने, ‘सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह साबित भएको छ। यो सरकार नेपाली नागरिकका लागि होइन । अरू कसैको लागि कम्फर्टेबल भएको चर्चा सर्वत्र सुन्न पाइन्छ। हेक्का रहोस् गोरु सधैँ ब्याउँदैन। लोकतन्त्रमा जनता नै भगवान् हुन्।’
एमालेका सांसद गणेशसिंह ठगुन्नाले दार्चुला क्षेत्रको सडकलाई राष्ट्रिय गौरवको योजना घोषणा गर्दै तुइन चुँडिएर बेपत्ता धामीको परिवारलाई क्षतिपूर्ति दिन माग गरे। उक्त घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति बताउनुपर्ने उनको माग छ।
सांसद महेश बस्नेतले जयसिंह धामी महाकालीमा डुबे पनि सरकार मौन बसेको आरोप लगाए। उनले भने, ‘एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे। सरकार भन्छ– मौन बस, समाचार नबनाऊ। प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप। कांग्रेसको मेयरको घरमा खोप। उपसभापतिको घरमा खोप।’
त्यस्तै, सांसद महेश्वरजंग गहतराजले दार्चुला घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न कूटनीतिक र राजनीतिक तहबाट छलफल अगाडि बढाउनुपर्ने बताए। उनले भने, ‘यसबारे सरकारले छिटोभन्दा छिटो सत्यतथ्य छानबिन गरेर यसलाई सार्वजनिक गर्नुपर्छ । र, भारत सरकारसँग कूटनीतिक र राजनीतिक तहमा समेत छलफल गरेर यस घटनाबारे गम्भीर ढंगले हामीले पहल कदमी गर्नुपर्छ।’