डेढ महिनाअघि क्रेनले उभ्याएको नयाँबानेश्वरको आकाशेपुल अझै अलपत्र

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

काठमाडौंको अति व्यस्त मानिएको नयाँबानेश्वर चोकमा गत २६ जेठमा निकै तामझामका साथ आकाशेपुललाई क्रेनको सहायताले उभ्याइयो । डेढ महिनाअघि पुल ठडिएपछि पैदलयात्रुलाई लागेको थियो, अब सहज तरिकाले सडक वारि–पारि गर्न सकिन्छ । पाँच–सात मिनेट नै रोकिनुपर्दैन । तर, अहिलेसम्म पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । पैदलयात्रुको सास्ती ज्युँका त्युँ छ । संघीय संसद् भवननजिकैको चोक बानेश्वरमा साँझ–बिहानको कार्यालय समयमा बाटो काट्न यात्रुले सास्ती खेप्दै आएका छन् । 

सडक डिभिजन कार्यालय काठमाडौं भने पुल निर्माणका लागि काम गर्ने कामदारलाई कोभिड भएकाले निर्माण ढिला भएको बताउँछ । ‘नयाँबानेश्वरको आकाशे पुल निर्माण सकिने चरणमा छ । सबै सामान तयारी अवस्थामा छ । त्यो सामान जोड्ने कामदारलाई कोरोना भएकाले ढिलो भएको हो,’ डिभिजन प्रमुख कुवेर नेपालीले भने । निषेधाज्ञाको समयमा पनि काम भएकाले सम्पन्न गर्नुपर्ने तालिकाभन्दा छिटो काम भएको उनले दाबी गरे । ‘हामीले अरू काम छाडेर निषेधाज्ञाको समयमा पनि त्यो कामलाई प्राथमिकतामा राखेकाले छिटो भएको हो । असारको अन्तिमसम्म सकाउँछौँ कि भन्ने थियो,’ नेपालीले भने, ‘निषेधाज्ञाको मौका पारेर भविष्यमा ट्राफिक अवरोध नहोस् भनेर काम गर्दा ग्याप देखिएको हो । पुल निर्माण तालिकाभन्दा धेरै पछाडि छैन ।’ २६ जेठमा भुइँमा बनाइएको फलामको ट्रस्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको थियो । 

 साउन अन्तिमबाटै यात्रुले  पुलको प्रयोग गर्न सक्ने 
३८ मिटर लम्बाइको यो पुल पैदलयात्रुलाई मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । प्रतीक पवन जेभीले करिब तीन करोड ४७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । काठमाडौंको सबैभन्दा व्यस्त मानिएको बानेश्वरमा आकाशेपुल बनेपछि ट्राफिक जाम नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ ।

आकाशे पुल नयाँबानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर क्षेत्रमा बनेको छ । ‘नयाँबानेश्वर काठमाडौंको अत्यधिक व्यस्त ठाउँ हो । १०, १५, २० मिनेटसम्म पैदलयात्रीले बाटो वारपार गर्न कुर्नुपर्ने अवस्था छ । त्यसलाई मध्यनजर गरेर आकाशे पुल राखिएको हो । यो पुलले नयाँबानेश्वरको ट्राफिक जाम केही हदसम्म भए पनि समाधान हुनेछ,’ प्रमुख नेपालीले भने । साउन अन्तिमदेखि नै पैदलयात्रुले पुलको प्रयोग गर्न पाउने उनले बताए । 

कुवेर नेपाली, प्रमुख
सडक डिभिजन कार्यालय काठमाडौं 

नयाँबानेश्वरको आकाशे पुल निर्माण सकिने चरणमा छ । सबै सामान तयारी अवस्थामा छ । त्यो सामान जोड्ने कामदारलाई कोरोना भएकाले ढिलो भएको हो ।

 सार्न मिल्ने आकाशेपुल
यो आकाशेपुल स्टिलको हो । यसको नट–बोल्ट खोलेर सजिलै अर्को ठाउँमा सार्न मिल्छ । प्रमुख नेपालीका अनुसार आकाशेपुलको तल्लो भाग मात्र कंक्रिटको हुनेछ । कंक्रिटको जगमा अड्याएर माथिल्लो भागमा फलामको पुल हुनेछ । फलामका फ्रेमहरूलाई नट–बोल्ट कसेर पुल बनाइनेछ । यही कारण पुललाई चाहेअनुसार खोलेर अन्त सार्न सहजै सकिन्छ ।

‘अत्याधुनिक तरिकाबाट चोकहरू सुधार गर्ने, अन्डरग्राउन्ड बनाउने योजना आयो भने पनि उठाएर अर्को ठाउँमा प्रयोग गर्न मिल्छ । स्टिल भएकाले त्यसलाई अर्को ठाउँमा सजिलै लैजान सकिन्छ,’ उनले भने, ‘कहिलेकाहीँ विभिन्न कारणले बनिसकेको ठूलो पुल यसै भत्काउनुपर्ने अवस्था आउन सक्छ । बाटो विस्तार हुँदै छ । यस्तोमा कुनै ठाउँको पुलको अवस्थिति नमिलेर भत्काउनुपर्ने हुन सक्छ । तर, यसलाई भत्काउनुपर्दैन ।’

सुझावित समाचार