सडक दुर्घटनामा परेर दुईको मृत्यु, दुई घाइते

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना 

सप्तरीमा साेमबार साँझ सडक दुर्घटनामा परेर दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका– ४ अमाहामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका– १७ का २८ वर्षीय रामशंकर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका– ५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।  

यादव प्रदेश नं २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल र चौधरी स.११ प ४०३८ नम्बरको मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ– ७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिराहाको लहान– २० की २३ वर्षीया सोनम चौधरी घाइते भएका छन् । उनीहरूको उपचार लहानमा भइरहेको छ ।  

मृतकको शव लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

 

सुझावित समाचार