‘स्वरोजगारमूलक मिडियाको रक्षाका लागि सरकारले योजना ल्याउँछ’

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले महामारीबाट प्रताडित स्वरोजगारमूलक मिडियाको रक्षाका लागि सरकारले सरोकारवालासँग छलफल गरेर योजना ल्याउने बताएका छन् । उनले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि समेत सरोकारवालाहरूसँग छलफल गर्ने बताए । 

मन्त्री शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन–कानुन निर्माण, संस्थागत कमी–कमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाब दिन आग्रह गरे । उनले सत्यतथ्य सूचना संप्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ आलोचना गर्नसमेत आग्रह गरे । नवनियुक्त अर्थमन्त्री शर्माले सोमबार सिनामंगलस्थित नेपाल पत्रकार महासंघको कार्यालय अवलोकनपछि महासंघका पदाधिकारीहरूसँगको कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफलपछि सम्बोधनका क्रममा यस्तो बताएका हुन् । 

महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले अर्थमन्त्री शर्मालाई महासंघमा स्वागत तथा सफल कार्यकालको शुभकामना ज्ञापन गर्दै कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले कोभिडले सञ्चार क्षेत्रमा धेरै ठूलो प्रभाव परेको भन्दै पत्रकारहरू पेसाबाट विमुख हुने अवस्था रहेको अवगत गराए । उनले मुख्यगरी साना लगानीका सञ्चारमाध्यम र तिनमा आश्रित पत्रकारहरू मारमा परेको भन्दै  त्यसको सम्बोधन गर्न सरकारसँग आग्रह गरे । 

महासंघका महासचिव रोशन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रित परिवारलाई ठूलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताए । भेटमा कार्यबाहक अध्यक्ष विष्टले बजेट कार्यान्वयनका साथ साथै सञ्चारसँग सम्बन्धित विभिन्न कानुनको विश्लेषण गरी तयार पारेको पुस्तिका मन्त्री शर्मालाई हस्तान्तरण गरे । 

सुझावित समाचार