महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट दुईवटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ।
उपत्यकाको विभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरूलाई न्यूनीकरण गर्न सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरी चोरीमा संलग्न गिरोहलाई विशेष निगरानी गर्न, सूचना संकलन गर्न र त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए।
चोरीमा संलग्नहरूलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सूचना संकलन र निगरानीपश्चात् हिजो साँझ पल्सर मोटरसाइकलसहित भक्तपुरबाट तीनैजनालाई पक्राउ गरेको हो।
भक्तपुर सरस्वतीखेलका वासुदेव खड्काको आफ्नै घरअगाडिबाट ०७६ सालमा हराएको उक्त मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने वर्ष १९ को दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षे विशेष लिम्बू पक्राउ परेका हुन्। वास्तविक नम्बर बा.९७प १३०५ भएको कालो, रातो रङको १५० सिसीको उक्त पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी बा.९५प ४१६८ बनाइएको थियो।
ट्राफिक प्रहरीले थप अनुसन्धान गरी पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा.९६प ८८३६ नम्बरको कालो एनएस पल्सरको वास्तविक नम्बर परिवर्तन गरी बा.९१प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा धनुषा मिथिलाका २१ वर्षीय विकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो।
मोटरसाइकलसहित तीनैजनालाई थप अनुसन्धान एव कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमीमा बुझाएकोसमेत ट्राफिक महाशाखाले जनाएको छ ।
गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाइमा पठाएको छ भने हराएका तीन सय ९७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।