नेपालगन्जका तेजविक्रम शाह ५६ वर्षका भए । उनी वातावरणसम्बन्धी काम गर्ने इन्प्रोक संस्थाका अध्यक्ष हुन् । उमेर पाको भए पनि उनी दिनभर साइकल चलाउन सक्छन् । त्यसैले त उनले नेपालको सर्वाधिक साइकल चलाउने व्यक्तिको कित्तामा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
उनी तीन वर्षदेखि साइक्लिङ गर्दै आएका छन् । साइकलमार्फत बाँकेका अधिकांश धार्मिक र पर्यटकीय स्थलको अवलोकन गरिसकेका शाहका लागि साइक्लिङ आदत बनेको छ । उनी भन्छन्, ‘साइकल मेरो दैनिकी बनिसकेको छ । साइकल चलाउन नपाएको दिन खल्लो लाग्छ । साइक्लिङ लत नै भइसकेको छ ।’
उनी हरेक दिन बिहान ५ बजे उठ्छन् । बिहानको नित्यकर्म गरेर साइक्लिङमा निस्कन्छन् । यो उनको दैनिकी बनिसकेको छ । ‘आजको गन्तव्यका लागि अघिल्लो रात नै रुटको निक्र्योल गर्छु,’ उनले भने । उनी साइक्लिङ क्लबहरूले आयोजना गर्ने ‘टुर दी ठाकुरद्वारा’लगायतको अभियानमा सहभागी भइसकेका छन् । अहिलेसम्म साइकलबाट १० हजार किलोमिटर यात्रा गरिसकेको उनको भनाइ छ । ‘मापन त गरेको छैन, तर १० हजार किलोमिटरभन्दा बढी नै यात्रा गरिसके,’ उनको दाबी छ ।
एकै दिन २६० किलोमिटर साइक्लिङ
६ महिनाअघि उनले एकै दिन दुई सय ६० किलोमिटर साइक्लिङ गरेको बताए । नेपालगन्जबाट बिहान ४ बजे सुरु गरेको यात्रा कैलालीको टीकापुर पुगेर बेलुकी ६ बजे पुनः नेपालगन्ज नै फर्किएको उनले बताए । नेपालगन्ज फर्किएर पनि विश्राम लिएनन् । रातको ११ः३० बजेसम्म निरन्तर साइक्लिङ गरिरहेको उनले बताए । उनले भने, ‘यो मेरो जीवनको सबैभन्दा अविस्मरणीय क्षण हो ।’ उनी अहिले दैनिक ४०–५० किलोमिटर साइक्लिङ गर्छन् ।
वातावरण जोगाउन मद्दत गर्ने उद्देश्यले उनले साइक्लिङ सुरुवात गरेको बताए । त्यसपछि स्वस्थ रहन साइकललाई साथी बनाएको उनको भनाइ छ । ‘उमेर ढल्किँदै गएपछि सुगर र प्रेसर बढ्न नदिन मैले साइकललाई साधन बनाएको छु,’ उनले भने ।
महाकाली–मेची यात्रा
साइकललाई साथी बनाएका तेजविक्रमले ‘महाकाली–मेची शान्तियात्रा’ गर्ने घोषणा गरेका छन् । कोभिड–१९ बाट ज्यान गुमाएकाहरूको सम्झनामा साइकलयात्रा सुरु गर्न लागेको उनले बताए । महाकालीको दोधारा चाँदनीबाट १८ साउनमा उनले साइकलयात्रा सुरु गर्दै छन् भने २१ जिल्ला पार गरी पूर्वको मेचीपुलमा पुगेर सम्पन्न हुनेछ । पहिलो दिन दोधारा चाँदनी–टीकापुरसम्म १३५ किलोमिटर यात्रा गर्ने उनको तालिका छ ।
‘दोधारा चाँदनी नगरपालिकाका मेयर वीरबहादुर सुनारले राष्ट्रिय झन्डा हस्तान्तरण गरेपछि शान्तियात्रा सुरु हुनेछ,’ उनले भने । यसैबीच, नेपालगन्जका साइक्लिस्ट र स्थानीय तहका प्रमुखले उनलाई शुक्रबार बिदाइ गरेका छन् । बिदाइ तथा शुभकामना कार्यक्रममा नेपालगन्जका मेयर डा.धवलशमशेर राणा, उपमेयर उमा थापामगर, खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, एनएचआरसी अस्पतालका प्रमुख डा. कुमार शान शाहलगायतले बिदाइ गरेका छन् ।