मोरङको ग्रामीण क्षेत्रमा आयआर्जनको स्रोत बन्दै छ निगुरो

शनिबार, १६ साउन, २०७८
डिजिटल संस्करण

जंगलमा उम्रिने निगुरो मोरङको ग्रामीण क्षेत्रका निम्नवर्गीय परिवारका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ । मोरङको उत्तरी ग्रामीण क्षेत्रका बासिन्दाले सागको रूपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन-भुटुनको जोहो गर्दै आएका छन् ।

उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डुम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ । मोरङको उत्तरी क्षेत्रमा अवस्थित यो चारकोसे झाडीमा प्राकृतिक रूपमा उम्रिने निगुरो यस क्षेत्रका निम्नवर्गका मानिसका लागि आयस्रोत बन्ने गरेको छ । निम्न आयस्राेत भएका सर्वसाधारण दिनहुँ यो जंगलमा निगुरो टिप्न प्रवेश गर्छन् ।

उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारणसमेत यहाँ निगुरो संकलन गर्न आउँछन् । एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरू दैनिक ८ देखि १० घन्टाको समय खर्चिएर निगुरो संकलन गर्छन् । मिक्लाजुङ गाउँपालिका-३ की भीममाया विक दैनिक छिमेकी महिलाहरूसँग निगुरो संकलन गर्न आउँछिन् ।

बिहान ८ बजेदेखि ३ बजेसम्म लगातार टिप्दा प्रायजसो दैनिक एक डोको निगुरो लिएर गाउँ फर्किने गरेको भीममाया बताउँछिन् । अन्य महिनाको तुलनामा वर्षाको तीन महिना निगुरो बढी पाइने गरेको उनकाे भनाइ छ । 

त्यस्तै, मधुमल्ला टाँडीकी देविका दर्जीसमेत दैनिक महिलाको समूह बनाएर डुम्रेको यो जंगलमा निगुरो संकलन गर्न जान्छिन् । बिहान–बेलुकाको घरधन्दाबाट बचेको समय उनले नियमित रूपमै निगुरो टिप्नमा खर्चन्छिन् । निगुरो टिपैरै बालबच्चाको भरणपोषण र घर खर्चसमेत चलाउने गरेको उनको भनाइ छ ।

जंगलबाट संकलन गरिने निगुरो अधिकांश रूपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्व–पश्चिम महेन्द्र राजमार्गको सडक किनार यसकाे मुख्य बिक्रीस्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित बिक्रीका लागि राखिने निगुरो खरिद गरी लान्छन् । पौष्टिक सागका रूपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ । 

सुझावित समाचार