कोभिडका कारण नेपाल फर्किएका विद्यार्थीको अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन चिनियाँ राजदूतसँग मन्त्री भुसालको आग्रह

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका कोभिड– १९ का कारण स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरेकी छिन् ।

शुक्रबार मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीसँगको शिष्टाचार भेटघाटमा मन्त्री भुसालले द्विपक्षीय चासो र हितका विषयमा छलफल गर्दै सोही विषयमा समेत आग्रह गरेकी हुन् ।  

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताइन् ।  ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ (बिआरआई)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिएकी छिन् । 

 चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गरिन् । 

भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । चिनियाँ कम्पनीले जलविद्युतका क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उनले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन् । रासस
 

सुझावित समाचार