सांसदहरू भन्छन्– कोभिडको तेस्रो लहरबाट बालबालिकालाई बचाउने तयारीमा जुटौँ

बिहिबार, १४ साउन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिमा सांसदहरूले कोभिड– १९ संक्रमणको तेस्रो लहरबाट बालबालिकालाई बचाउने तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । समितिको बिहीबारको बैठकमा तेस्रो संक्रमणको जोखिमबाट महिला तथा बालबालिकालाई बचाउने तयारीमा जुट्न जोड दिएका छन् । 

समिति सदस्य दुर्गाकुमारी विश्वकर्माले कोरोनाको तेस्रो लहरबाट बच्न सरकारी अस्पतालमा भेन्टिलेटर र आइसियू पर्याप्त नभएको भन्दै स्वास्थ्य क्षेत्रमा पहिलो बजेट छुट्याएर काम गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘कोरोनाको तेस्रो लहरको वेभ आउने नै हो भने सरकारी अस्पतालमा भेन्टिलेटर र आइसियूको पर्याप्त व्यवस्था गर्नुप¥यो, यसमा सरकारले पहिलो बजेट नै स्वास्थ्य क्षेत्रलाई छुट्याएर काम गर्नुपर्दछ, साथै स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थित र अनुगमन गर्नुपर्छ ।’

समिति सदस्य हिरा गुरुङले कोरोनाको तेस्रो लहर बालबालिकामा आउने भनिएकाले पर्याप्त मात्रामा पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिए । बालबालिकालाई तेस्रो लहरबाट जोगाउने र बालबालिका प्रभावित बन्ने भनिरहेको भन्दै यसको पर्याप्त तयारीमा लाग्न र स्वास्थ्य मन्त्रालय संवेदनशील भएर काम गर्नुपर्नेमा उनको जोड छ । 

समितिमा राष्ट्रिय बालअधिकार परिषद्का प्रमुख मिलन घलेले संस्थाले कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई बालमैत्री क्वारेन्टिन र आइसोलेसन सेवा विस्तार गर्न आग्रह गरेको बताए । उनले कोरोनाको तेस्रो लहरको जोखिमबाट बालबालिकाको स्वास्थ्य जोगाउन संस्थाले पाँच सय १५ वटा स्थानीय तहसँग भर्चुअल माध्यमबाट अन्तक्र्रिया गरेर प्राविधिक सहायता उपलब्ध गराइरहेको पनि जानकारी गराए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकार कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्छ भनेर चिन्तित रहेको बताए । 
उनले भदौभित्रमा देशभर दुई सय ३० वटा भेन्टिलेटर थपेको जानकारी दिए । पोखरेलले कान्तिबाल अस्पतालमा तेस्रो लहरको जोखिमबाट बच्न ५० वटा भेन्टिलेटर थप गरेको र विभिन्न प्रादेशिक अस्पतालमा ५–१० वटा भेन्टिलेटर थप्दै जाने गरी दुई सय ३० वटा भेन्टिलेटर थप गरिएको बताए ।
 

सुझावित समाचार