खोपमा अनियमितता गरेको भन्दै विराटनगरका मेयरविरुद्ध युवाहरूको प्रदर्शन

बिहिबार, १४ साउन, २०७८
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकै नेतृत्वमा कोरोना भाइरस संक्रममणविरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ कोरोनाविरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घरघर पुगेर  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले खोप लगाउने अनियमित कार्य गरेको भन्दै बिहीबार युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले, समाजवादी पार्टीलगायतका दलमा आबद्ध युवाले बिहीबार दिउँसो ११ देखि १ बजेसम्म खोपमा अनियमितता गरेको आरोपमा मेयर पराजुलीविरुद्ध नाराबाजी गर्दै विराटनगर महानगरपालिका घेराउ गर्दै  प्रदर्शन गरे । उनीहरूले दिनभरि लाइन लाग्दा पनि कसैले खोप लगाउन नपाएको, तर कांग्रेस गुटका कार्यकर्ता भएकै कारणले मध्यराति घरघरमै खोप लगाउने गलत कार्य गरेको भन्दै मेयर पराजुलीमाथि कारबाही हुनुपर्ने माग गरे । 

युवा दीपक बजगाईंका अनुसार यसअघि पनि मेयर पराजुलीले पहुँचवालालाई खोप दिलाउने काम गरेका थिए । यसैगरी उनले मापदण्ड लत्याएर अक्सिजन पनि घरघरमा रातिराति विनाप्राविधिक आफैँ पुगेर बाँडेका थिए ।  युवाहरूका अनुसार बुधबार साँझ विराटनगर– ५ मा आफ्ना समर्थक र आसेपासेलाई खोप लगाउन मेयर पराजुली दलबलसहित पुगेका थिए ।

तर,  राति ९ बजे सुटुक्क घरघरमा खोप लगाउने गरेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि  विराटनगर– ५ निवासी कांग्रेस बुथ समितिका सभापति विमलराज भण्डारीको घरमा खोप लगाउन पुगेका मेयर पराजुलीसहित प्राविधिकहरूको भागाभाग भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात पनि गरेका थिए ।  

विराटनगर महानगरपालिकाले सरकारले तोकेको मापदण्डअनुसार अमेरिकाबाट आयात गरिएको जोन्सन एन्ड जोन्सन खोप ५५ वर्षभन्दा माथिको उमेर समूहलाई लगाइरहेको छ । खोप लगाउन केन्द्रमा मानिस चर्को घामपानी सहेर घन्टाैँ लाइन बस्ने गरेका छन् ।   

See More On

सुझावित समाचार