सेयर बजारको उकालो यात्रा कायमै

निर्जीवन बिमा र होटेलमा लगानीकर्ताको आकर्षण

बिहिबार, १४ साउन, २०७८
डिजिटल संस्करण

सेयर बजारको उकालो यात्रा कायमै रहेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढेर ३ हजार ९४ बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से सूचक ३ हजार ७५ बिन्दुमा रहेर बन्द भएको थियो । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्समा झिनो अंकको वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहको सूचकमध्ये ९ समूहको सूचकमा हरियाली छाउँदा ४ समूहको सूचक नकारात्मक बन्न पुगेका छन् । बुधबार होटेल तथा पर्यटनमा लगानीकर्ताको आकर्षण बढेको छ । निर्जीवन बिमा समूह र फाइनान्स समूहका लगानीकर्ताले नाफा आर्जन गर्न सफल भए पनि वाणिज्य बैंक र जलविद्युत्मा भने चमक आउन सकेन ।

तीन कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार

तीन कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । बुधबार नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पाेज फाइनान्स र चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी, सोल्टी होटेल, कर्पोरेट डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स, नेपाल फाइनान्स, कालिका माइक्रो क्रेडिट डेभलपमेन्टको सेयर करिब ८ प्रतिशतले बढ्दा यी कम्पनीका लगानीकर्तामा उत्साह छाएको छ । घट्ने कम्पनीहरूमा पञ्चकन्या माई हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी रहेका छन् । यी कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ । त्यस्तै, ग्रिन लाइफ हाइड्रोपावर, पाँचथर पावर कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् ।

कारोबार रकममा गिरावट

अघिल्लो दिन १५ अर्बमाथिको कारोबार भएकोमा बुधबार कारोबार रकममा केही गिरावट आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १९ कम्पनीको २ करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब २९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावरको ३८ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावरको ३६ करोड ५३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख रुपैयाँ, सानिमामाई हाइड्रोपावरको ३१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । 

जीवन विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

जीवन विकास लघुवित्तको सेयर कारोबार हुने भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै बिहीबारबाट कारोबारमा आउने भएको हो । कम्पनीको कुल ६० लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यसमध्ये १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको सुरुवाती न्यूनतम ओपनिङ रेन्ज ३ सय ५ रुपैयाँ तोकेको छ ।

सानिमा लाइफको आइपिओ आउँदै

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सेयर निष्कासन गर्नका लागि अनुमति दिएसँगै कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्ने जनाएको छ ।

६० लाखमध्ये ३ लाख कित्ता अर्थात् ५ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ भने ३ लाख अर्थात् अर्को ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि छु्ट्याइएको कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धन प्रभु क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

सुझावित समाचार