बिहीबार रातिदेखि विश्वका प्रमुख वेबसाइटहरूमा देखिएको समस्या समाधान भएको छ। इन्टरनेट पूर्वाधार विकासमा काम गर्ने कम्पनी आकामाई टेक्नोलोजिजको सर्भरमा समस्या देखिएपछि बिहीबार ठूला वेबसाइटहरू बन्द भएका थिए।
पेटिएम, सोनीलिभ, डिज्नी प्लस हटस्टार, जोमाटो, प्लेस्टेसन नेटवर्कलगायतका प्रमुख वेबसाइटहरूमा बिहीबार रातिदेखि नै समस्या देखिएको थियो।
कम्पनीले तत्काललाई यो समस्या समाधान भएको बताएको छ। कम्पनीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत समस्या समाधान गरेको उल्लेख गर्दै पुनः समस्या नहोस् भनेर काम गरिरहेको जनाएको छ।
आकामाई इन्टरनेटमा आधारित प्रमुख कम्पनीहरूलाई सेवा प्रदान गर्ने विश्वको सबैभन्दा ठूलो इन्टरनेट पूर्वाधार कम्पनी हो। यसले बैंक, इन्स्योरेन्स, एअरलाएन्सलगायतका कम्पनीहरूलाई सेवा प्रदान गर्दै आएको छ।
बिहीबार यसको अनलाइन सुरक्षामा समस्या देखिएपछि यसका करिब पाँच सय ग्राहकको सेवा अवरुद्ध भएको थियो। सिस्टममा सामान्य समस्या देखिएको भन्दै कम्पनीले ह्याकरले आक्रमण नगरेको पनि प्रस्ट पारेको छ।