टोकियो ओलम्पिक आजदेखि

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

विश्व नै कोरोना भाइरसबाट आक्रान्त बनेपछि ओलम्पिक एक वर्षपछि धकेलिएको थियो, अझै पनि ओलम्पिक सफलतापूर्वक सम्पन्न गर्नु जापानका लागि सहज छैन, सडकमा अहिले पनि विभिन्न पक्षले ओलम्पिक रोक्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् 

ओलम्पिक प्रतियोगिता कम्तीमा एकपटक सहभागी हुने हरेक खेलाडीको सपना नै हुन्छ । तर, धेरै खेलाडीले यो सपना पूरा गर्न सक्दैनन् । उनीहरू ओलम्पिक नखेली खेल क्षेत्रबाट बिदा हुन्छन् । यसबाट के स्पष्ट हुन्छ भने ओलम्पिक खेल्नु त्यति सहज छैन । वर्षौँ मिहिनेत गर्नुपर्छ । 

गृष्मकालीन ओलम्पिक प्रत्येक चार–चार वर्षमा आयोजना हुन्छ । यसपटक टोकियो सहरले गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गरिरहेको छ । विश्व खेलकुदको मेघा इभेन्ट्सका रूपमा रहेको ओलम्पिक विधिवत् रूपमा आज (शुक्रबार)देखि टोकियोमा हुँदै छ । अघिल्लो वर्ष नै हुने भनिए पनि कोरोना माहामारीका कारण जापानले ठ्याक्कै एक वर्षपछि ओलम्पिक आयोजना गर्न लागेको हो ।

विश्व नै कोरोना भाइरसले आक्रान्त बनेपछि ओलम्पिक एक वर्षपछि धकेलिएको हो । अझै पनि ओलम्पिक सफलतापूर्वक सम्पन्न गर्नु जापानका लागि त्यति सहजै छैन । अहिले पनि सडकमा विभिन्न पक्षले ओलम्पिक रोक्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् । जापान सरकार कोभिड व्यवस्थापनभन्दा ओलम्पिक खेल आयोजनामा केन्द्रित भइरहेको आरोप प्रदर्शनकारीहरूले लगाइरहेका छन् ।

एक सर्वेक्षणअनुसार ४८ प्रतिशत जापानी नगरिकले ओलम्पिक रोक्नुपर्ने मत राखेका थिए । टोकियो सहर स्वयं कोभिड–१९ को जोखिममा छ । सरकारले टोकियोमा अहिले पनि नागरिकमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएको छ । खेलाडीहरू दिनहुँजसो कोरोना संक्रमित भइरहँदा आयोजकको टाउको दुखाइको विषय बनेको छ । जापानले १७ दिनसम्म चल्ने टोकियो ओलम्पिकमा खेलाडी, प्रशिक्षक तथा अफिसियललाई कोरोनामुक्त बनाउनुपर्ने अर्को चुनौती छ । 

यी विभिन्न समस्याबीच पनि आयोजकले टोकियो ओलम्पिक सफलतापूर्वक गर्ने प्रतिबद्धता जनाइरहेको छ । ३३औँ गृष्मकालीन ओलम्पिकमा ४२ वटा खेल स्थलमा ३३ खेलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरूले समग्रमा तीन सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोतिगामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा आबद्ध दुई सय ६ देशले भाग लिँदै छन् । उद्घाटनको दुई दिन (बुधबार)अघि नै महिला फुटबल र सफ्टबलका प्रतिस्पर्धा सुरु भएका छन् । टोकियो ओलम्पिकमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाख ८० जना संलग्न रहनेछन् । 

आर्थिक रूपमा फाइदा नहुने
कोभिड–१९ कै कारण यसपटकको ओलम्पिक विनादर्शक हुँदै छ । अर्थात् रंगशालामा टोली वा खेलाडीको समर्थन गर्न एकजना पनि दर्शक हुने छैनन् । यति मात्र होइन, ओलम्पिककै लागि भनेर विदेशीहरूलाई समेत आउन प्रतिबन्ध लगाइएको छ । एक देशले ओलम्पिक खेलकुद आयोजना गर्नुको पछाडि त्यहाँको खेल, भौतिक संरचना विकास गर्नुका साथै खेलकुदको माध्यमबाट आर्थिक लाभ गर्नु पनि हो । पछिल्ला ओलम्पिकहरूमा दर्शक तथा विदेशी पाहुनाको आगमनले त्यहाँका होटेलहरू भरिभराउ हुन्थे । आयोजकले मनग्य आम्दानी गर्थ्यो । 

टोकियो ओलम्पिकमा विदेशी पाहुना तथा दर्शक नहुँदा होटेल पनि लगभग खाली रहेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । घाटाको ओलम्पिक र राज्यलाई आर्थिक भार पर्ने गरी प्रतियोगिता आयोजना गर्न हुन्न भनेर लगातार यसको विरोध भइरहेको हो । कोभिड– १९ कै कारण एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकको बजेट पनि बढेको छ । ओलम्पिक आयोजना गर्ने सहरले नै पाराओलम्पिक गर्नुपर्छ । यी दुवै प्रतियोगिताको बजेट अगाडि नै अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिललाई बुझाउनुपर्छ । जापानले गृष्मकालीन र पारा ओलम्पिक आयोजनाका लागि १५ अर्ब डलर बजेट छुट्याइएको छ । 

रियो ओलम्पिकको तुलनामा यसपटकको बजेट २२ प्रतिशतले बढेको छ । जापानले ओलम्पिक खेलकुदको दाबेदारी दिएको समयमा अनुमान गरेको बजेट र अहिलेको अवस्थामा दुई गुना बढेको छ । सुरुमा यो आठ सय विलियन यानमा सकाउने जापानको योजना थियो । यसैबीच नुमुरा रिसर्च सेन्टरको एक अध्ययनले टोकियो ओलम्पिक आयोजनाबाट राज्यलाई एक अर्ब ३८ करोड डलर घाटा हुनेछ ।

जुडोकी सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

जापानको टोकियोमा आजदेखि सुरु हुने ३२औँ  गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

बिहीबार सार्वजनिक भएको खेल तालिकाअनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उनले ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन् । भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौँ स्थानमा छिन् । उक्त खेल ९ साउनमा हुनेछ । पदकको टुंगो पनि सोही दिन लाग्नेछ । 

भट्ट वाइल्ड कार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा कांस्यपदक जितेकी थिइन् । उनले महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कांस्यपदक दिलाएकी थिइन् । डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रूपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झन्डामुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।

See More On

सुझावित समाचार