कांग्रेस मुख्यालयमा निरन्तर धर्ना र अनशन

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण
कांग्रेस मुख्यालयमा निरन्तर धर्ना र अनशन

पार्टी मुख्यालयमा धर्नामा बसेका कार्यकर्तासँग कुराकानी गर्दै कांग्रेस नेता डा.शेखर कोइराला ।

धनुषा, बारा र सर्लाहीका नेता कार्यकर्ता भन्छन्– पार्टीभित्रको विकृतिले आन्तरिक लोकतन्त्र धरापमा पर्‍यो

कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणमा संस्थापन पक्षले धाँधली गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट प्रदेश २ का नेता–कार्यकर्ताले आमरण अनशन र धर्ना दिइरहेका छन् । संविधानसभा सदस्य डा.चन्द्रमोहन यादवसहित धनुषाका तीन नेता आइतबारदेखि आमरण अनशनमा बसेका छन् । 

बाराका संविधानसभा सदस्य लालबाबु सिंह र रामअयोध्या यादवसहितले धर्ना दिएको १० दिन बित्यो । सर्लाहीका पूर्वजिल्ला सभापति लक्ष्मण रायसहित कार्यकर्ता पनि धर्नारत छन् । अनशनरत नेता कार्यकर्ता ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयको मूलढोका अघिल्तिर चिसो भुइँमा कहिले उठ्छन्, कहिले बस्छन् । कपाल र दाह्री फुलिसकेका बुढा नेताहरू पनि चिसो भुइँमै पल्टिएका छन् । न गतिलो भोक छ, न निद्रा । कांग्रेसको राजनीतिमा मलिलो उमेर खर्चिएका यी नेता–कार्यकर्ता अहिले आफू कांग्रेस भएको परिचय जोगाउन अनशन र धर्ना बस्न बाध्य बनेका छन् । 

अनशनरत यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । उनीसँगै धनुषा क्षेत्र नं. १ बाट कांग्रेसका महाधिवेशन प्रतिनिधि रामपल्टन साह र तरुण दलका सदस्य दिनेश नायक पनि अनशनमा छन् । उनीहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । तर, उनीहरूका माग सम्बोधनबारे कांग्रेसले कुनै छलफल गरेको छैन । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार चिकित्सकहरू बोलाएर उनीहरूको स्वास्थ्य परीक्षण गराएको बताए । ‘उहाँहरूको अनशनबारे नेताहरूलाई जानकारी गराएको छु, छलफल भइरहेको होला,’ उनले भने ।

अनशनरत संविधानसभा सदस्य यादव नेपालमा लोकतन्त्रलाई परिभाषित गर्ने कांग्रेस नै आन्तरिक राजनीतिमा लोकतन्त्र मास्न उद्यत रहेको बताउँछन् । ‘आज पार्टीभित्रको विकृतिले गर्दा आन्तरिक लोकतन्त्र धरापमा परेको छ । जब–जब महाधिवेशनको कुरा आउँछ, विधानअनुसार चार वर्षमा हुनुपर्ने हो । तर, व्यवहारमा चार वर्षमा कहिल्यै पनि भएको छैन । क्रियाशील सदस्य भनेको कांग्रेसको मेरुदण्ड हो । क्रियाशील सदस्यता र रूख एकअर्काका पर्याय हुन् । रूखका जरा क्रियाशील सदस्य हुन् । तर, त्यो जरो नै रोगी भएर गएको अवस्था छ,’ उनले भने । 

धनुषामा क्षेत्र नं. १ मा धेरै विवाद छ । सबैला नगरपालिकाका १३ वटै वडाका साथै धनुषाधाम नगरपालिकाको ३ र ४ नम्बर वडामा नगर सभापति र प्रदेश सभा क्षेत्रीय समितिका सभापतिको दस्तखतविनै क्रियाशील सदस्यता वितरण गरिएको छ । त्यस्तै, धनुषाधाम नगरपालिका १, २, ५, ६, ७ र ९ नम्बर वडामा पनि नगर सभापतिको दस्तखत नभएको, कतिपयमा वडा र नगर सभापति दुवैको दस्तखत नभएको, गणेशमान चारनाथ नगरपालिकाका ११ वडामा प्रदेश सभा क्षेत्रीय समितिका सभापतिको दस्तखत नभएकोलगायत समस्या छन् । यस्तै, हंशपुर नगरपालिका–८ मा वडाको निर्णय एवं सभापतिको दस्तखतविना ५१ जनालाई क्रियाशील सदस्यता वितरण गरेको र वडाको सूचीबाट २० जनालाई हटाएको आन्दोलनरत नेताहरूले बताएका छन् । यसरी प्रक्रिया मिचेर बुझाइएको क्रियाशील सदस्यता बदर हुनुपर्ने उनीहरूको माग छ ।

बारामा क्षेत्रीय सभापतिले नवीकरणको फारम गायब पारिदिएको आरोप

बारा र सर्लाहीका नेता कार्यकर्ताको समस्या पनि उस्तै छ । कांग्रेसबाटै संविधानसभा सदस्यसमेत बाराका नेता लालबाबु सिंहले आफ्नो क्रियाशील सदस्यता नवीकरणको फारम भरेका थिए, तर त्यो नवीकरण भएको छैन । त्यस्तै, पूर्वजिविस सभापति राजेन्द्र यादव, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, शिक्षक संघका पूर्वजिल्ला अध्यक्ष रामविलास यादव, नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारसहित करिब तीन सयजना नेता–कार्यकर्ताको सदस्यता नवीकरण फारम भरेर त्यसवापतको शुल्क बुझाए पनि नवीकरण भएको छैन । 

संस्थापन पक्षका क्षेत्रीय सभापतिले नियतवश आफूहरूको क्रियाशील सदस्यताको नवीकरण गायब गरिदिएको उनीहरूको गुनासो छ । क्रियाशील सदस्यताको नयाँ फारमसमेत नदिएर पुराना नेता कार्यकर्ताको नियतवश सदस्यता नवीकरण नगरिएको धर्नारत संविधानसभा सदस्य रामअयोध्या यादवले बताए । ‘विधि र प्रक्रियाले यो पार्टी चल्नुपर्ने हो । तर, बारा जिल्ला कार्यसमितिमा न विधि चलेको छ, न विधान । अनि यसरी पार्टी कसरी चल्छ ?,’ उनले भने । वडा सभापतिको हस्ताक्षरविनै शतप्रतिशत मात्रै होइन कि चार सय प्रतिशतसम्म पनि नयाँ क्रियाशील सदस्यता थप गरिएको उनले बताए । ‘फर्जी गरिएको सबै क्रियाशील सदस्यता खारेज हुनुपर्छ । नत्र हामी पनि आमरण अनशन बस्न बाध्य हुन्छौँ,’ यादवले भने ।

उनीहरूले धेरै नेता र कार्यकर्ताहरूको राजनीतिक हत्या गर्ने नियतले नवीकरणको फारम बुझाएर पैसा तिरे पनि पूर्वाग्रह राखेर नवीकरण रोकिदिएकाको नवीकरण हुनुपर्ने, १३औँ महाधिवेशनको छुटेको एक सय ६६ जनाको नामावली र सोबराबरको नयाँ क्रियाशील सदस्यता अविलम्ब खारेज गर्नुपर्ने, क्रियाशील छानबिन समितिमा दिइएको निवेदनउपर अविलम्ब कारबाही हुनुपर्ने, वडा कार्यसमितिको सिफारिसविनाको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, केन्द्रीय मापदण्डअनुरूप वडा कार्यसमितिले सिफारिस गरेको, तर जालसाजी गरी रोकिएका व्यक्तिहरूलाई तत्काल नयाँ क्रियाशील सदस्यता प्रदान गर्नुपर्नेलगायत माग राखेका छन् । 

धर्ना र अनशनप्रति पौडेल र कोइरालाको ऐक्यबद्धता
क्रियाशील सदस्यताको विषयलाई लिएर धर्ना र अनशनरत नेता–कार्यकर्ताको मागप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ऐक्यबद्धता जनाएका छन् । आफ्ना नेता कार्यकर्ताको मागबारे सम्बोधन हुनुपर्ने भन्दै सोमबार अपराह्न पौडेल आफैँ सानेपा पुगेका थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पनि पार्टी कार्यालय पुगेर क्रियाशील सदस्यतासम्बन्धी बारा, धनुषा र सर्लाहीका कार्यकर्ताको माग सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् । ‘पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट बाँडिएका सदस्यता कुनै पनि हालतमा स्वीकार्य छैन, हुँदैन,’ उनले भनेका छन् । कोइरालाले विधानविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने बताए । क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको लडाइँमा आफू सधैँ साथमा रहने आश्वासनसमेत दिए । 

सांसद अमरेशकुमार सिंहले भने प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिले पार्टी कब्जा गर्ने हिसाबले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न दिएको निर्देशनका कारण समस्या आएको बताए । ‘यो समस्या बारा, धनुषा र सर्लाहीमा मात्रै होइन, समस्या सिंगै प्रदेश २ मा परिरहेको छ, पार्टीको एउटा पदाधिकारीले आफूले चाहेका मान्छेलाई मात्रै सदस्यता दिने र अरूलाई नदिएर पार्टी कब्जा गर्न निर्देशन गरेको पाइएको छ,’ धर्नामा बसेका नेता–कार्यकर्ताका मागबारे ऐक्यबद्धता जनाउँदै उनले भने ।

१० युवा नेताको अपिल
कांग्रेसका दशजना केन्द्रीय सदस्यहरूले पार्टीमा धर्ना, अनसन र आमरण अनशन बस्नुपर्ने बाध्यता सधैँका लागि अन्त्य गर्न माग गरेका छन् । कांग्रेसलाई विश्वास गरेर अन्य राजनीतिक दलले नै देशको अभिभारा सुम्पेका वेला पार्टीभित्रै आफ्नै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ । केन्द्रीय सदस्यहरू गगन थापा, डा.चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन,  बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीमा धर्ना, अनशन र आमरण अनशन बस्नुपर्ने बाध्यताको सधैँका लागि अन्त्य हुनुपर्ने बताएका हुन् । 

समितिले के निर्णय गर्‍यो भन्ने थाहा नपाई धर्नामा हुनुहुन्छ : प्रदीप पौडेल, प्रवक्ता, क्रियाशील सदस्यता छानबिन समिति 

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले भने छानबिन समितिको निर्णय नै सार्वजनिक नभई धर्ना र अनशन भइरहेको बताए । ‘उहाँहरूको उजुरी परेको छ, हामीले छलफल गरेर निर्णय लिएका छौँ, अब त्यो पार्टीलाई प्रतिवेदनका रूपमा बुझाउँछौँ,’ उनले भने, ‘छानबिन समितिले के निर्णय गर्‍यो भन्ने नै थाहा नपाई उहाँहरू धर्नामा हुनुहुन्छ ।’ समितिले बिहीबार सभापति शेरबहादुर देउवासमक्ष प्रतिवेदन बुझाउने उनले जानकारी दिए । ‘हामीले ७५ जिल्लाको छानबिन सकेका छौँ । बारा र सप्तरीको क्रियाशील सदस्यता स्थगित गरेका छौँ । अब रुजु गर्ने र अन्तिम निर्णय गर्ने काम चलिरहेको छ,’ प्रवक्ता पौडेलले भने, ‘बिहीबार सभापतिज्यूलाई प्रतिवेदन बुझाउँछौँ ।’ 

सुझावित समाचार