अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ। जोन्सन एन्ड जोन्सनको खोप लगाउने कार्यको प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थोपेडिक अस्पताल जोरपाटीबाट शुभारम्भ गरेका छन्। सो समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए।
राजधानी काठमाडौंका अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका केन्द्रबाट खोप लगाउन सुरु गरिएको हो। प्रधानमन्त्री देउवाले सो अवसरमा खोप केन्द्रको अनुगमनसमेत गरेका थिए।
खोप कार्यक्रमको शुभारम्भ गर्दै देउवाले आफ्नो सरकारको प्रमुख प्राथमिकता खोप भएको बताए। ‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप हो। खोप सहज रूपमा लगाउने प्रबन्ध गर्न निर्देशन पनि गरेको छु,’ उनले भने।