टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा सर्वियन खेलाडी नोभाक जोकोभिकले सहभागिता जनाउने भएका छन् । गत साता कीर्तिमानी रूपमा २०औँपटक ग्रान्डस्लाम उपाधि जितेका जोकोभिकले टोकियो ओलम्पिकमा आफ्नो सहभागिता निश्चित गरेका हुन् । छैटौँपटक विम्बल्डन उपाधि जित्दा जोकोभिक हल्का चोटग्रस्त बनेका थिए । एक साताको आरामपछि जोकोभिकले आफू पूर्ण रूपमै टोकियो ओलम्पिक खेल्ने बताए ।
विश्वकै एक नम्बर खेलाडी जोकोभिक वर्षको चारै ग्रान्डस्लाम तथा ओलम्पिक स्वर्ण जित्ने पहिलो खेलाडीका रूपमा आफूलाई स्थापित गर्न अग्रसर छन् । यदि जोकोभिकले यो कीर्तिमान रचे उनी विश्वकै पहिलो खेलाडी बन्नेछन् । टोकियो ओलम्पिकमा दिग्गज खेलाडी रोजर फेडेरर, राफेल नाडाल र सेरेना विलियम्सले भाग नलिने घोषणा गरिसकेका छन् ।
पुरुषतर्फ फेडेरर र नाडालको अनुपस्थितिमा जोकोभिक टोकियो ओलम्पिकको सम्भावित स्वर्णपदक विजेता खेलाडीका रूपमा अहिले नै विश्लेषण गर्न थालिएको छ । यस वर्ष जोकोभिक उत्कृष्ट फर्ममा छन् । उनलाई यो अवस्थामा हराउन निकै मुस्किलझैँ देखिन्छ । अस्ट्रेलियन, फ्रेन्च तथा विम्बल्डनजस्ता प्रमुख ग्रान्डस्लाम जोकोभिकले यस वर्ष जितेका छन् ।
महिलातर्फ सेरेना विलियम्सले चारपटक ओलम्पिकमा पदक जितेकी छिन् । सेरेनाले टोकियो ओलम्पिकमा भाग नलिने कारण खुलाएकी छैनन् । सन् २०१२ को लन्डन ओलम्पिकमा सेरेनाले एकल तथा जोडीमा स्वर्ण हात पारेकी थिइन् । यसैगरी उनले २००० को सिड्नी तथा २००८ को बेइजिङ ओलम्पिकमा सेरेनाले डबल्समा स्वर्ण जितेकी थिइन् ।
फेडेरर र नाडालले घुँडाको समस्या देखाउँदै ओलम्पिकमा भाग नलिने बताएका हुन् । नाडालले सन् २००८ को बेइजिङ ओलम्पिकको टेनिसतर्फ एकल स्पर्धामा स्वर्णपदक जितेका थिए ।