- अब सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने निर्णय
- सरकारले अगाडि सार्ने विश्वासको मतको विपक्षमा उभिन पार्टीका सांसदहरूलाई निर्देशन
एमाले स्थायी कमिटीको बैठकले पार्टी विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको एकतासम्बन्धी १०बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले उक्त प्रस्तावलाई ग्रहण गर्दै अनुमोदन गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको पार्टी सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले कार्यदलको भूमिकाको उच्च प्रशंसा गर्दै धन्यवादसमेत दिने निर्णय गरेको छ ।
यस्तै, बैठकले सक्रिय प्रतिपक्षका रूपमा रचनात्मक भूमिका निर्वाह गर्ने तथा पार्टीका सांसदहरूलाई देउवा सरकारले अगाडि सार्ने विश्वासको मतको विपक्षमा उभिन निर्देशन दिने निर्णय गरेको पनि नेता ज्ञवालीले जानकारी दिए । स्थायी कमिटीको बैठक सम्पन्न भएलगत्तै एमाले संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा आजै बस्नेछ ।