नेप्से १६ अंकले बढ्याे, कारोबार रकम घट्यो

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

लगानीकर्ता राजनीतिक परिवर्तन र नयाँ अर्थमन्त्रीको रणनीति कुर्दै अझै ‘पर्ख र हेर’को पक्षमा रहँदा कारोबार रकम ५ अर्बमा सीमित

अघिल्लो दिनको करेक्सनपछि मंगलबार नेप्से बढेको छ । सर्वोच्च अदालतको फैसलासँगै सोमबार ४५ अंकले गिरावट आएको नेप्से मंगलबार बढेको हो । राजनीतिक परिवर्तन र नयाँ अर्थमन्त्रीको आगमन, नयाँ रणनीति अब कसरी अगाडि बढ्छ भन्ने स्पष्ट नहुँदा लगानीकर्ता भने अहिले ‘पर्ख र हेर’को अवस्थामा बसेका देखिन्छन् । लगानीकर्ताले आगामी राजनीतिक परिवर्तनलाई हेरर मात्र सेयर बजारतर्फ आकर्षण बढाउने योजना रहेको लगानीकर्ता बताउँछन् ।

मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २ हजार ८ सय ७१ दशमलव ०३ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ७४ अंकले बढेर ५ सय ३९ दशमलव ५१ बिन्दुमा पुगेको छ । समूहगत रूपमा जीवन बिमा समूहबाहेक सबै समूहको सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूहको ४ प्रतिशत र विकास बैंक समूहको सूचक २ प्रतिशतले बढेको छ ।

सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री  फाइनान्स, प्रोगेसिभ फाइनान्स, आइसिएफ फाइनान्स कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढ्दा यी कम्पनीका लगानीकर्तामा उत्साह छाएको छ । सानिमा लार्ज  फन्ड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई समुन्नत, नेपाल लाइफ इस्योरेन्स कम्पनीका लगानीकर्तामा निराशा छाएको छ ।

कारोबार रकम खुम्चियो 
पछिल्लो दुई दिन सेयर खरिद–बिक्रीमा केही सुधार आए पनि मंगलबार कारोबार रकम पुनः घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २३ कम्पनीको १ करोड २३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ ।

अघिल्लो दुई दिनको सेयर खरिद–बिक्रीमा सुधार हुँदै ७ अर्बदेखि ९ अर्ब रुपैयाँसम्म भएकोमा मंगलबार भने सेयर खरिद–बिक्रीमा गिरावट आएको हो । विशेष गरी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्दा खरिद–बिक्रीमा अझै सुधार आउन सकेको छैन । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको ४५ करोड ४७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । दोस्रोमा नेपाल लाइफ इस्योरेन्स कम्पनीको २३ करोड ३५ लाख रुपैयाँ र एनआइसी एसिया बैंकको २० करोड रुपैयाँको कारोबार भएको छ । 

See More On

सुझावित समाचार