प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीनिकट नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् । सर्वोच्चको फैसलाविरुद्ध एमालेको युवा संगठन राष्ट्रिय युवा संघले सोमबार काठमाडौंको माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले न्यायालयभित्र बसेर प्रधानन्यायाधीश जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुला राजनीतिका लागि मैदानमा आउन चुनौती दिए ।
एमालेले ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न पाउँदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायालयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाए । उनले प्रधानन्यायाधीश आफू प्रधानमन्त्री बन्ने योजनाका साथ फैसला गरेको आरोप पनि लगाए ।
उनले निरंकुशहरू, लोकतन्त्रविरोधी शक्तिहरू, अधिनायकवादी शक्तिहरूले अन्तर्राष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराएको आरोप पनि लगाए । संवैधानिक इजलास गठन हुने वेलादेखि नै आफूहरूलाई शंका लागेको भन्दै उनले अदालतको फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरू रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर पनि गरे ।