माओवादी केन्द्रकी नेतृ भुसालद्वारा ‘इन्द्र–गोविन्द स्मृति’ कोषको घोषणा

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसालले ‘इन्द्र–गोविन्द स्मृति’ कोष स्थापना गर्ने घोषणा गरेकी छिन् । आफ्नी माता इन्द्रकला र पिता गोविन्दको स्मरणमा कोष स्थापना गरेर ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने व्यवस्था मिलाइएको उनले बताइन् । 

स्व. इन्द्रकलाको सातौँ दिनमा आफ्नै निवास ललितपुरमा भएको श्रद्धाञ्जली सभामा भुसालले आमाबाको सम्झनामा अक्षय कोष स्थापना भएको जानकारी दिइन् । यसअघि दिवंगत बुबाको नाममा भुसाल परिवारले १३ वर्षअघि अर्घाखाँचीको जनता माविमा सहयोगी कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । 

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्द्रकलालाई राजनीतिक उत्प्रेरक व्यक्तित्वका रूपमा स्मरण गरे । उनले भने, ‘दृढ इच्छाशक्तिकी धनी आमा स्वतन्त्रता पक्षपाती हुनुहुन्थ्यो ।’ 

प्रचण्डले मृत्यु हुँदा दुःखी हुने र जन्मँदा खुसी हुने मानवीय स्वाभाव भएको उल्लेख गर्दै कम्युनिस्टहरूले आफ्ना ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिने बताए । मृत्युपछि भन्दा पनि जीवित रहँदा मातापिताको सम्मान गर्नुपर्ने उनको भनाइ छ । 

नेतृ भुसालले सामन्ती पितृसत्तामा जन्मेर आफ्नी आमाले सामाजिक तथा राजनीतिक दुःख भोगेका, तर आफूहरूलाई राजनीति र विद्रोहमा नलाग कहिल्यै नभनेको बताइन् । 

कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुनलगायतले स्व. इन्द्रकलाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 

सुझावित समाचार