कांग्रेस सांसद देवकोटाको दाबी– सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलायो

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताएकी छिन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा देवकोटाले सरकारले संसद् छलेर अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताएकी हुन् । 

उनले सरकारले नागरिकको हितविपरीत केवल आफ्नो अभीष्ट पूरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको बताइन् । आफै कानुन बनाउने, कार्यान्वयन गर्ने र कानुनको व्याख्या गरेर सरकारले निरंकुशता र अनुत्तरदायी कदम प्रस्तुत गरेको उनको दाबी छ ।

उनले भनिन् ‘यदि सरकारले अध्यादेशमार्फत मात्रै सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । त्यसैले नागरिकको हितविपरीत सरकारले आफ्नो अभीष्ट पूरा गर्न अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ । आफैँ कानुन बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानुनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो । अनुत्तरदायी हो । यो सरकारको यही प्रमाण हो भन्ने मलाई लागेको छ ।’


उनले सरकारले घोषणा गरेअनुसार कोभिड– १९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको बताइन् । जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको उनको भनाइ छ । 

शिक्षा क्षेत्र पनि तहसनहस भएको उल्लेख गर्दै उनले कोभिड– १९ विरुद्धको खोप नपाई विद्यालय सञ्चालन गर्न नसक्ने भनेर शिक्षक आन्दोलित भइरहे पनि सरकार बेखबर रहेको आरोप लगाइन् । उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने भनेर सरकारले निर्णय ग¥यो । तर, आजसम्म ती स्वास्थ्यकर्मीले जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । उनीहरूको मनोबल बढ्न सकेको छैन । शिक्षा क्षेत्र त्यस्तै तहसनहस छ । नो भ्याक्सिन, नो स्कुल भनेर शिक्षकहरू आन्दोलित छन् । तर सरकार बेखबर छन् ।’

उनले महिला हिंसाको घटनामा वृद्धि भइरहेको भन्दै यस्ता संवेदनशील विषयमा सरकारले फास्ट ट्र्याकका माध्यमबाट अनुसन्धान गरी अपराधीहरूलाई कानुनी दायरामा ल्याउन ढिला भएको बताइन् ।

सुझावित समाचार