प्रतिलिपि अधिकारसम्बन्धी कानुन स्पष्ट नहुँदा धरै अन्याेल हुने गरेको भन्दै कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने सरोकारवालाले बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ को सम्बन्धमा गरिएको छलफलमा भाग लिँदै सरोकारवालाले प्रतिलिपि अधिकारको सम्बन्धमा विद्यमान कानुनी भाषामा अस्पष्टता हुँदा विवादित विषयको समाधान गर्न गाह्रो पर्ने गरेकाले आगामी दिनमा कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने बताएका हुन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य हेमनाथ पौडेलले लोकसाहित्यलाई कपी गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताए । पछिल्लो समय स्वबाैद्धिक चोरीको विकृति बढेको कारण ऐनमा स्वबाैद्धिक चोरीलाई नियन्त्रण गर्ने व्यवस्था हुनुपर्ने बताए ।
संगीतकार संघ नेपालका पूर्वअध्यक्ष तथा संरक्षक लक्ष्मण शेषले संगीतको क्षेत्रमा १५ सेकेन्डसम्म हुबहु नोटेसन मिलेकोलाई कपी मानिने स्पष्ट रूपमा लेखिनुपर्ने बताए । १५ सेकेन्डसम्म नोटेसन मिल्ने संयोग लाखौँमा पनि हुन नसकिने अनुसन्धानले पुष्टि उनले गरेको बताए ।