अहिलेको समाजलाई सम्बोधन गर्न नसक्ने जबजमाथि प्रश्न नउठाएसम्म दोस्रो पुस्ताको औचित्य साबित हुन सक्दैन
०४८ को आमनिर्वाचनभन्दा पहिले जतिवेला एमाले निर्वाचनका लागि घोषणापत्र बनाउँदै थियो, त्यतिवेलाका जल्दाबल्दा एमाले नेताले यस पंक्तिकारलाई भनेका थिए– अब भूमिसुधारको मुद्दालाई पुरातनवादी हिसाबले लैजान हुँदैन । यदि कम्युनिस्टले भूमिपतिहरूको जमिन खोसेर बाँड्ने कुरा गर्ने हो भने जनताबाट कट्ने कुरा हुन्छ । भूमिसुधार छोड्न त हुँदैन । भूमिपतिलाई मुआब्जा दिएर जग्गा लिनुपर्छ । जनताको बहुदलीय पूर्वअभ्यासमा एमालेले गरेको सैद्धान्तिक परिवर्तनको आधार भूमिसुधार थियो । त्यहीँदेखि जनताको बहुदलीय जनवादको यात्रा सुरु भयो । जबजमा खासमा न नेपाली समाजको विश्लेषण गरिएको थियो, न सामाजिक अन्तरविरोधहरूलाई संगठित गरिएको थियो । न त जीविका र उत्पादन सम्बन्धहरूकै व्याख्या गरिएको थियो । ०४६ को परिवर्तनपछि एमालेलाई खाँटी र निक्खरो संसदीय पार्टी बनाउने सैद्धान्तिक जामा थियो त्यो । कम्युनिस्ट आन्दोलनलाई पुँजीपतिको चौतारीमा बिसाउने भारी थियो । छोटकरीमा भन्ने हो भने कम्युनिस्ट आन्दोलनको विसर्जन थियो त्यो ।
तर, नेपालको राजनीतिमा गजब सकारात्मक के भयो भने एमालेले जबज च्याप्दाच्याप्दै पनि राजनीति अगाडि बढ्यो । जबजले नसोचेको गणतन्त्र आयो । जबजले नभनेको संघीयता आयो । धर्मरिपेक्षता र समावेशिताजस्ता मुद्दा जबजलाई बेवास्ता गरेरै आयो । नेपाली समाज र राजनीति जबजभन्दा अगाडि बढ्यो । समाज अगाडि बढिसक्यो । राजनीति अगाडि बढिसक्यो । तर, एमाले तप्काले जबजप्रतिको असीम प्यार भुल्नै सक्दैन । बृहत् परिवर्तनको ढाँचाभित्रैबाट खड्गप्रसाद ओलीले राममन्दिरको मुद्दा ल्याए । एउटा कम्युनिस्ट पार्टी धार्मिक पनि हुन सक्छ र सच्चा कम्युनिस्ट पनि हुन सक्छ भन्ने मान्यता ल्याए । जातप्रथालाई मान्यता दिन उनकै मन्त्रिपरिषद्को व्यक्ति झन्डा हल्लाएर पीडितको मानवीयतालाई अपहेलना गर्दै आरोपीलाई हिरासतबाट छुटाएर ल्याए । आसेपासे पुँजीवाद ओलीकै पालामा धेरै मौलायो ।
एमालेभित्र विवाद देखिन्छ । दुई समूह देखिन्छन् । अझ माधव समूहमा त बेजोड सैद्धान्तिक भनिएका दोस्रो पुस्ता देखिन्छन् । तर, वार्ता, छलफल केमा भइरहेको छ ? विचारमा कि संगठनमा ? कुरा बडो प्रस्ट छ– एमाले एक हुनुपर्छ । आफ्नो पार्टी एक बनाउन खोज्नु नराम्रो त हुँदै होइन । तर, कुन विचारका आधारमा पार्टीलाई एक बनाउने हो, त्यहाँ कहिल्यै छलफल हुँदैन । एमालेले छोडेका संरचनागत मुद्दाको बहस पनि त्यहाँ हुँदैन । समाजमा व्याप्त जातप्रथाको बहस झनै हुँदैन । राममन्दिरको बहस पनि त्यहाँ हुँदैन । भनेपछि ओलीले उठाएका तमाम एजेन्डा ठीक, कार्यशैली मात्र बेठीक हो ? यदि कार्यशैली मात्रै बेठीक हो भने यो नाटक मञ्चनको अर्थ छैन । त्यहीँभित्र बसेर अर्थात् ओलीकै छाता ओडेर पनि यो बहस गर्न सकिन्छ । तर, त्योभन्दा पनि मूल कुरा कस्तो एमाले चाहिएको हो ? कुन विचारमा उभिएको एमाले चाहिएको हो ? जस्ता बहसलाई चटक्कै छाडेर गरिने वार्ता र संवादबाट एमाले एक त होला, तर त्यो एक भएको एमाले मुलुकका लागि बोझ हुन्छ भने के अर्थ छ एक हुनुको ?
घनश्याम, योगेश, सुरेन्द्रहरूको कुरा सुन्दा त अझ लाग्छ, नेपाली लोकतन्त्रको संवद्र्धनका लागि एमाले एक हुनुपर्छ । अर्थात् ओली पनि लोकतन्त्रका एक खम्बा हुन् । कांग्रेस र एमाले कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । त्यो हो भने ओलीसँगको विवाद के हो ? अंशबन्डाको विवाद हो ? ओलीका मान्छेले बढी भाग पाए भन्ने विवाद हो ? विवाद के हो ? जब सैद्धान्तिक विवादै छैन भने रडाको केका लागि ? माधव र ओलीलाई मिलाउन सैद्धान्तिक रूपमा प्रस्ट धार नदेखाई बिचौलिया हुन जरुरत किन ?
एमालेभित्र चलिरहेको बहस हेर्दा लाग्छ, यो पहिलो र दोस्रो पुस्ताबीचको बहस होइन, उमेर अलिकति बढी र कम भएका समूहबीचको बहस हो । दोस्रो पुस्ता हुन त दोस्रो पुस्ताकै एजेन्डा पनि त जरुरी हुँदो हो नि !
नेपालको कम्युनिस्ट आन्दोलनले आफैँमा केही नयाँ मुद्दालाई समेट्न सकेको छैन । बढ्दो अनिकाल नेपालका लागि भयंकर ठूलो संकट छ । पूर्वी रुकुम र प्युठानमा गरिएको आधारमा दैनिक साढे दुई लाखको खाद्यान्न प्रत्येक वडामा जान्छ । पर्यावरणीय संकट धेरै ठूलो भइसकेको छ । पहाडमा पहिरो, तराईमा बाढी र डुबानको चर्को समस्या छ । बसाइँसराइ र बाढीपहिरोले पहाड बस्न अयोग्य भइसके । तराईमा बाढी, डुबानले संकट छ । मूल रूपमा कम्युनिस्टले खोजेको विकास कस्तो हो ? के मानेमा उसको विकास भिजन कांग्रेस र राप्रपाले खोजेको विकासभन्दा पृथक् छ ? कसरी त्यो विकासले जनताका दैनिक जनजीवन र अप्ठ्यारालाई सम्बोधन गर्छ ? यस्ता सवाल गम्भीर रूपमा भित्र पस्न नसक्दा कम्युनिस्ट आन्दोलन निकै रुखो बन्दै गएको छ । र, जनताले कम्युनिस्ट र गैरकम्युनिस्टबीचको अन्तर देख्न र अनुभव गर्न पाएका छैनन् ।

एमालेको भनिएको दोस्रो पुस्ताले त केही नयाँ विषय र मान्यतासहित छलफल गर्नुपर्थ्यो। तर, छलफल कोरा सांगठनिक घेराभित्र छ । सुरेन्द्र, धनश्याम र योगेशहरूले भनेका सबै कुरा ओलीले मानिदिए पनि मुलुकका लागि त्यो कुनै योगदान हुनेछैन । खालि घनश्याम, सुरेन्द्रहरूले बस्ने फराकिलो ठाउँ फेला पार्नेछन् । जबजको थोत्रो छाताले उनीहरूका लागि घामपानी छेक्नेछ । एमाले लामो समयदेखि खास विचारविना प्राविधिक, प्रशानिक र व्यवस्थापकीय क्षमताले आफूलाई अड्याउन सफल भएको हो । अब पनि फेरि त्यस्तै व्यवस्थापकीय कौशलले अडिएको एमालेको के अर्थ ? प्रणविनाको एमाले, विचारविनाको एमाले आजको आवश्यकता होइन । ओली विचारवाहक एमालेको समाजमा अब औचित्य समाप्त भइसक्यो ।
ओली आफ्नो कुरामा प्रस्ट छन् । उनले संघीयताप्रति कहिल्यै स्वामित्व लिएनन् । पटक–पटक हामीले नजानेर संघीयता नभनेका होइनौँ । उनलाई धर्मनिरपेक्षता पनि मन परेको छैन । त्यसैले उनी राममन्दिर पथमा छन् । वर्तमान राष्ट्रपति पदमा रहुन्जेल उनले राजाको खोजी गर्नेछैनन्, यो पक्का हो । यदि वर्तमान राष्ट्रपतिको सट्टा अरू कोही राष्ट्रपति हुन्थ्यो भने राजाको पनि तिर्खा लागिसक्थ्यो र राजाको पनि खोजी गरिसक्थे उनले । उनले यो कुरा लुकाएर गरेका छैनन् । संघीयता र धर्मनिरपेक्षताको कुरा हाकाहाकी गरेका छन् । अब त हुँदाहुँदा आफ्ना परमभक्तमार्फत केन्द्रीय कमिटीमा त्यस्तो प्रस्ताव दर्जसमेत गरिसके । यो विषय केन्द्रीय कमिटीमा प्रवेश भइसक्यो । विचार जति नै उल्टो भए पनि ओलीले नढाँटेर भने नेपाली जनताप्रति गुन नै लगाएका छन् ।
एमालेको दोस्रो पुस्ता एकताका पक्षमा घनघोर लागेको छ । तर, ओलीले समाजमा प्रस्तुत गरेका प्रतिगामी चरित्रका एजेन्डामा भने ती प्रवेशै गरेका छैनन् । के यी एजेन्डा ठीकै भएर बहस गर्नु नपर्ने हो, जे ओलीले उठाएका छन् ? किन दोस्रो पुस्ता फरक विचार, फरक मान्यता र फरक एजेन्डासहित प्रस्तुत हुन सक्दैन ? एउटा राजनीतिक पार्टीले यति असजिलो चुनाव प्रणालीमा बहुमत पाउँदा पनि किन टिक्दैन ? किन यो संसदीय तमासा चलिरहेको छ ? अदालतले संसद् पुनर्स्थापना गर्यो भने पनि तामासाका शृंखलाहरू परिवर्तित हुनेछन् तर तमासा भने जारी नै रहनेछ । के यसले नेपाली राजनीतिको वैकल्पिक बहसको माग गरेको छैन ? के हामीले प्रणालीलाई थप सुधार गर्नुपर्ने स्थिति छैन ? जस्ता महत्वका विषयहरू लुकाएर बहस र छलफल भइरहेको छ ।
यो बहस हेर्दा लाग्छ, यो पहिलो र दोस्रो पुस्ताबीचको बहस होइन, उमेर अलिकति बढी र कम भएका समूहबीचको बहस हो । दोस्रो पुस्ता हुन त दोस्रो पुस्ताको एजेन्डा पनि त जरुरी हुँदो हो नि ! पहिलो पुस्ताकै एजेन्डामा त दोस्रो पुस्ताले सहमति गर्दै गर्दैन । किनभने, दोस्रो पुस्ताको अनुभव, समाजको अन्तरविरोध, सामाजिक राजनीतिक समस्या, आर्थिक जटिलता फरक हुन्छन् । पुस्तान्तरले यो जटिलतालाई पक्रन्छ । अत्यन्तै पुरानो र अहिलेको समाजलाई कुनै सम्बोधन गर्न नसक्ने जबजमाथि प्रश्न नउठाएसम्म दोस्रो पुस्ता खरो साबित हुन सक्दैन । समाज अगाडि बढेर जबजलाई पछाडि छोडिसक्यो । तर, चुपचाप जबजलाई सहनु भनेको समाजलाई प्रतिगमनमा लैजान सघाउनु हो । अहिलेको मूल प्रश्न समाजलाई कसरी अगाडि बढाउने भन्ने नै हो । यो विषयमा अहिले अगाडि आएको दोस्रो पुस्ताको मौनताले निराशा छर्न सक्छ । अहिलेको खाँचो त मुद्दामा आधारित धु्रवीकरणको हो ।