गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अध्यागमनका नासुलाई सफाइ

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

सरकारी सेवामा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका नायब सुब्बा ललितकुमार झाले अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले उनलाई सोमबार सफाइ दिएको हो । 

झाको एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले १५ असार ०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  उनकी श्रीमती सुचितादेवी झालाई समेत आयोगले प्रतिवादी बनाएको थियो । दुई वर्षपछि दुवैले सफाइ पाएका छन् । 

झा सार्वजनिक सेवामा प्रवेश गरेको ०४० साल असारदेखि ०७६ जेठसम्मको उनको आयव्ययको आयोगले छानबिन गरेको थियो । जसक्रममा उनले दुई करोड २८ लाख ६४ हजार दुई सय आठ रुपैयाँ सम्पत्ति वैध रूपमा आर्जन गरेको  देखिएको थियो । तर, उनीसँग तीन करोड ८५ लाख ४३ हजार दुई सय ३४ रुपैयाँबराबरको सम्पत्ति भेटिएपछि स्रोत नखुलेको सम्पत्ति जफत गरी त्यहीअनुसार जरिवाना र कैदको माग राखी आयोगले मुद्दा दायर गरेको थियो । 

अनुसन्धान सुरु भएको समयमा उनी विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत थिए ।

सुझावित समाचार