चिलीमा नयाँ संविधान निर्माण गर्ने ‘सुन्दर चुनौती’

देश/विदेश

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

अत्यन्त ध्रुवीकृत राष्ट्र चिलीमा गठित संविधानसभाले सफलतापूर्वक संविधान लेख्ने हो भने समन्वय र विश्वासको वातावरण विकास गर्नुपर्छ

आइतबारदेखि चिलीको संविधानसभाले आफ्नो काम सुरु गर्नुअघि देशभर उत्साहको माहोल थियो । देशको विविधतापूर्ण जनसंख्यालाई प्रतिबिम्बित गर्ने गरी निर्माण भएको संविधानसभालाई ऐतिहासिक मानिएको छ । हुन पनि चिलीको इतिहासमा पहिलोपटक निर्वाचित सभाले संविधान तयार पार्न लागेको छ । विज्ञले भने सभाको बनोट आफँैले चुनौती सिर्जना गर्न सक्ने चिन्ता पनि जाहेर गरेका छन् । कुनै दलको स्पष्ट बहुमत नआएको स्थितिमा संविधान बन्नका लागि व्यापक गठबन्धन वा सहकार्य हुनुपर्छ । 

पेसाले वकिल तथा अडोल्फो इबानेज युनिभर्सिटीका प्राध्यापक क्रिस्टोबाल बेलोलियो अहिलेको संविधानसभाको बनोट स्वाभाविक भएको बताउँछन् । ‘सभाका अधिकांश सदस्यले नयाँ संवैधानिक प्रक्रियालाई देशका सीमान्तकृत समुदायको ऐतिहासिक ऋण तिर्ने क्षणका रूपमा हेरेका छन्,’ बेलोलियो भन्छन् । बेलोलियो आफैँ पनि संविधानसभा चुनावका उमेदवार थिए तर जित्न सकेनन् । संविधानसभाका लागि मे महिनामा सम्पन्न चुनावमा कन्जर्भेटिभ पक्षधर कुल १५५ सिटमध्ये ३७ सिट मात्र जित्न सफल भयो । यति भोट संविधान निर्माण प्रक्रियामा भिटो प्रयोग गर्न पर्याप्त हुँदैन ।

दक्षिणपन्थी झुकाव भएको वर्तमान सरकारले अझै पनि नयाँ संविधान आवश्यक ठानिरहेको छैन । हाल कार्यान्वयनमा रहेको संविधान सन् १९८० को दशकमा तानाशाह अगस्टो पिनोचेको शासनमा लेखिएको थियो । सन् २०१९ अक्टोबरमा चरम आर्थिक असमानता, बेरोजगारी र महँगीको विरोधमा उठेको आन्दोलनको दबाबमा देशका एलिटहरूले संरचनात्मक रूपमै देशको समस्या सम्बोधन गर्न सहमति जनाए । चिली नवउदारवादी नीति लागू गर्ने सुरुका देशमध्ये पर्छ । त्यही आन्दोलनको प्रतिफल हो, वर्तमान संविधानसभा । संविधानसभाका ७७ निर्वाचित सदस्य राज्यको गौण भूमिका हुने अहिलेको नवउदारवादी शैली र त्यसअन्तर्गतको आर्थिक मोडल अन्त्य गर्ने पक्षमा छन् । चिलीमा लागू नवउदारवादी नीतिका कारण दशकौँदेखि राज्यले गरिब र मध्यमवर्गको कठिनाइलाई बेवास्ता गरेको आरोप लाग्ने गर्छ । 

संविधानसभा सदस्यमध्ये धेरै श्रम तथा महिला अधिकारलाई सबल बनाउने पक्षमा छन् । उनीहरू वर्तमान निजी पेन्सन प्रणालीलाई पनि उन्मूलन गर्न चाहन्छन् । पिनोचेको शासनमा निर्माण भएको यस प्रणालीमा श्रमिकले आफ्नो पेन्सन निजी निकायले सञ्चालन गरेको खातामा जम्मा गर्नुपर्छ । चिलीका नागरिकले गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, लैंगिक समानता, अल्पसंख्यकप्रति सम्मान र उचित वातावरणीय कानुनका लागि दबाब दिइरहेका छन् । ‘द स्ट्याबिलिटी अफ सोसल कन्ट्रयाक्ट इन चिली’ पुस्तकका लेखक तथा अर्थशास्त्री गुलेरमो लरेन जनताले संविधानबाट तत्कालै कुनै चमत्कार हुने आशा गर्न नहुने बताउँछन् ।

‘नयाँ संविधानले राज्यको संरचना परिवर्तन गर्न सक्छ, तर तत्कालै व्यवहारहरू बदल्न सक्दैन । संविधान आउनासाथ समानता र समावेशिता आइहाल्छ भन्न कठिन छ । संविधानसभाको मुख्य काम चिलीलाई उपयुक्त नयाँ राजनीतिक शासन व्यवस्था निर्माण गर्ने हो । त्यसले बिस्तारै प्रतिनिधित्व र शासनशैलीमा सुधार गर्नेछ ।’ कोराना भाइरस महामारीमाझ चुनिएको संविधानसभाको पहिलो बैठक स्यान्टियागोस्थित पूर्वनेसनल कंग्रेसबाहिर खुला टेन्टमुनि बस्ने योजना बनाइएको थियो । आमसर्वसाधारण र प्रतिनिधिले एकअर्कालाई देख्न सक्ने गरी बैठकको व्यवस्था गरिएको हो ।

यस क्रममा प्रदर्शनको सम्भावना स्विकार्दै प्रहरीले शान्तिपूर्ण विरोधमाथि हस्तक्षेप नगर्ने बताएको छ । पहिलो बैठकअघि नेसनल कंग्रेसको भवनवरपर ठूला पर्दाहरू राखिएका थिए । बैठकमा हुने बहस धेरै मानिसले हेर्न सकून् भनेर यो व्यवस्था गरिएको हो । सभालाई नोभेम्बरमा तोकिएको राष्ट्रपतीय चुनावभन्दा अगाडि काम सकाउने समयसीमा दिइएको छ । नयाँ संविधान तयार भएपछि त्यसलाई अनुमोदन गर्नका लागि सन् २०२२ मा जनमतसंग्रह गरिनेछ । संविधानसभाका कन्जर्भेटिभ सदस्यहरूले संवादको रुचि देखाए पनि अधिकांशले पछिल्लो समय चर्चामा रहेका मुद्दामा टिप्पणी गरेका छैनन् ।

सभाका कन्जर्भेटिभ सदस्यहरूले आफ्नो विचारनिकट राष्ट्रपति सेब्यास्टियन पिनेरा र उनको सरकारसँग केही दूरी कायम गर्ने प्रयास गरेका छन् । पिनेराको चरम अलोकप्रियताका कारण पनि तिनले यसो गरेका हुन सक्छन् । आफूलाई तटस्थ नभएको बताउने स्वतन्त्र उमेदवारको एक समूहको विचारधारा मध्य–वामपन्थी छ । उनीहरूले कुनै पनि राजनीतिक दलको निर्देशन वा सरकार, सभासदको सुझाब वा अन्य दबाब नस्विकार्ने बताएका छन् । 

सभाका सदस्यको विचारधारामा व्यापक विविधता देखिएकाले विश्वास निर्माण गर्नु चुनौतीपूर्ण हुनेछ । अभिनेतृ तथा संविधानसभाकी स्वतन्त्र सदस्य मलुचा पिन्टो सहकार्य विकास गर्न सिक्नु सभाको सबैभन्दा ठूलो चुनौती हुने बताउँछिन् । ‘आफ्नो विचारसँग सहमत नहुनेलाई देशद्रोही देख्ने चेत परित्याग गर्नुपर्छ । हामीले एकअर्कालाई राम्ररी बुझेर अविश्वास र डर हटाउन आवश्यक छ । यो अभ्यास हामीकहाँ विगतमा थिएन, त्यसैले पनि चुनौती थपिएको छ । तर, देशको भविष्यका लागि यो ठूलो र सुन्दर चुनौती हो ।’

(ओडेटा दक्षिण अमेरिकाको राजनीतिसँग परिचित पत्रकार हुन्)
अलजजिराबाट

सुझावित समाचार