अस्पतालको बिल तिर्न मेगा बैंकको कार्ड

सोमबार, २१ असार, २०७८
डिजिटल संस्करण

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडी कार्ड’ नामक सुविधा ल्याएको छ । ग्राहक बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो–अप्ठ्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले यो सुविधा ल्याएको हो । 

यो सुविधामार्फत मेगा बैंकका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकले न्यूनतम २० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिनासम्मका लागि उपभोग गर्न पाइने जनाइएको छ । यस व्यवस्थाले ग्राहकलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले ग्राहकहरूले आवश्यक कागजपत्र पेस गरेको दुई दिनमा नै ग्राहकलाई यो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । 

बैंकका डिजिटल तथा इ–बैंकिङ विभाग प्रमुख विश्व सिंहले यो सुविधाका लागि प्रक्रियागत शुल्क नलाग्ने व्यवस्था गरिएको बताए । त्यस्तै, क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनको भनाइ छ । बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधासमेत ल्याएको बैंकले जनाएको छ । अस्पतालको बिल भुक्तानीका लागि बिरामीका परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने बैंकले जनाएको छ । 

यसअन्तर्गत अस्पतालको बिल सोझै बैंकसमक्ष पेस गरी क्रेडिट कार्डमार्फत अस्पताललाई भुक्तानी गर्न सकिने र ग्राहकले आफूले भुक्तानी गरिसकेको बिलको शोधभर्नासमेत लिन सकिने जनाइएको छ । 

सुझावित समाचार