रम्सफेल्ड, जसले इराकको विनाश गरे

आइतबार, २० असार, २०७८
डिजिटल संस्करण

सन् २००३ अप्रिल १० को झिसमिसेमा मेरा लागि संसारको सबैभन्दा सुरक्षित स्थान मोसुलस्थित हाम्रो घरको अभिभावकको बेडरुमको भुइँ थियो । २४ घन्टाअगाडि मात्रै इराकी शासनले अमेरिकाको सैन्य अभियानअगाडि घुँडा टेकेको थियो । अमेरिकी फौजले बग्दादको फिर्दोस स्वारस्थिति चर्चित सालिक ढाल्दा पनि हामीलाई अझै यो यथार्थ हो भन्ने विश्वास लागिरहेको थिएन । त्यसअघिका केही साता हवाई हमला र डरबीच बितेको थियो । 

मोसुलमा अराजकताको स्थिति थियो । सेना र प्रहरीका फौजले पोस्ट छाडेर हिँडेका थिए । सम्भवतः सुरक्षा फौजका अधिकांश सदस्यसमेत आफ्नो परिवारको सुरक्षाका लागि घरतिर रवाना भएका थिए । एक दिन म सुतेको केही घन्टा मात्र भएको थियो, मेरी आन्टीले अतासिँदै हाम्रो टोलमा व्यापक लुटपाट भइरहेको सूचित गरेको सम्झना आउँछ । मानिसहरू टोलको सुरक्षाका लागि गस्ती गर्न थाले । तर, सार्वजनिक सम्पत्ति भने टोले गस्तीबाट सुरक्षित बचेनन । लगभग हरेकजसो अस्पताल, विश्वविद्यालय र बैंकहरू लुटिए । देशभरको स्थिति मोसुलकै जस्तो थियो । 

अमेरिकाका तत्कालीन रक्षामन्त्री डोनाल्ड रम्सफेल्डलाई पत्रकारहरूले इराकमा भइरहेको लुटपाट रोक्न किन केही नगरेको भनी सोध्दा उनले दिएको जवाफ मलाई अझै सम्झना छ । ‘स्वतन्त्र मानिसहरू गल्ती, अपराध र खराब काम गर्न पनि स्वतन्त्र हुन्छन्, आफ्नो जीवन बाँच्न र असाधारण काम गर्न पनि स्वतन्त्र हुन्छन्,’ रम्सफेल्डको जवाफ थियो । अराजकता र अव्यवस्थालाई स्वतन्त्रता भन्ने डोनाल्ड रम्सफेल्डको मंगलबार निधन भयो । उनको प्रतिक्रिया इराकले आगामी दिनमा लिने मार्गको संकेत थियो । मेरा लागि यो रम्सफेल्ड (र अमेरिका)को इराकलाई लिएर गर्ने कार्यशैलीको पहिलो साक्षात्कार थियो । अतिक्रमणकारी सेनाले एउटा नाजुक मुलुकलाई सुरक्षा गर्न कसरी असफल बन्यो भन्ने बुझ्न सघाउने भनाइ पनि थियो यो । 

रम्सफेल्डले सन् २००६ मा पद त्यागेपछि मैले कहिल्यै पनि उनको बारे सोचिनँ । उनको भनाइ र गराइप्रति मलाई कुनै चासो थिएन । जे हुनु क्षति भइसकेको थियो । इराकलाई उनले जुन अपूरणीय क्षति पुर्‍याए, त्यसले गर्दा उनलाई क्षमा गर्न सकिँदैन ।

इराकको अतिक्रमण मेरा लागि कुनै श्यामश्वेत घटना थिएन । क्रूर तानाशाह सद्दाम हुसेनलाई कुनै घरेलु क्रान्तिले फाल्न सक्ने सम्भावना कमै थियो । सम्भवतः उनी मृत्युसम्म शासन गर्ने थिए र मृत्युपछि सत्ता उनको छोराको हातमा जाने थियो । कुर्द र सियाहरूको आमहत्याको चिहानहरू भेटिएपछि उनलाई सत्ताच्युत गर्नु झन् सही देखिन थाल्यो । अमेरिकी अतिक्रमणले करोडौँमाथि न्याय भएकै थियो, तर थप करोडौँ नयाँ सिकार हुँदै थिए । तर, त्यो वेलासम्म तिनलाई यसको अभाव पनि थिएन । 

जर्ज डब्लू बुस प्रशासनलाई अतिक्रमणमा सहयोग गर्ने इराकी सहयात्री पाउन त्यति कठिन थिएन । विदेशमा बसेका केही इराकीहरू युद्ध सुरु होस् भन्न इराकमा आमनरसंहारकारी हतियार भएको झुट बोल्न तयार थिए । इराक अतिक्रमण गर्ने र सद्दाम हुसेनलाई सत्ताच्युत गराउनेमा रम्सफेल्ड र तिनको उद्देश्य मिल्यो । बाँकी कुरा महŒवहीन बने । तर, रम्सफेल्डको इराक युद्ध पूर्णतः असफल बन्यो । उनले गलत आरोपमा आक्रमणको वकालत गरे, लाखौँको ज्यान जाने गरी अनावश्यक लामो युद्धको नेतृत्व गरे, पक्राउ परेकाबाट कुरा ओकाल्न अत्यन्त कठोर सोधपुछ शैलीलाई समर्थन जनाए । यी सबले इराकलाई ठूलो खाडलमा धकेल्यो । अतिक्रमणविरुद्ध विद्रोह उठ्नेछ भन्ने कुराको अनुमानसमेत गर्न नसक्ने उनमा युद्धबारे पनि जानकारी नभएको देखियो । (त्यसवेला उनी दोस्रोपटक रक्षामन्त्री भइरहेका थिए ।)

जिम्मेवारी तथा नैतिक नेतृत्वमा उनको सबैभन्दा अमानवीय असफलता अबु घ्रइबका कैदीमाथि अमेरिकी सेनाले गरेको यातनालाई मान्न सकिन्छ । हुन त त्यहाँ भएको कुकर्मका लागि केही सेनालाई जेल सजाय भयो, तर रम्सफेल्ड यसै उम्के । उनले इराकमा उपलब्धि ठानेका हरेक कुरा धराशायी भए, तर उनले आफ्नो गल्तीका कारण पीडामा परेकाहरूप्रति न माफी मागे, न पछुतो भाव राखे । 

मेरो देशमा रगतको खोलो बगिरहँदा रम्सफेल्डले कुनै पश्चाताप भाव देखाएनन् । आज इराक नामको मात्र देश बनेको छ । लोकतन्त्र एकआपसमा शक्ति र धन बाँडिचुँडी लिएका भ्रष्ट पार्टीबीचको म्युजिकल–चियर खेलमा रूपान्तरित भएको छ । इरान यहाँको ‘किङमेकर’ हो र उसले छद्म रूपमा सघाउने सैन्य फौजले इरानलाई चुनौती दिन सक्ने हरेकलाई दबाउने गर्छ । विडम्बना ! यी सैन्य मिलिसियाका नेताहरू अमेरिकाले हुसेनलाई सत्ताचुत गरेकाले इराकमा फर्कन सकेका हुन्, तर आज यिनै सैन्य दस्ता अमेरिकाका सबैभन्दा ठूलो शत्रु बनेका छन् । उनीहरू नियमित रूपमा अमेरिकी दूतावासको प्रांगण र बाँकी अमेरिकी सैन्य आधारमा मिसाइल हान्ने गर्छन् । 

इराकलाई स्थिर बनाउन नसकेको र त्यस युद्धमा हजारौँ अमेरिकीले जीवन गुमाएपछि अमेरिकाभित्र हुने बहस सधैँका लागि बदलियो । कुनै पनि प्रकारको अमेरिकी हस्तक्षेप (चाहे त्यो गैरसैनिक र अत्यावश्यक नै किन नहोस्)लाई शंकाको नजरले हेर्न थालियो । मध्यपूर्व अझै पनि कैयौँ तानाशाह र युद्ध अपराधीको पन्जामा छ । रम्सफेल्डले सन् २००६ मा पद त्यागेपछि मैले कहिल्यै पनि उनको बारे सोचिनँ । उनको भनाइ र गराइप्रति मलाई कुनै चासो थिएन । जे हुनु क्षति भइसकेको थियो । इराकलाई उनले जुन अपूरणीय क्षति पु¥याए, त्यसले गर्दा उनलाई क्षमा गर्न सकिँदैन । तर, अहिलेभन्दा राम्रो इराकको आशा गर्ने हामी धेरैका लागि यसको पनि त केही अर्थ छैन, अहिले उनको मृत्युको कुनै अर्थ नभए जस्तै । 

लेखिका वासिङ्टनमा मुख्यालय रहेको न्यु अलाइन्स इन्स्टिच्युटको ‘ननस्टेट एक्टर्स प्रोग्राम’की प्रमुख हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार