हेटौँडा–काठमाडौं आवतजावत गर्ने तीनवटा मार्गको १० स्थानमा पहिरो खसेको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण शुक्रबार राति त्रिभुवन राजपथ, हेटौँडा–काठमाडौं छोटो मार्ग र कान्ति लोकपथअन्तर्गतको सडक खण्डहरूमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–१ बाघझोरा, भैँसे–पालुङ–नौबिसे सडक खण्डमा पर्ने भीमफेदी–९ अघोर, थाहा नगरपालिका–६ खानीगाउँ र थाहा–१२ गैरीगाउँमा पहिरो खसेको थियो ।
त्रिभुवन राजपथको चार स्थानमा खसेका पहिरोहरू हटाएर हाल एकतर्फी यातायात आवतजावत भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । ‘चार स्थानका पहिरो हटाएर एकतर्फी सडक सुचारु भए पनि बाघझोरामा पानीको बेगका कारण माथिल्लो भागबाट ढुंगा झर्ने क्रम रोकिएको छैन’ उनले भने ‘हामीले त्यस क्षेत्रमा प्रहरीलाई अलर्ट राखेका छौं ।’
यसैगरी हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत भैँसे–भीमफेदी–फाखेल र सिस्नेरी सडकखण्डको भीमफेदी–२ पान्द्राङ, सोही सडकखण्डको भीमफेदी–६, देउराली, फाखेल सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मीखोला, इन्द्रसरोवर–२ कुलेखानीमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।
कान्ति लोकपथअन्तर्गत भीमफेदी–८ गंगटेस्थित कालोपहिरोमा पहिरोले कालोपत्रे बगाउँदा कान्ति लोकपथ हाल पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक दासले जानकारी दिए । उनका अनुसार हालसम्म त्रिभुवन राजपथबाहेक काठमाडौं उपत्यका आवतजावतका लागि हेटौंडा हुँदै जाने सबै बाटो ठप्प छ । कान्ति लोकपथअन्तर्गतकै ललितपुरको भट्टेडाँडामा पनि पहिरो गएका कारण काठमाडाैं उपत्यकाबाट समेत सवारी आवतजावत राेकिएको छ ।