स्विट्जरल्यान्डलाई टाइब्रेकरमा स्तब्ध पार्दै स्पेन सेमिफाइनलमा

शनिबार, १९ असार, २०७८
डिजिटल संस्करण

तीनपटकको विजेता स्पेनले शुक्रबार राति दश खेलाडीमा सीमित भएको स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३–१ ले स्तब्ध पार्दै चालू युरोकप २०२० च्याम्पियनसिपको सेमिफाइनल स्थान पक्का गरेको छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा स्पेन र स्विट्जरल्यान्डले १–१ को बराबरी खेलेका थिए । सेमिफाइनल पुग्ने टोलीको छिनोफानो टाइब्रेकरबाट हुँदा स्पेनको भाग्य खुलेको हो ।

टाइब्रेकरमा स्विट्जरल्यान्डका मारियो गार्भानोभिकले मात्र गोल गर्न सफल भए । स्पेनका डानी ओल्मो, जेरार्ड मोरेनो तथा मिकेल ओर्याजाबलले गोल गर्दै स्पेनलाई अन्तिम चारको स्थान सुरक्षित बनाए । यसअघि स्पेनका सर्जियो बुस्केट र रोड्रीका प्रहार असफल भएका थिए । मारियोले पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डलाई १–० को अग्रता दिलाए । 

तर, मारियोपछिका फाविएन स्चर, मानुएल अकान्जी तथा रुवेन भार्गासले टाइब्रेकरमा गोल गर्न नसक्दा स्विट्जरल्यान्ड क्वार्टरफाइनलबाटै बाहिरियो । स्पेनविरुद्धको खेलमा स्विट्जरल्यान्डका गोलरक्षक यान सोमेरले निर्धारित ९० तथा अतिरिक्तको ३० मिनेटमा निकै उत्कृष्ट बचाउ गरेका थिए । यद्यपि टाइब्रेकरमा पनि उनले स्पेनिस खेलाडीका प्रहार छेक्दै आफ्नो टोलीलाई सेमिफाइनल यात्राको आशा जीवितै राखेका थिए । 

यसअघि खेलको छैटाैँ मिनेटमा जोर्डी अल्वाले पोस्टभन्दा २२ यार्ड टाढाबाट प्रहार गरेको बल स्विट्जरल्यान्डका डेनिस जाकिरियाको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । भिएआरमा जाकिरियाको आत्मघाती गोल देखिएपछि स्पेन खेलमा १–० ले अघि बढ्यो । चालू युरोकपमा यो दशौँ आत्मघाती गोल हो । दोस्रो हाफमा स्विट्जरल्यान्डले काउन्टर एट्याक्टमा बराबरी गोल फर्काउने रणनीति बनाएको थियो । 

खेलको ६६औँ मिनेटमा स्पेनको कमजोर डिफेन्सको फाइदामा स्विट्जरल्यान्डले १–१ को बराबरी गोल फर्काउन सफल भयो । रेमो फ्रेउएरले डिबक्सभित्र उपलब्ध गराएको पासमा कप्तान साकिरीले स्पेनिस गोलरक्षक सिमोनलाई छेक्न अवसर नदिई स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा पु¥याए । स्विट्जरल्यान्डलाई खेलमा फर्काउन प्रत्यक्ष भूमिका निर्वाह गरेका रेमो फ्रेउएर ७७औँ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले स्पेनिस खेलाडी जेरार्ड मोरेनोलाई ट्याकल गरेका थिए । रेफ्रीले तत्कालै फ्रेउएरलाई रातो कार्ड देखाए । 

त्यसपछि स्विट्जरल्यान्ड बाँकी समय दश खेलाडीमा रहँदै स्पेनविरुद्ध प्रतिस्पर्धा गर्‍यो । एक गोलले पछाडि परेको स्विट्जरल्यान्डले मध्यान्तरअघि बराबरी गोल प्रयास गरेको थियो । यो अवधिमा स्विट्जरल्यान्डले दुई राम्रो अवसर खेर फाल्यो । खेलको ५४औँ मिनेटमा स्विट्जरल्यान्डका जाकिरियाको हेडिङ दोस्रो बारनजिक हुँदै बाहिरिएको थियो । खेलको ६३औँ मिनेटमा स्विट्जरल्यान्डले काउन्टर एट्याक्टमा उत्कृष्ट मुभ बनाएको थियो । 

सानो डिबक्सभित्र साकाले प्रहार गरेको बललाई स्पेनिस गोलरक्षक सिमोनले पहिलो बारमा डाइभ गरी क्लियर गर्दै आफ्नो टोलीलाई गोल खानबाट बचाएका थिए । प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डले सनसनी खेलमा विश्व च्याम्पियन फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अन्तिम आठको स्थान पक्का गरेको थियो । तीनपटकको विजेता स्पेनले अन्तिम १६ को रोमाञ्चक तथा नाटकीय खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–२ ले हराएको थियो ।

– एजेन्सीको सहयोगमा

सुझावित समाचार