मुलुकभर २७.१२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार पहाडी क्षेत्र र सुदूरपश्चिमका धेरै ठाउँमा रोपाइँ सकिएको छ । धानका लागि सबैभन्दा उर्वर मानिएको तराई क्षेत्रमा भने रोपाइँ भर्खर सुरु भएको छ । यो वर्ष देशभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा धान रोपाइँ हुने मन्त्रालयले जनाएको छ । त्यसमध्ये ३ लाख ७१ हजार हेक्टरमा रोपाइँ सकिएको छ ।
सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रोपाइँ भएको छ । कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टर मात्रै धानका लागि खेतीयोग्य जमिन रहेकोमा ६२.१४ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, सुदूरपश्चिममा १ लाख ६४ हजार हेक्टर धानका लागि खेतीयोग्य रहेकोमा ४८.३१ प्रतिशत रोपाइँ सकिएको छ ।
सबैभन्दा बढी धान फल्ने प्रदेश १ र २ मा रोपाइँ बल्ल सुरु भएको छ । मनसुनसमेत यो वर्ष समयमै सुरु भएकाले तराईका किसान रोपाइँका लागि उत्साहित भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा यो वर्ष २ लाख ५७ हजार हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा १७.९९ प्रतिशतमा रोपाइँ भइसकेको छ । त्यस्तै, सबैभन्दा बढी धानका लागि खेतीयोग्य जमिन रहेको दुई नम्बर प्रदेशमा ३ लाख ६५ हजार हेक्टरमध्ये १०.५५ प्रतिशतमा मात्र रोपाइँ सकिएको छ ।

तराईमा १५ असारबाट रोपाइँ सुरु भई साउन पहिलो हप्तासम्म लाग्ने गरेको छ । यो वर्ष समयमै मनसुन भएको र मल–बिउको सहज उपलब्धता रहेकाले किसानले निर्धक्क रोपाइँ गर्ने कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए । ‘किसानलाई चाहिने मल, बिउ, सिँचाइको सुविधा उपलब्ध छ । त्यसैले यो वर्ष रोपाइँ राम्रो हुने अपेक्षा लिएका छौँ,’ उनले भने ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा १ लाख १५ हजार हेक्टर धानखेतीका लागि योग्य रहेकोमध्ये २१ प्रतिशत, गण्डकीमा १ लाख ८ हजार हेक्टर धानखेतीका लागि योग्य रहेकोमध्ये १५.३४ प्रतिशत र लुम्बिनी प्रदेशमा ३ लाख ३ हजार हेक्टर खेतीयोग्य रहेकोमा ४५.९४ प्रतिशत रोपाइँ सकिएको छ ।
गत वर्ष यही अवधिमा ३५.४८ प्रतिशत रोपाइँ सकिएको थियो । मुलुकको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादनले कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष असर गर्ने गरेको छ । त्यस्तै, धान उत्पादन भएको वर्ष देशको आर्थिक वृद्धिदरसमेत बढ्ने हुँदा धान रोपाइँलाई विशेष महत्व दिने गरिएको छ । पछिल्ला वर्षहरूमा चामलको माग उच्च हुन थाले पनि उत्पादनमा सुधार नहुँदा बर्सेनि आयात बढिरहेको छ ।
चालू आर्थिक वर्ष ०७७/७८ को पहिलो १० महिनामा मात्रै ४४.४६ अर्बको चामल आयात भइसकेको राष्ट्र बैंकले जनाएको छ । धान उत्पादनमा सुधार नहुँदा चामल आयात गत वर्षको तुलनामा ६७ प्रतिशतले बढेको हो । मूलतः सहरी क्षेत्रका उपभोक्ताले धेरै माग गर्ने मसिनो र बास्नादार चामलको आयात बढेको राष्ट्र बैंकले जनाएको छ ।