एमालेको संस्थापन पक्षले पार्टीलाई ३ जेठ ०७५ अघिको पदाधिकारीसहितको केन्द्रीय कमिटीमा फर्काउने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टीलाई साबिक एमालेमा रहेको १४ सदस्यीय पदाधिकारी (एक पद पछि रिक्त), एक वरिष्ठ नेतासहितको २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा फर्काउने निर्णय गरेको हो ।
यो निर्णयअनुसार नेता माधवकुमार नेपाल भने अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनालपछिको तेस्रो वरियताको नेताका रुपमा पुनःस्थापित हुनेछन् । नेपाल–खनाल पक्षले भने एमालेलाई २ जेठसम्मको दुई सय तीन सदस्यीय केन्द्रीय कमिटीमा फर्काएपछि मात्र एकीकरणका क्रममा पार्टीका तर्फबाट थपिएका ३८ नेता तथा पूर्वमाओवादीबाट महाधिवेशन आयोजक कमिटीमा राखिएका २३ जना नेताबारे निर्णय गरिनुपर्ने अडान राख्दै आएको थियो ।
‘
बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने, बैठकबाट पार्टीलाई पुरानै संरचना अर्थात् केन्द्रीय कमिटीमा फर्काएर शुक्रबार (१८ असार) केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय भएको छ,’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘३ जेठ ०७५ अघि पार्टी फर्किने भएपछि पदाधिकारी र वरिष्ठ नेताहरूको पदीय हैसियत पनि यथावत् हुनेछ ।’
उनले स्थायी समितिको निर्णयअनुसार दुई सय ४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँतिने, तर शुक्रबार बस्ने केन्द्रीय कमिटीमा भने केन्द्रीय कमिटी सदस्यकै हैसियतमा पूर्वमाओवादी समूहका २३ जना नेताहरूलाई पनि सहभागी गराइने जानकारी दिए ।
बुधबार बस्ने आयोजक कमिटीको अन्तिम बैठकले पार्टीलाई पुरानै संरचनामा ब्युँताइएको निर्णयपछि वरिष्ठ नेता माधवकुमार नेपालसहित उनका समूहका नेताहरूलाई पनि पार्टी एकताका लागि बैठकमा सहभागी हुन औपचारिक रूपमै आह्वान गर्ने संस्थापन पक्षको तयारी छ । ‘अहिलेसम्म त साथीहरूलाई जानकारी गराइएको छैन, तर बुधबारको बैठकबाट केन्द्रीय कमिटी बैठकमा सहभागी हुन हामी औपचारिक रूपमै आह्वान गर्छौँ,’ ज्ञवालीले भने ।
संस्थापन पक्षले गत २८ फागुनको बैठकबाट साबिक एमालेको केन्द्रीय कमिटी भंग गरी दुई सय ६४ सदस्यीय दशौँ महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । आयोजक कमिटीमा साबिक एमालेबाट दुई सय ४१ र रामबहादुर थापा ‘बादल’को नेतृत्वमा पूर्वमाओवादी समूहबाट २३ जना नेता समेटिएका थिए ।