कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सके मात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मंगलबार अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भए मात्रै देशका समृद्धि हासिल हुने बताएका हुन् ।
कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताए । देशको समृद्धिको मूल आधार कृषि क्षेत्र भएको उनले बताए । उनले भने, ‘अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने कृषि हो । कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टीकरण ढंगले अगाडि बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने समृद्धि प्राप्त गर्न सकिँदैन । समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकांक्षाको मूल आधार कृषिको विकास हो । त्यसमध्येको एउटा आधार धानबालीको उन्नयन र विकास हो ।’
मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताए । सरकारले धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि स्पष्ट नीति बनाइरहेको उनले उल्लेख गरे ।
धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनुपर्ने भए मन्त्रालय तयार रहेको पनि उनले बताए । उनले भने, ‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको अहमता, व्यापकता र आवश्यकतालाई अत्यन्तै ध्यान दिनु जरुरी छ । परम्परा र सांस्कृतिक रूपमा, महोत्सवको रूपमा, यसको उत्पादकत्व बढाउने कुरा, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीतिहरू बन्दै छ ।’