नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम बढ्न सकेन
सोमबार नेप्सेमा ५ अंकको सुधार हुँदा पनि कारोबार रकममा भने सुधार आउन सकेन । केही अघि करिब २० अर्बसम्म कारोबार भएकोमा पछिल्लो २ हप्ता भने सेयर कारोबार रकम १० अर्ब रुपैयाँभन्दा तल रहेको छ ।
लगानीकर्ता अझै पनि ‘पर्ख र हेर’कै अवस्था रहेसम्म कारोबार नबढ्ने लगानीकर्ता बताउँछन् । सेयर खरिद–बिक्री गर्नका लागि बजार स्थिर हुुन आवश्यक रहेको, तर अहिले बजार तल–माथि गरिरहँदा विशेष गरी नयाँ लगानीकर्ता खुम्चिन पुुगेको एक लगानीकर्ता बताउँछन् ।
बजार कता जान्छ भन्ने आधार सेयर कारोबार पनि भएकाले, अहिले राजनीतिक अन्योल, लगानीका अन्य माध्यम पनि बिस्तारै खुल्दै जानुलगायतका कारण सेयर बजार केही दबाबमा परेको हुन सक्ने लगानीकर्ताको भनाइ छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १९ कम्पनीको १ करोड ९२ लाख कित्ता सेयर किनबेच हुुँदा ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अपर तामाकोसी हाइड्रोपावर कम्पनीको रहेको छ । कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल इस्योरेन्स कम्पनीको ५२ करोड २४ लाख रुपैयाँ तथा राधी विद्युत् कम्पनीको ५२ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको ५० करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से परिसूूचक ५ दशमलव ११ प्रतिशतले बढेर २ हजार ८ सय ७५ दशमलव ५० बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ समूूहका सूूचकमध्ये ६ समूूहका सूचक सकारात्मक रहेका छन् भने बाँकी रहेका ७ समूूहका सूूचक नकारात्मक रहेका छन् । सबैभन्दा धेरै फाइक्रो फाइनान्स समूूहको २ प्रतिशतले बढेको छ भने लगानीगत समूूह, वाणिज्य बैंकमा पनि हरियाली छाएको छ । जलविद्युत्, फाइनान्स र विकास बैंकका लगानीकर्ता भने निराश बनेका छन् ।
सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा सबैको लघुवित्त रहेको छ । संस्थाको ८ दशमलव १७ प्रतिशत बढेर प्रतिसेयर मूल्य १ हजार ७ सय ७५ रुपैयाँ पुुगेको छ । त्यस्तै, सिभिल लघुवित्तको ८ प्रतिशतले बढेर प्रतिसेयर मूूल्य १ हजार ४ सय ५९ रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्त, हाइड्रो इलेक्ट्रिसिटी, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूूल्यमा हरियाली छाएको छ । मूल्य घट्ने कम्पनीमा बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स, राधी विद्युत् कम्पनी, आइसिएफसी फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर रहेका छन् ।