कोरोना भाइरस (कोभिड–१९)को पहिलो लहर चल्दा युरोपियन देश इटालीले नसोचेकै स्थिति सामना गर्नुपरेको थियो । पहिलो लहरमा गरेका गल्ती सच्याउँदै इटालीले त्यसपछि कोरोनाविरुद्धको रोकथाम अभियान नै चलायो । यसै कारण कोरोनाको दोस्रो लहर चल्दा इटालीमा त्यति असर भएन । इटालियन सरकारले विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम र अनिवार्य भ्याक्सिन नीति लिएपछि यहाँ अहिले कोरोना नियन्त्रणमा छ ।
यद्यपि, अहिले पनि संक्रमित र मृत्युदर हिसाबले इटाली युरोकपकै दोस्रो बढी प्रभावित देशको सूचीमा छ । यहाँ अहिलेसम्म ४२ लाख ५८ हजार ६९ जना संक्रमित भएका छन् । पहिलो चरणको लापरवाहीका कारण नै इटालीमा धेरै संक्रमितको निधन भएको थियो । इटालीमा एक लाख २७ हजार चार सय ७२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । इटालीमा ५७ हजार एक सय ६२ जना एक्टिभ केस चलिरहेको छ ।
सरकारले आफ्ना जनतालाई राहत प्रदान गर्न सोमबारदेखि नै घरबाट बाहिर निस्कँदा मास्क लगाउनुपर्ने अनिवार्यता हटाएको छ । यस निर्णयसँगै इटाली मास्क अनिवार्यता हटाउने पहिलो युरोपियन देश बनेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले २० राज्यमा मास्क लगाउनुनपर्ने घोषणा गरेको छ । सरकारले ती २० राज्यलाई कोरोनामुक्त क्षेत्र भनेको छ ।
बेलायतमा बढ्दै संक्रमित बेलायतमा कोरोना भाइरसको दोस्रो भेरियन्ट फेला परेसँगै सरकारले त्यसविरुद्ध अभियान नै चलायो । दोस्रो भेरियन्ट तीव्र गतिमा फैलनबाट रोक्न तत्कालै लकडाउन जारी भयो । यसै महिना मात्र बेलायत सरकारले विभिन्न सहरमा लागू गरिएको लकडाउन हटाएको थियो । अहिले बेलायतमा लकडाउन हटाउने निर्णय घातक बनिरहेको छ । नियन्त्रणमा आइसकेको कोरोना बेलायतमा पुनः एकपटक तीव्रताका साथ अगाडि बढिरहेको छ । आइतबार मात्र यहाँ १४ हजार आठ सय ७६ जना संक्रमित भएका छन् ।
यसमध्ये ११ जनाले ज्यान गुमाएका छन् । बेलायतमा लगातार तीन दिनदेखि दश हजारभन्दा बढी संक्रमितको रेकर्ड दर्ता भएको छ । शनिबार १८ हजार एक सय ८५ जना संक्रमित भएका थिए । शनिबारको रेकर्ड पछिल्लो एक सय ४० दिनपछिकै धेरै हो ।
६ फेब्रुअरीमा बेलायतमा १८ हजार एक सय ५३ जना संक्रमित भएका थिए । बेलायतमा पुनः संक्रमित संख्या बढ्नुको प्रमुख कारण नै सरकारले जनतालाई दिएको छुट मानिएको छ ।
लकडाउन खुला भएसँगै ब्रिटिस नागरिकले मास्क लगाउनै छाडेका छन् । साथै, उनीहरूले भौतिक दूरीसमेत कायम राखेका छैनन् । स्वास्थ्यमन्त्री म्याट हैनकानले सामाजिक दूरी कायम नगर्नुले संक्रमित संख्या एक्कासि बढेको जनाएका छन् । अर्कोतिर, स्वास्थ्यमन्त्रीकोे कमजोर नीतिकै कारण संक्रमित संख्या बढेको आरोप लगाउँदै उनको राजीनामा माग भएको छ ।
आइतबार ३० हजार प्रदर्शनकारीले स्वास्थ्यमन्त्री म्याटको राजीनामा माग गरेका छन् । दोस्रो लहरको कोरोना चलिरहँदा स्वास्थ्यमन्त्री म्याटले हल्का रूपमा लिएको आरोप प्रदर्शनकारीले लगाएका छन् । आइतबार भएको प्रदर्शनमा १० प्रदर्शनकारी पक्राउ परेका छन् ।
बंगलादेशमा १ जुलाईदेखि लकडाउन
बंगलादेश सरकारले कोरोना नियन्त्रण गर्न १ जुलाईदेखि लकडाउनको घोषणा गरेको छ । यद्यपि, बंगलादेशमा यसको अभ्यास सोमबारदेखि नै भएको छ । सरकारको पछिल्लो निर्णयसँगै राजधानी ढाकामा हजारौँ दैनिक ज्यालादारीमा काम गर्ने मजदुर आ–आफ्नो घर फर्किएका छन् । बंगलादेशमा आइतबार पाँच हजार दुई सय ५८ जना संक्रमित भएका छन् । यसक्रममा एक सय १९ जनाको निधन भएको छ ।
बंगलादेशमा अहिलेसम्म आठ लाख ९६ हजार सात सय ७० जना संक्रमित भएका छन् । ८ लाख सात हजार ७३ जना निको भएका छन् । अहिले पनि ७४ हजार आठ सय २१ जना व्यक्ति संक्रमित छन् । पछिल्लो २४ घन्टामा यहाँ आठ हजार तीन सय ६४ जनामा संक्रमित भएको छ । बंगलादेशमा १४ हजार दुई सय ७६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।