कांग्रेसमा क्रियाशील सदस्यताको विवाद उत्कर्षमा

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण
कांग्रेसमा क्रियाशील सदस्यताको विवाद उत्कर्षमा

फाइल तस्बिर

क्रियाशील सदस्य नै कांग्रेसको नेतृत्व चयनका मुख्य आधार, १४औँ महाधिवेशनका लागि आठ लाख २० हजार सदस्य सूचीकृत

नेतृत्व चयनका मुख्य आधार मानिएको क्रियाशील सदस्यताको किचलो कांग्रेसमा उत्कर्षमा पुगेको छ । सदस्यता छानबिनमा देखिएका विवाद समाधानका लागि आवश्यक मापदण्ड बनाउने विषयमा नेताहरूबीच मतभेद छ । 

संस्थापन पक्षले जथाभावी क्रियाशील सदस्यता थप गर्न लागेको भन्दै इतर पक्षका नेताहरूले विरोेध जनाएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश र समायोजनका क्रममा आफूअनुकूल क्रियाशील सदस्यता थप गरी पार्टी कब्जा गर्ने नीति लिएको पौडेल समूहका नेताहरूको आशंका छ । 

यही विषयमा सोमबार संस्थापनइतर पक्षका नेताहरू रामचन्द्र पौडेल, डा.शेखर कोइराला, सुजाता कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । डा.कोइराला सोमबार बिहानै पौडेलनिवास बोहराटार पुगेका थिए भने दिउँसो पौडेल सुजाता कोइरालानिवासमै पुगे । भेटमा नेता सिटौला पनि सहभागी थिए । साँझ पौडेलले आफ्नै निवासमा प्रकाशमान सिंहसँग पनि छलफल गरेका छन् । 

सोमबार क्रियाशील सदस्यताको विवाद समाधान गर्ने सन्दर्भमा नेताहरूसँग छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । ‘महाधिवेशनको सम्मुखमा हुने भेटमा स्वाभाविक रूपमा नेतृत्वबारे छलफल भयो । छलफल क्रियाशील सदस्यताको विवादमा नै केन्द्रित थियो,’ उनले नयाँ पत्रिकासँग भने । 

पौडेलसँगको भेटमा केन्द्रीय सदस्य डा. कोइरालाले गलत मान्छेलाई क्रियाशील दिएर पार्टीको लोकतान्त्रिक छविलाई बिगार्न नहुने भन्दै पौडेललाई सजग गराएका छन् । ‘गलत मान्छेलाई क्रियाशील सदस्यता दिएर अघि बढ्ने हो भने समस्या हुन्छ । त्यसरी महाधिवेशन हुँदैन । हामीले कांग्रेसलाई सत्ता कब्जा गर्ने उद्देश्यले मात्रै अघि बढाउने कि बलियो लोकतान्त्रिक पार्टी बनाउने ? अहिल्यै सोच्नुपर्ने हुन्छ,’ भेटमा पौडेललाई डा. कोइरालाले भनेका थिए, ‘महाधिवेशन गर्ने नाउँमा किस्तीमा राखेर पार्टी फेरि उहाँ (देउवा)लाई बुझाउन सकिँदैन । जथाभावी सदस्यता थप गर्ने कोसिस भइरहेको छ । त्यसलाई जसरी पनि रोक्नुपर्छ ।’ 

नेता कोइरालाले अन्य पार्टीबाट प्रवेश गरेको नाममा तीन हजार–पाँच हजार मान्छेलाई सदस्यता दिइएको भन्दै त्यो आफूहरूका लागि घातक हुने बताएका थिए । आफू–आफू सभापतिको उम्मेदवार बन्ने दौडमा रहेका नेताहरूबीच क्रियाशील सदस्यताका विषयमा भने पार्टीको विधान, नियमावली, केन्द्रीय समितिका निर्णय र समझदारीविपरीत संस्थापन पक्षले पार्टी कब्जा गर्ने उद्देश्यले वितरण गरेका क्रियाशील सदस्यतालाई मान्यता नदिने समझदारी बनेको छ । पौडेल समूहले विधानविपरीत थप गरिएका सदस्यतालाई १४औँ महाधिवेशनमा मान्यता दिन नहुने अडान अघि सारेको छ । 

क्रियाशील सदस्य नै कांग्रेसको नेतृत्व चयनका मुख्य आधार भएकाले यसमा नेताहरूको चासो रहने गरेको छ । देशभर आफ्नो गुटको वर्चस्व बनाउन सके वडाबाटै धेरै प्रतिनिधि चयन हुने र त्यसैको प्रभावमा जिल्ला र क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि छनोट हुने प्रतिनिधिसमेत आफ्नै गुटका निर्वाचित गराउने उद्देश्यले सदस्यतामा वडातहसम्म प्रतिस्पर्धा हुने गरेको छ । एकलौटी नेतृत्व भएका ठाउँमा सबै गुटले आफूअनुकूल सदस्य थपघट गर्ने गरेका छन् । जसका कारण महाधिवेशनको मुखमा सदस्यता छानबिन जटिल बन्दै आएको छ । 

विवाद समाधानका लागि सभापति देउवाले आइतबार केन्द्रीय कार्यालयमा छानबिन समितिसहितको शीर्ष नेताहरूसँग छलफल गरेका थिए । बैठकमा छानबिन समितिका सदस्यहरूले अहिलेसम्म भएको कामको प्रगति र विवादबारे जानकारी गराएका थिए । पौडेल समूहका नेताहरूले सभापति देउवाले प्रक्रियाविपरीत वितरण भएका सदस्यतालाई समेत आफ्नो हितका लागि मान्यता दिन खोजेको आशंका गर्दै त्यस्ता क्रियाशील सदस्यतालाई मान्यता दिन नहुने अडान राखेका थिए । 

कांग्रेसको वडा तहको अधिवेशन हुन अब २८ दिन मात्रै बाँकी छ । तर, तल्ला तहका मतदाता अर्थात् क्रियाशील सदस्यतामा उब्जिएको विवाद समाधानका लागि मापदण्डसमेत बनाउन सकेको छैन । त्यसो त कांग्रेसको विधानले हरेक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने र महाधिवेशनको ६ महिनाअगावै सदस्यताको टुंगो लगाइसक्नुपर्ने व्यवस्था छ । तर, नेताहरूले विधानको त्यस्तो व्यवस्थालाई बेवास्ता गर्दै महाधिवेशनको मुखमा मात्रै सदस्यता थप्ने र नवीकरण गर्ने गर्दै आएका छन् । 

अघिल्लो महाधिवेशनमा पनि सदस्यतामा विवाद भएपछि ६ महिनासम्म समाधानका लागि प्रयास गर्दा पनि नमिलेपछि ५० हजार सदस्यहरूको नामावली १४औँ महाधिवेशनका लागि थाती राखिएको थियो । यसपटक १४औँ महाधिवेशनका लागि आठ लाख २० हजार सदस्य सूचीकृत भइसकेका छन् । छानबिन समितिका अनुसार पुराना चार लाख ७० हजार सदस्यमध्ये तीन लाख ९० हजारले मात्रै सदस्यता नवीकरण गरेका छन् । कांग्रेसले यसपटक शतप्रतिशत सदस्यता वृद्धि गर्ने नीति बनाएको थियो । जसअनुसार सप्तरी, बर्दिया, बारा र सिन्धुपालञ्चोकमा विवादका कारण सदस्यता टुंगो लागेको छैन । ती चार जिल्लाबाहेक नै सदस्यताको संख्या चार लाख ३० हजार नाघेको छ । अब ती चार जिल्लाको थपिँदा आठ लाख ५० हजार सदस्य पुग्ने समितिको अनुमान छ । अहिले प्राप्त सदस्यताको विवरणमाथि छानबिनका क्रममा नयाँ वितरण र नवीकरण दुवैमा विवाद उत्पन्न भएको छ । तीमध्ये धेरै ठाउँका उजुरीहरू सम्बोधन भइसकेका छन् । जसमध्ये नाम छुट, थर परिवर्तन, वडा परिवर्तनजस्ता सामान्य समस्या थिए । त्यस्तै प्रकृतिका सामान्य समस्या भएका करिब ५० जिल्लाको विवाद समाधान गरिएको छानबिन समितिको सदस्यसमेत रहेका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले बताए ।

‘अहिले कम विवाद भएका करिब ५० जिल्लाको विवाद समाधान ग¥यौँ । ती जिल्लाको सदस्यता प्रिन्ट गर्ने काम सुरु हुँदै छ । हामीले अहिलेसम्म पार्टीको विधान, नियमावली, केन्द्रीय कार्यसमितिका निर्णय र परिपत्रहरू तथा नेताहरूबीचको समझदारीका आधारमा मिलाउन सकिने विवाद मिलाएका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब जटिल प्रकृतिका विवादको पोको खोल्नै बाँकी छ ।’ समितिका अनुसार अब बाँकी जिल्लामा जटिल प्रकृतिका विवाद छन् । सबैभन्दा धेरै विवाद प्रदेश २ का जिल्लामा देखिएको छ । काठमाडौं, कैलाली, मोरङ, सुनसरीलगायत धेरै निर्वाचन क्षेत्र भएका ठूला जिल्लामा विवाद छ ।

विधानअनुसार क्रियाशील सदस्यताका लागि वडा, प्रदेश, प्रतिनिधिसभा र जिल्ला कार्यसमिति गरी चार तहबाट सिफारिस भएर केन्द्रमा आउनुपर्छ । नवीकरणका लागि पनि तल्ला तहको सिफारिस आवश्यक पर्छ । तर, कतिपय ठाउँमा आफ्नो गुटको वर्चस्व बनाउन वडाले पठाएको नाम क्षेत्रले हटाइदिएको छ । कतै वडाको सिफारिसविनै क्षेत्रले नाम थपेको छ । कतिपय जिल्लामा तल्ला तहको सिफारिसविनै क्षेत्रीय समितिहरूले केन्द्रमा नामावली पठाएका छन् । कतिपय जिल्लामा ५० प्रतिशत नयाँ सदस्य थप्नुपर्नेमा त्योभन्दा धेरै थपिएका छन् । ‘धेरै ठाउँमा संस्थापन समूहले मनपरी सदस्यता थपेको देखियो । त्यो सजिलै समाधान हुने अवस्था छैन,’ छानबिन समितिमा रहेका पौडेल समूहका एक नेताले भने । 

कांग्रेसमा सदस्यतामा विवाद हुनुको अर्को मुख्य कारण पार्टी प्रवेश गर्ने नेताहरूको समायोजन पनि हो । ०७४ को आमनिर्वाचनअघि विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा एकीकृत भएको थियो । गच्छदार समूहलाई २५ हजारभन्दा बढी क्रियाशील सदस्यता दिइएको छ । एक नेताका अनुसार गच्छदार नेतृत्वको पार्टीमा रहेका नेता तथा कार्यकर्ताको ठूलो समूह कांग्रेस पृष्ठभूमिकै भएकाले वडा तहबाटै उनीहरूको समायोजन गर्न खासै ठूलो समस्या छैन । तर, सुनीलबहादुर थापासहित राप्रपाबाट आएका नेता तथा कार्यकर्ता र २०७४ को निर्वाचनअघि माओवादी केन्द्र, एमाले, तत्कालीन समाजवादी पार्टी, राजपा, जनशक्ति पार्टी र अखण्ड नेपालबाट प्रवेश गरेकाहरूको हकमा बढी समस्या रहेको छ । उपसभापति गच्छदार सभापति देउवासँग छन् । 

समायोजनपछि सहमहामन्त्री बनेका थापासहित अन्य राजनीतक दलबाट प्रवेश गरेका नेताहरू पनि देउवासँगै निकट छन् । यसर्थ ठूलो संख्यामा संस्थापन पक्षले आफूअनुकूल सदस्यता थप गर्ने र त्यसको प्रभावले महाधिवेशनबाट पार्टी कब्जा गर्ने कोसिस गरिरहेको पौडेल समूहको ठहर छ । 

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी भने महाधिवेशनकै लागि गलत मान्छेलाई क्रियाशील सदस्यता दिनुभन्दा पुरानै क्रियाशीललाई आधार मानेर महाधिवेशन गर्न सकिने विकल्प रहेको बताउँछन् । ‘भदौमा महाधिवेशन हुनैपर्ने अवस्था छ । यस्तो अवस्थामा विधिबमोजिम क्रियाशील आएन भने समस्या हुन्छ । त्यसरी गलत मान्छेहरूलाई विधान मिचेर क्रियाशील दिनुभन्दा पुरानै क्रियाशील सदस्यतालाई आधार मान्नु उपयुक्त हुन्छ,’ उनले भने । 

स्रोतका अनुसार शीर्ष नेताहरूले मापदण्डमा सहमति जुटाउन छानबिन समितिलाई जिम्मा दिएका छन् । त्यसमा नेताहरू डा. मिनेन्द्र रिजाल, गगन थापालगायतले सहयोग गरिरहेका छन् । छानबिन समितिका संयोजक रमेश लेखकसहित केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, श्यामकुमार घिमिरे, जीवन परियार, आनन्द ढुंगाना र कल्याणकुमार गुरुङले दुई सातादेखि आवासीय रूपमा बसेर सदस्यता छानबिनको काम गरिरहेका छन् । शीर्ष नेताहरूले भदौको १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने गरी असार मसान्तभित्र सदस्यता छानबिन गरिसक्न भनेका छन् । 

देउवाविरुद्ध एकजुट हुनुपर्ने निष्कर्ष
संस्थापनइतर समूहबाट १४औँ महाधिवेशनमा सभापतिका आकांक्षी रहेका वरिष्ठ नेता पौडेलसहित नेताहरू डा.शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह र नेता कृष्णप्रसाद सिटौलाबीच पार्टीमा लोकतन्त्र बचाइराख्न देउवाविरुद्ध एकजुट हुनुपर्नेबारे छलफल भएको छ । 

सोमबार बिहान भएको बोहराटारस्थित पौडेल निवासमा भएको छलफलमा डा. कोइरालाले पावर सेयरिङ गरी मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा पौडेलले आफ्नो यो नै अन्तिमपटक भएको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘म अहिलेसम्म पार्टीको नेतृत्वमा पुगेको छैन । एकपटक मलाई सहयोग गर्नुस् । सबै मिलेर पार्टीको आन्तरिक लोकतन्त्र बचाऔँ,’ पौडेलले भनेका थिए । 

लगत्तै सुजाता कोइरालानिवासमा भएको भेटमा पनि पौडेलले देउवाविरुद्ध सबै शक्ति एकजुट भएर पार्टीको आन्तरिक लोकतन्त्र बचाउनुपर्ने प्रस्ताव गरेका थिए । ‘एक्ला–एक्लै लडेर चुनाव जित्ने अवस्था छैन, बरु मलाई सघाउनुस् । होइन भने तपाईंहरू मिल्नुस्, म सघाउँछु,’ नेतृ कोइरालाले पौडेल र सिटौलालाई सँगै राखेर भनेको उद्धृत गर्दै उनको सचिवालयले भन्यो । कोइरालाको निवासमा दिउँसो एक बजेबाट करिब डेढ घन्टासम्म छलफल भएको थियो । नेता पौडेलले साँझ अर्का नेता प्रकाशमान सिंहसँग पनि छलफल गरेका छन् । 

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा पौडेलले नेताहरूसँग वान टु वान वार्ता गरेको यो पहिलोपटक हो । नयाँ पत्रिकासँग कुरा गर्दै पौडेलको सचिवालयले भन्यो, ‘सबै आकांक्षीहरूको भेट हो । सबैले एक–अर्कालाई सहयोगका लागि भन्नुभयो । तथापि महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र आन्तरिक लोकतन्त्र बचाउने भए देउवाविरुद्ध सबै शक्ति एक हुनुपर्ने समझदारी बनेको छ ।’ नेताहरूबीच भेटघाट जारी राख्ने र संस्थापनइतर समूहबाट एकजना मात्रै उमेदवार बन्न अधिकतम सहमतिका लागि प्रयास गर्ने समझदारी भएको छ । 

संस्थापनइतर समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा.शेखर कोइराला, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी र कल्याणकुमार गुरुङले सभापतिका लागि दाबी गर्दै आएका छन् ।

सुझावित समाचार