वाणिज्य बैंक र जलविद्युत् कम्पनीका लगानीकर्तामा फर्कियो उत्साह

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

अघिल्लो हप्ता उच्च अंकको लामो करेक्सनपछि सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७ दशमलव ३८ अंकले बढेर २ हजार ८ सय ७० दशमलव ३८ बिन्दुमा पुगेको छ । आइतबार ‘क’ वर्गका कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ७६ अंकले बढेर ५ सय २९ दशमलव ४१ बिन्दुमा पुुगेको छ । बढेको बजारमा लगानीकर्तामा नाफा बुक गर्ने होड चल्दा कारोबार रकममा भने गिरावट आएको लगानीकर्ता बताउँछन् । पछिल्लो समय बजारको अस्थिरताका कारण नयाँ लगानीकर्ता निकै आत्तिएको जस्तो देखिएको विश्लेषकहरू बताउँछन् ।

धितोपत्र र ऋणपत्र गरी २ सय २७ कम्पनीको २ करोड ९ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनीको ४० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार कम्पनीमा सेन्चुरी कमर्सियल बैंक रहेको छ । बैंकको सो दिन ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल रि–इन्स्योरेन्सको ३४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहका सूचकमध्ये ८ समूूहका सूचक सकारात्मक रहेका छन् । आइतबार सबैभन्दा धेरै वाणिज्य बैंकमा हरियाली छाएको छ । वाणिज्य बैंकहरूको सूचक २ प्रतिशतले बढेको छ भने जलविद्युत्, माइक्रो फाइनान्सका समूह सूचक सकारात्मक छन् । विकास बैंक र फाइनान्स लगानीकर्ता भने निराश भएका छन् । 

आइतबार सेन्चुरी कमर्सियल बैंकको कारोबारमा सकारात्मक सर्किट लागेर २७ रुपैयाँ बढेको छ । बैंकको प्रतिसेयर मूल्य २ सय ९८ रुपैयाँ पुुगेको छ । त्यस्तै, अपर तामाकोसी हाइड्रोपावर कम्पनीको १० प्रतिशतले सर्किट लाग्दै ७४ रुपैयाँ बढेर प्रतिसेयर मूूल्य ८ सय १९ रुपैयाँ पुुगेको छ । युनाइटेड आइडी मार्दी हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, बुटवल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल भएका छन् । त्यस्तै, गोर्खाज फाइनान्स, एभरेष्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको सूचक करिब ४ प्रतिशतले घट्दा लगानीकर्ता निराश भएका छन् । 

See More On

सुझावित समाचार