युरोकपमा आजको खेल : चेक रिपब्लिकविरुद्धको खेलमा पुराना गल्ती सुधार्ने योजनामा नेदरल्यान्ड्स

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

नेदरल्यान्ड्सका सहायक प्रशिक्षक रुडभान निस्टोलरोयले चेक रिपब्लिकविरुद्धको प्रिक्वार्टरफाइनल खेलमा खेलाडीहरूलाई कुनै पनि गल्ती नगर्न सचेत गराएका छन् । पछिल्ला केही मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भएका सा–साना गल्तीका कारण नेदरल्यान्ड्स उपाधिविमुख भएको स्मरण गराउँदै रुडभानले खेलाडीहरूलाई सचेत गराएका हुन् । चालू युरोकप २०२० को समूह ‘सी’मा शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्सले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।

हंगेरीको पुस्कार एरिना रंगशालामा नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेताले क्वार्टरफाइनलमा फर्ममा रहेको डेनमार्कविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रिक्वार्टरफाइनलमा डेनमार्कले शनिबार राति वेल्सलाई ४–० ले हराएको थियो । 

सन् २००६ को विश्वकप र सन् २००८ को युरोकपमा नेदरल्यान्ड्स समूह चरणबाटै बाहिरिएको थियो । यो दुवै फुटबल प्रतियोगितामा रुडभान डच टोलीको प्रमुख स्ट्राइकर थिए । ‘मैले समूह चरणमा खेलाडीहरूसँग राम्रोसँग कुरा गरेको थिएँ, उनीहरूलाई नकआउट चरणको खेल फरक हुने र गल्ती गर्न नहुने भनेको छु,’ रुडभानले भने, ‘यसकारण अब हामीले खेल गुमाउनुहुन्न र पछिल्ला गल्तीलाई सुधार्नुपर्छ ।’ म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडीसमेत रहेका रुडभानले चेक रिपब्लिकविरुद्ध खेल्न खेलाडीहरू मानसिक रूपमा तयार रहेको जनाएका छन् ।

समूह चरणमा सहभागी टोलीमध्ये सर्वाधिक आठ गोल गरेको नेदरल्यान्ड्सले सबै तीन खेल जितेको थियो । समूह ‘सी’को विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले युक्रेन, अस्ट्रिया तथा नर्थ मेसोडोनियालाई हराएको थियो । ‘समूह चरणमा एक खेलमा गल्ती हुँदा अर्को खेलमा सच्याउने अवसर थियो, तर नकआउट चरणमा सामान्य गल्तीले नै बाहिरिन्छ, यसकारण हामीले अब यस्तो गल्ती गर्न सुहाउँदै,’ खेलाडीलाई नकआउट चरणको महत्व बुझाउँदै रुडभानले भने ।

नेदरल्यान्ड्सका स्ट्राइकर लुक डी जोङले भने प्रतियोगिता गुमाइसकेका छन् । प्रशिक्षणको दौरान घुँडामा चोट लागेका कारण उनी बाहिरिएका हुन् । प्रशिक्षक फयाक डे बोएरले चेक रिपब्लिकविरुद्धको खेलका लागि प्रारम्भिक खेलाडी छनोट गरिसकेका छन् । नेदरल्यान्ड्सले चेक रिपब्लिकविरुद्ध खासै खेलाडी परिवर्तन गर्नेछैन । सहायक प्रशिक्षक रुडभानले सेट खेलाडीलाई महत्वपूर्ण खेलमा पहिलो सेटमै खेलाउने बताएका छन् । 


चेक रिपब्लिकका कप्तान भ्लादिमिर डारिडालाई सामान्य चोट लागे पनि नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रने पक्का छ । शनिबारको प्रशिक्षणमा उनी घाइते भएका थिए । समूह चरणमा दुई पहेँलो कार्ड व्यहोरेका कारण एक खेलमा प्रतिबन्धमा रहेका अलेस माटेजु पनि नेदरल्यान्ड्सविरुद्ध खेल्न सक्छन् । चेक रिपब्लिक समूह ‘डी’को उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको हो । 

चेक रिपब्लिकले इंग्ल्यान्डसँगको प्रतिस्पर्धामा उतारेका खेलाडीलाई पहिलो रोजाइमा राखेको छ । यद्यपि इंग्ल्यान्डसँग समूह चरणमा चेक रिपब्लिक १–० ले पराजित भएको थियो । चेक रिपब्लिकले आक्रामक शैली अपनाउने सम्भावना छ । नेदल्यान्ड्सविरुद्ध मुख्य स्ट्राइकरहरू लुकास मासोपुस्ट, भ्लादिमिर, सिक र जाकुब जान्कटो नै पहिलो रोजाइमा खेल्नेछन् । 

हेड टु हेड
– सन् २०१५ को अक्टोबरपछि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच पहिलोपटक खेल हुन लागेको हो । युरोकप २०१६ को छनोटमा नेदरल्यान्ड्सले चेक रिपब्लिकलाई ३–२ ले हराएको थियो । सो खेलको ८८औँ मिनेटसम्म बराबरी चलिरहँदा नेदरल्यान्ड्सका भ्लादिमिर स्मिचेरले विजयी गोल गरेका थिए । 

– युरोकपमा नेदरल्यान्ड्स र चेक रिपब्लिक तेस्रोपटक आमनेसामना हुन लागेका हुन् । पछिल्लो दुई भेटमा दुवैले टोलीले समान एक जित र ड्र नतिजा निकालेका छन् । 

– समग्रमा चेक र नेदल्यान्ड्सले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ११ प्रतिस्पर्धा गरेका छन् । जसमा नेदरल्यान्ड्सले चेक रिपब्लिकलाई पाँच खेलमा पराजित गरेको छ । चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई तीन खेलमा हराएको छ । यी दुईबीच तीन खेल बराबरी भएको छ । 


फ्याक्ट्स (नेदरल्यान्ड्स)
– नेदरल्यान्ड्सले सन् १९८८ मा युरोकप उपाधि जितेको थियो । त्यसयता डच टोेलीले सातपटक युरोकपमा भाग लिएको छ । जसमध्ये डच टोली दुईपटक मात्र नकआउट चरणमा पुगेको छ । नेदरल्यान्ड्स सन् २००० पछि युरोकपमा लगातार चार खेलमा जित निकाल्ने अभियानमा छ । 

–डच टोलीमा मुख्य खेलाडी मेम्फिस डेपाययले पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा नौ गोल गरेका छन् । यसका साथै उनले चारपटक साथीहरूलाई गोलका लागि पास उपलब्ध गराएका छन् । 

– जर्जिगिनिए विज्नाल्डुमले पछिल्लो २५ खेलमा १५ गोल गरी आफूलाई उत्कृष्ट फर्ममा रहेको पुष्टि गरेका छन् । सन् २०१९ देखि उनी डच टोलीको प्रारम्भिक सेटबाटै प्रतिस्पर्धा गरिरहेका छन् । 

फ्याक्ट्स (चेक रिपब्लिक)
युरोकप च्याम्पियनसिप फुटबल प्रतियोगिताको पछिल्लो तीन संस्करणमा चेक रिपब्लिक पहिलो चरणबाटै बाहिरएको थियो । चेक रिपब्लिकले पछिल्लोपटक मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेलेका सातमध्ये एक खेलमा मात्र जित निकालेको छ । 

– समूह चरणमा स्ट्राइकर प्याट्रिक सिकले नौ सट्स प्रहार गरेका थिए । उनले समग्रमा चेकका लागि ६७ प्रतिशत गोल प्रयास गरे । 

सुझावित समाचार