विप्लव नेकपाका नेता भन्छन्– राज्यले सहमति कार्यान्वयन गरेन

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत २१ फागुनमा सरकारसँग भएको ३बुँदे सहमतिप्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहे पनि राज्यले आफ्नो भूमिकालाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको उनले बताए । 

उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरू दुःखी भएको बताए । ३बुँदे सहमतिअनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ गर्ने काममा पनि ढिलासुस्ती भएको उनको गुनासो छ । 

विप्लव नेकपाले राजधानीमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै लामाले राज्य आफूले गरेको सहमतिप्रति उत्तरदायी भई कार्यान्वयनमा इमानदार बन्नुपर्ने बताए । 

उनले भने, ‘राष्ट्रिय राजनीतिमा निराशा छाएको छ । राजनीतिक पार्टीप्रति, सरकारप्रति, राजनीतिक व्यवस्थाप्रति अहिले मानिस सन्तुष्ट छैनन् । त्यसकारणले हाम्रो पार्टीले प्रगतिशील सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादमार्फत नागरिकमा छाएको निराशालाई हल गर्ने र एकपटक नेपाली जनता आफैँले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर हाम्रो पार्टीले अपिल गरेको छ, तर दुर्भाग्य हाम्रा ३बुँदे सहमति, सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरू अझै पनि जेलमा हुनुहुन्छ । छुट्नुभएको छैन । हाम्रो प्रतिबद्धताप्रति हाम्रो पार्टी इमानदार छ । कार्यान्वयनको दिशामा हाम्रो पार्टी गइरहेकै छ, तर राज्यले आफ्नो भूमिकालाई जसरी इमानदारीपूर्वक कार्यान्वयन गर्नुपथ्र्यो, ३बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएकोमा अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरू दुःखी छन् । यो पाटोमा राज्यले आफूलाई समयमा नै इमानदारीपूर्वक उभ्याओस् ।’

रक्तदान कार्यक्रममा दुई सय ५० जनाले रगत दिएको आयोजकले जनाएको छ ।
 

सुझावित समाचार