अरूलाई उन्मुक्तता सिकाउने ब्रिट्नीको ‘बन्दी’ जीवन

देश/विदेश

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

ब्रिट्नीले आफूलाई इच्छाविरुद्ध काम गर्न लगाएको र विरोध गरे बचेखुचेको स्वतन्त्रता पनि खोस्ने धम्की दिइएको आरोप लगाएकी छिन्

उनले निर्दोषिता र आफ्ना अनुभवका गीत गाइन् तर आफैँ स्वतन्त्र बाँच्न खोज्दा बन्धनमा परिन् । यो साता अदालतमा चर्चित पप गायिका ब्रिट्नीले अदालतलाई दिएको भावोत्तेजक बयानले उनले पुनः आफ्नो भाष्यमाथि नियन्त्रण जमाएकी छन् ।

भनिन्छ, पप स्टारहरू आफू चर्चित भएको उमेरमा स्थिर हुन्छन् । तर, सन् १९९८ मा आफ्नो डेब्युट गीत ‘बेबी ओन मोर टाइम’मा स्कुले पहिरन लगाएर चर्चामा आएकी ब्रिट्नीमा यो लागू हुँदैन । उनको पहिलो चार एल्बमले एक हुर्किंदो किशोरावस्थाको यथार्थपरक बदलिँदो चित्र प्रस्तुत गर्‍यो। 

पहिलो गीत सार्वजनिक भएको दुई वर्षपछि आएको ब्रिट्नीको पहिलो एल्बमका गीतमा उनी सरल र प्रेमिल थिइन् । सन् २००० मा सार्वजनिक ‘उप्स !...आई डिट इट अगेन’मा भने उनले सशक्तता र सजगता हासिल गरिन् । सन् २००१ मा सार्वजनिक एल्बमका गीतहरू उनले पनि सहलेखन गरिन् । १९ वर्षीया ब्रिट्नीले आफ्ना गीतमा यौनिकता (‘आई एम अ स्लेभ फर यु’) र आफूलाई बालबालिकाजस्तो व्यवहार गरेकोमा असन्तुष्टि (आई एम नट ए गर्ल, नट यट अ वुमन) मा व्यक्त गरेकी छन् । त्यसको दुई वर्षपछि सार्वजनिक एल्बम ‘इन द जोन’ मा उनी उमेरजन्य यौन उत्सुकता, कामुकता र तिनको प्रयोगबारे खुलेकी छिन् । 

ब्रिट्नीको सबैभन्दा ऊर्जाशील समय उनीबाट खोसेर अरूले नै दोहन गरे । उनीमाथि लागेको संरक्षकत्वको प्रबन्ध अन्त्य भएन भने बाँकी समय पनि खेर जान सक्छ ।
 

सांगीतिक दुनियाँमा ब्रिट्नीको आगमन हुँदा म ९ वर्षकी थिएँ । उनी मेरा लागि पप संगीतमा परिमार्जन गर्न सक्ने जुन क्षमता हुन्छ, त्यसको पहिलो अनुभव थिइन् । जब हामी ब्रिट्नीले सांगीतिक दुनियाँमा आगमन गरेको उमेरमा पुग्यौँ, तब केही भिन्नता महसुस हुन थाल्यो । २० को दशकको मध्यमा हिँडिरहेकी ब्रिट्नीले जुन उन्मुक्त जीवनशैली अपनाउन थालिन्, त्यो उनको किशोरकालीन नियन्त्रित छविभन्दा एकदम फरक थियो । यस समय कुनै पनि अनुभवहीन उन्मुक्त व्यक्तिबाट हुने गल्तीहरू उनबाट पनि भए । उनका गल्तीलाई कठोर मिडियाहरूले झन् ठूला बनाइदिए । उनले चाँडै विवाह गरिन् । अमेरिकाको दक्षिणी भेगकी श्रमिक परिवारमा हुर्केकी युवतीका लागि यो असामान्य थिएन । उनको पहिलो विवाह लगनगाँठो कस्सिएको ५५ घन्टामै टुटेको थियो । दोस्रो विवाहबाट दुई सन्तान जन्मिए । दोस्रो सन्तान जन्मेको दुई महिनाभित्रै उनको यो विवाह पनि टुट्यो । 

ब्रिट्नीको वयस्ककालीन छविप्रति समाजले खुसी प्रकट गरेन । सन् २००७ सम्म आइपुग्दा ब्रिट्नी नियन्त्रित छविलाई त्यागेर उन्मुक्त रूपमा प्रस्तुत हुन थालेकी थिइन् । उनलाई अरूले के सोच्लान् भन्ने वास्ता नभएको जस्तो देखिन्थ्यो । उनका कार्यले कुख्याति कमाइरहेको वेला उनलाई त्यसैले ऊर्जा दिएझैँ देखिन्थ्यो । यस्तो अवस्थामा उनलाई मानसिक समस्या पनि आएको हुन सक्छ । तर, उनका युवा प्रशंसकले आफ्नो आडम्बरहीन सेलिब्रिटीलाई स्विकारेका थिए । सन् २००८ मा मानसिक रूपमा विक्षिप्त भएको अवस्थामा अदालतले ब्रिट्नीलाई पिताको संरक्षकत्व दिएयता उनले नियन्त्रित जीवन बाँचिरहेकी छिन् । यसबीच ३० को दशकमा हिँडिरहेकी ब्रिट्नीको विकास रोकियो । उनका गीतमा कुनै नयाँपन पाइँदैन र उनको सार्वजनिक छवि किशोरकालमा भन्दा बढी नियन्त्रित देखिन्छ ।

फेब्रुअरीमा आएको द न्युयोर्क टाइम्सको वृत्तचित्र ‘फ्रेमिङ ब्रिट्नी स्पियर्स’ले संरक्षकत्वको विषयमा पुनः बहस सिर्जना ग¥यो । संरक्षकत्वको एउटै उद्देश्य व्यापारिक मुनाफामा मात्र रहेको पहिलेदेखिकै आरोप थियो । बिट्नीले अहिले आफूलाई संरक्षकत्वबाट मुक्त गर्न अदालतमा मुद्दा दायर गरेकी छिन् । उनले आफूलाई आफ्नो इच्छाविरुद्ध काम गर्न लगाएको र विरोध गरे बचेखुचेको स्वतन्त्रता पनि खोस्ने धम्की दिइएको आरोप लगाएकी छिन् । सबैभन्दा दुःखद आरोपअनुसार यी गायिकालाई पाँच वर्षदेखिका प्रेमी श्याम अस्घारीबाट बच्चा नहोस् भनेर आइयुडी (परिवार नियाजनको साधन) निकाल्ने अनुमतिसमेत दिइएको छैन । ब्रिट्नी अहिले ३९ वर्षकी भइन् । उनको सबैभन्दा ऊर्जाशील समय उनीबाट खोसेर अरूले नै दोहन गरे । यदि उनीमाथि लागेको संरक्षकत्व प्रबन्ध अन्त्य भएन भने बाँकी समय पनि खेर जान सक्छ । 

ब्रिट्नीले अदालतसँग २५ मिनेटसम्म फोनमार्फत दिएको बयान सार्वजनिक भएको छ । उनले व्यक्त गरेको भोगाइको धाराप्रवाह अभिव्यक्तिमा हालसम्म दबेको आक्रोश, मानसिक चोट र असन्तुष्टि बाहिर आएको छ । उनका दुःखद भोगाइका बाबजुद उनी बयानमा दरिलो सुनिन्थिन् । उनले आफ्नो घरमा एक मनोविद् पठाइदिन आग्रह गरेकी छिन् । ब्रिट्नीको अर्को सुनुवाइ १४ जुलाईमा हुँदै छ । उनी आफ्नो संरक्षकत्व अन्त्य गर्न वा कम्तीमा उनका पितालाई सह–संरक्षकका रूपमा हटाउन सफल हुन्छिन् कि हुँदिनन् हेर्न भने बाँकी नै छ । 

(स्नेप्स गार्जियनकी संगीत सह–सम्पादक हुन्)
गार्जियनबाट

सुझावित समाचार