‘फ्लाई दुबई’ घटनालाई उपयोग गर्ने रणनीतिमा नेतन्याहु

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

निर्वाचन नजिकिँदै गर्दा इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतन्याहु अझै पनि ‘देशको रक्षक’का रूपमा आफ्नो छवि सुधार्ने आशामा छन्

धबार १७० यात्रु बोकेको फ्लाई दुबईको विमान अपहरण गर्ने प्रयासको समाचारले इजरायलीमा युद्ध र आतंकको निरन्तर खतराप्रति सचेत गरायो । उक्त जहाजमा सवार यात्रुमा अधिकांश इजरायली थिए । मुख्य चालकको संयत र यात्रुहरूको चलाखी ठुलो विपत्ति टर्यो । उक्त घटनाको केही घण्टाअघि मात्र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अक्टोबर २७ मा हुने आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायलीलाई हानि पुर्याउने प्रयास हुन सक्ने चेतावनी दिँदै एउटा भिडियो सार्वजनिक गरेका थिए । सुरुमा उनका विरोधीले यसलाई सुरक्षासम्बन्धी चिन्तातर्फ मोड्ने प्रयास गरे । सन् २०२३ को ७ अक्टोबरमा भएको हमास आक्रमणपछि उनको कडा आलोचना भएको थियो ।

निर्वाचन नजिकिँदै गर्दा इजरायलको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेतन्याहु अझै पनि ‘इजरायलको रक्षक’का रूपमा आफ्नो छवि सुधार्न सकिने आशामा छन् । नेतन्याहुले विमान आक्रमणको घटनालाई तुरुन्तै आफ्नो चुनावी अभियानसँग जोडे । उनले आफ्ना सामाजिक सञ्जालका एकाउन्टमा ककपिटभित्र प्रवेश गर्ने एक यात्रु (जो नेतन्याहुका समर्थक निस्किए)लाई बोलाएर अँगालो हालेको र प्रशंसा गरेको भिडियो तथा तस्बिर पोस्ट गरे । नेतन्याहुसँगको भेटमा पनि यात्रुको सर्टमा रगतको टाटा अझै देखिन्थ्यो ।

हमास हमलाको बढ्दो आलोचना
जनस्तरबाट व्यापक आलोचना भए पनि नेतन्याहुले अक्टोबर ७ मा हमासले गरेको आक्रमणको दोष अस्वीकार गर्दै आएका छन् । उनले आक्रमणको कारणबारे छानबिन गर्न न्यायिक जाँच आयोग गठन गर्ने प्रयास रोकिदिए् । साथै आफूअनुकूल हुने गरी अर्को छानबिन समिति गठन गर्ने प्रयासमा पनि असफल भएका छन् । नेतन्याहुले बारम्बार सुरक्षा अधिकारीले उनलाई आसन्न आक्रमणबारे चेतावनी दिन नसकेको दाबी गर्दै आएका छन् । यदि अक्टोबर ७ को बिहानै ‘सुरक्षा अधिकारीले उनलाई ब्युँझाएको भए’ ‘परिस्थिति धेरै फरक हुने’ उनले दाबी गर्दै आएका छन् ।

तर, पछिल्ला रिपोर्टले भने नेतन्याहुको दाबीभन्दा फरक तस्बिर प्रस्तुत गर्छन् । धेरै सञ्चारमाध्यमले प्रसारण गरेका समाचारअनुसार इजरायलका सुरक्षा निकाय र स्वयं नेतन्याहुले पनि २०२३ को आक्रमण हुनुभन्दा केही दिनअघि नै सम्भावित आक्रमण हुन सक्ने स्पष्ट चेतावनी प्राप्त गरेका थिए । यस्ता चेतावनी छिमेकी अरब देशका अधिकारी (इजिप्टका गुप्तचर मन्त्री)देखि नेताहरू (संयुक्त अरब इमिरेट्सका मोहम्मद बिन जायद) बाट आएको पाइएको छ । हालै प्रकाशित एक नयाँ पुस्तकका अनुसार नेतन्याहुले आक्रमणका मुख्य योजनाकार तथा हमास नेता याया सिन्वारबाट नै कुनै पनि वेला आक्रमण गरिने प्रत्यक्ष चेतावनी प्राप्त गरेका थिए । तर, प्रधानमन्त्री र उनका उच्च सुरक्षा अधिकारीले गाजामा ‘भूकम्प’ (सिनवारकै शब्दमा) आउन सक्ने चेतावनीलाई प्यालेस्टिनीलाई आर्थिक सहुलियतका लागि बार्गेनिङको प्रयासका रूपमा बुझे ।

इजरायली निर्णयकर्ताहरू ‘कन्सेप्ट्जिया’ भनिने सोचको बन्धक भए । सन् १९७३ को अरब–इजरायल युद्धअघि इजरायली गुप्तचर संयन्त्रको असफलता वर्णन गर्न प्रयोगमा ल्याइएको कन्सेप्ट्जिया अवधारणाले शत्रुको क्षमता र मनसायलाई कम आँक्ने अवस्थालाई जनाउँछ । सन् २०२३ मा नेतन्याहुको ‘कन्सेप्ट्जिया’ अनुसार, हमासलाई कतारले पठाउने रकमले ‘शान्ति स्थापनाको काम (आलोचकहरूको शब्दमा ‘शान्ति किन्ने’) गर्थ्यो । नेतन्याहुले सन् २०१८ देखि कतारबाट गाजामा लाखौँ डलर आर्थिक सहयोग पठाउने निर्णयलाई स्वीकृति दिएका थिए । तर, खाँचोमा परेका गाजावासीलाई सहयोग गर्नुको साटो त्यो रकमको ठुलो हिस्सा हमासको सैन्य क्षमता तथा सैन्य संरचनामा खर्च भइरहेको इजरायली गुप्तचर निकायकै विश्वास थियो । 

नेतन्याहुलाई विपक्षीको चुनौती
आगामी निर्वाचनमा नेतन्याहुले विपक्षी राजनीतिक समूहहरूबाट कडा चुनौतीको सामना गर्ने मतसर्वेक्षणले देखाएको छ । उनको मुख्य प्रतिद्वन्द्वी ‘यासार’ पार्टी (जसको अर्थ सीधा वा स्पष्ट भन्ने हुन्छ) देखिएको छ । यस पार्टीको नेतृत्व इजरायली रक्षा बलका पूर्वप्रमुख गादी आइजेनकोटले गरिरहेका छन् । उनका छोरा गाजा युद्धमा मारिएका थिए ।

जनमत सर्वेक्षणले निरन्तर रूपमा निर्वाचनपछि ‘यासार’ सबैभन्दा ठुलो पार्टी बन्ने संकेत गरिरहेका छन् । यद्यपि, आइजेनकोटलाई गठबन्धन सरकार गठन गर्न भने कठिन हुन सक्छ, किनभने आइजेनकोटको समूह दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी पार्टीहरूको मिश्रित रूप हो, जसमा नेतन्याहुलाई सत्ताबाट हटाउने उद्देश्यबाहेक अन्य खासै साझा एजेन्डा छैनन् । नाफ्ताली बेनेट र याइर लापिडको नेतृत्वमा बनेको यस्तै प्रकारको गठबन्धन सन् २०२२ मा छिट्टै नै विघटन भएको थियो । 

यसका साथै धेरै जायानिस्ट (उग्र यहुदी विचार राख्ने) दलहरूले अर्को सरकार ‘पूर्ण रूपमा जायानिस्ट’ हुनुपर्ने माग गर्दै आएका छन् र उनीहरू अरब–इस्लामिक दल ‘रा’आम’ समावेश भएको गठबन्धनमा सहभागी हुन अस्वीकार गर्ने निश्चित छ । 

यसअघि सन् ०२२ पछि कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नसकेको अवस्थामा सन् ०२२ मा लगातार चारवटा निर्वाचन भए । त्यतिवेला ‘रा’आम’ दल नै सरकार गठनमा निर्णायक कडी साबित भएको थियो । सो दलको सहयोगमा बेनेट–लापिड सरकार गठन भएको थियो । यस्तोमा यसपटक पनि ‘रा’आम’बिना आइजेनकोट नेतृत्वको गठबन्धनले सरकार निर्माण गर्न नसक्ने अवस्था आउन सक्छ ।
 

नेसेट (इजरायली संसद्)मा स्थान पाउन आवश्यक न्यूनतम मतको सीमा (थ्रेसहोल्ड) पार गर्नुपर्ने केही साना दलको बाध्यता छ । साना दलले पाउने मतपरिणामको नतिजा पूर्वानुमान गर्न लगभग असम्भव छ । साना दलमा आवश्यक सीमा पार गर्न सकेनन् भने यसले चुनावी नतिजामा नाटकीय प्रभाव पार्न सक्छ । चुनावी सरगर्मी बढेसँगै भएका मतसर्वेक्षणले सरकार परिवर्तनको सम्भावनालाई निरन्तर संकेत गरिरहेका थिए । तर, पछिल्ला हप्ताका सर्वेक्षणले भने नेतन्याहु–समर्थक र विरोधी समूहबिचको प्रतिस्पर्धा कडा बनेको देखिएको छ ।

‘अक्टोबर ७’ को हमला मुख्य मुद्दा बन्दै 
चुनावको केही दिनअघि इजरायलीहरूले सन् २०२३ को ७ अक्टोबरमा भएको अतिवादी हमलाको तेस्रो वार्षिकी मनाउनेछन् । त्यो ‘कालो शनिबार’मा सबै उमेर समूहका करिब एक हजार २०० इजरायलीको हत्या गरिएको थियो । साथै, करिब २५० जनालाई अपहरण गरिएको थियो । अनगिन्ती इजरायली महिला बलात्कृत भएका थिए । आक्रमणमा परेका पूरै बस्ती लुटिएका तथा ध्वस्त पारिएका थिए । त्यसपछि गाजामा इजरायलले गरेको आक्रमणमा ७० हजारभन्दा बढी प्यालेस्टाइनीहरू मारिएका छन् । त्यसको ठुलो हिस्सा भग्नावशेषमा परिणत भएको छ । १२ लाख मानिस घरबारविहीन भएका छन् ।

अहिले चुनावी प्रचारप्रसारले गति लिएको समयमा ‘अक्टोबर ७’ को घटना सर्वत्र छाएको छ । धेरै उम्मेदवार पीडित परिवारका सदस्य वा युद्धमा घाइते भएका सैनिक छन् । पहिलोपटक मतदान गर्न लागेका युवामाझ गरिएको एक सर्वेक्षणले ‘अक्टोबर ७’को घटनाले उनीहरूको दृष्टिकोणलाई नाटकीय रूपमा दक्षिणपन्थी धारतर्फ धकेलिदिएको देखाएको छ । उनीहरू प्यालेस्टिनीप्रति थप कठोर विचार राख्न थालेको पाइएको छ । 
 

इजरायलीमाझ अहिले चुनावी परिणामले कुनै गठबन्धनको पक्षमा बहुमत नदिँदा गतिरोध ल्याइदेला भन्ने चिन्ता बढेको छ । गाजा युद्धलाई लिएर बढ्दो आलोचना, विश्वव्यापी रूपमा बढेको यहुदीविरोधी भावना (एन्टी–सेमिटिज्म)को लहर र हालै ‘फ्लाई दुबई’ विमान अपहरणको प्रयासबिच देशलाई सुरक्षित रूपमा अघि बढाउन सक्ने नेताको तत्काल आवश्यकता छ । नेतन्याहुले आफूलाई यी चुनौतीको सामना गर्न सक्ने व्यक्तिको रूपमा प्रस्तुत गर्ने प्रयास गर्नेछन् । 

(पोराट ‘अस्ट्रेलियन सेन्टर फर जुयिस सिभिलाइजेसन’मा आबद्ध अनुसन्धाता हुन् । उनी मोनास विश्वविद्यालयमा समेत अध्ययापन गर्छन् ।)  

द कन्भर्सेसनबाट

सुझावित समाचार