कम्युनिस्ट व्यवस्था सम्भव छ ?

बहस

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

भोट बटुल्न पार्टीको नाम कम्युनिस्ट राख्न छाडेका छैनन्, तर व्यवहार भने कट्टर धार्मिक दलाली र ठेकेदारी पार्टीको जस्तो देखिन्छ 

आजको विश्वमा कम्युनिस्ट व्यवस्था संकटमा छ, पुँजीवादले शासन गरिरहेको छ । शासन व्यवस्था मात्र होइन, सिंगो समाज व्यवस्था नै पुँजीवादी वैचारिकी तथा मूल्यहरूबाट चलिरहेको छ । यसको मतलब हाम्रा आनीबानी, जीवनशैली र संस्कृति पुँजीवादी ढाँचामा संरचित र सञ्चालित छन् । तीव्र पुँजीवादी संस्कृतिको विकास र विस्तारले आजको मानव एउटा ‘मेसिनरी वस्तुमा रूपान्तरण भएको छ । दर्शनशास्त्री जेसन ब्रेनन (सन् २०१४) मानिसको स्वाभाव नै स्वार्थी, लोभी र डरपोक खालको हुने हुँदा पुँजीवाद अपरिहार्य बन्न गएको तर्क गर्छन् । शक्ति र स्रोतमाथि चरम शोषण गरेर भोग, विलास र उन्मादमा रमाउनेहरूले पुँजीवादबाहेक अरू कल्पना नगर्नु वा गर्न नखोज्नु स्वाभाविक हो । 

श्रमिकले कमाएको अतिरिक्त मूल्य खाएर पुँजीपति वर्ग मोटाउँछन् । शोषित उत्पीडित मजदुरहरू एकजुट भएर संघर्ष गरे श्रमिकहरूले आफ्नो सत्ता निर्माण गर्न सक्छन् । समाजमा उत्पीडित र उत्पीडकबीच निरन्तर वर्गसंघर्ष चलिरहन्छ । यही वर्गसंघर्षबाट नै समानतामूलक तथा न्यायपूर्ण कम्युनिस्ट व्यवस्था जन्मिन्छ भनेर सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्र लेखेका थिए । साठीको दशकसम्म आइपुग्दा सोभियत संघ, चीन, क्युबालगायत विश्वका धेरै देशले कम्युनिस्ट व्यवस्था अवलम्बन गरिसकेका थिए । तथापि, सबैभन्दा प्रगतिशील मानिएको कम्युनिस्ट व्यवस्थाले किन विद्यमान विज्ञान र प्रविधिको युगमा पनि स्थान लिन नसकिरहेको होला ? यो वर्तमानले उठान गरेको यक्ष प्रश्न हो ।

दक्षिण एसियाको सन्दर्भमा हेर्दा यहाँको जात–व्यवस्थालाई कम्युनिस्टहरूले सही ढंगले विश्लेषण गर्न सकेनन् । अर्थात्, जातको गहन मुद्दालाई वर्गीय समस्याअन्तर्गत सीमित गरिदिए । सारमा, युद्धमा ढाल र सत्तामा पुग्ने भर्‍याङ बनाइदिए, उत्पीडित दलित समुदायलाई । 

कस्तो हो कम्युनिस्ट व्यवस्था ? : कम्युनिस्ट प्रणाली द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका आधारमा निर्माण र पुनर्निर्माण हुँदै जान्छ । यसको मतलब मार्क्स लेनिनले परिकल्पना गरेको समाजवाद आजको सन्दर्भमा हुबहु लागू हुन सक्दैन । तर, एउटा कम्युनिस्ट व्यवस्था निर्माणका लागि चाहिने आधारभूत मान्यता जहिल्यै ग्रहणीय हुन्छन् । यी मान्यतामध्ये सबैभन्दा महत्वपूर्ण पक्ष निजी सम्पत्तिको अन्त्य हो । उन्नाइसौँ र बीसौँ शताब्दीमा सम्पत्तिको स्वामित्व राज्यकेन्द्रित हुने ढाँचामा बहस र अभ्यास केन्द्रित थियो । तर, अहिले सम्पत्तिको स्वामित्व समुदायमा राख्नुपर्ने बहसले स्थान लिएको छ । किनकि, राज्यकेन्द्रित समाजवादी व्यवस्था प्रायः निरंकुशतातिर धकेलिने सोभियतसंघलगायतका अनुभवले सिद्ध गरिसकेको छ । 

अर्को महत्वपूर्ण मान्यता भनेको सामूहिक सहकार्यमा सञ्चालन हुने पद्धति हो । जब मानिसहरूको स्वामित्व सामूहिक वा सामुदायिक बन्छ, तब उनीहरू आपसमा मिलेर उत्पादनमा सहभागी हुन्छन् । क्षमताअनुसारको काम र आवश्कताअनुसारको उपभोग गर्ने पद्धति लागू हुन्छ । व्यक्तिगत क्षमताको ठाउँमा जब सामूहिक प्रयत्नबाट कुनै सिर्जना वा अन्वेषण गरिन्छ, त्यसले स्वाभाविक फड्को मार्ने स्थिति पैदा हुन्छ । सहकार्यको ढाँचाले आपसी प्रेम, सम्मान तथा मानवीय भावनालाई नयाँ उचाइमा पुर्‍याइदिन्छ । 

अझ महत्वपूर्ण, कम्युनिस्ट प्रणाली तथ्य, तर्क र विज्ञानमा आधारित हुन्छ । यो व्यवस्थामा धर्म, अन्धविश्वास, कुरीति, कुसंस्कार आदिको स्थान रहँदैन । यसको मतलब धार्मिक आस्था राख्नेमाथि घृणा गरिने होइन । बरु उनीहरूलाई कम्युनिस्ट परिपाटीले वस्तुवादी र तार्किक भएर गलत आस्था र विश्वासमाथि प्रश्न उठाउन अभिप्रेरित गर्छ । त्यसकारण असली कम्युनिस्ट बन्नु आफूलाई भौतिकवादी र तार्किक बनाउँदै लैजानु हो । अर्को, कम्युनिस्ट हुनु भनेको श्रमप्रति सम्मान र प्रतिबद्ध भएर निरन्तर लागिपर्नु हो । आजसम्म मान्छेले गरेका जेजति उन्नति छन्, ती सबै श्रमकै उपज भएको कम्युनिस्टहरूको ठम्याई हो । त्यस्तै, कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी हुन्छन् । उनीहरू संसारभरका मानिसहरूबीच सहकार्य, समानता र भाइचारा सम्बन्ध स्थापित गर्न चाहन्छन् । त्यसैले विश्वक्रान्ति उनीहरूको सर्वाधिक महत्वपूर्ण एजेन्डा मानिन्छ । समाजमा वर्ग रहेसम्म संघर्ष हुने कुरालाई कम्युनिस्टहरूले केन्द्रीय मान्यताको रूपमा आत्मसात् गर्छन् ।

किन टिकिरहन्छ पुँजीवाद ? : आफ्नै विशेषतामा मात्र चल्न नसकेर कैयौँ समाजवादी मूल्यलाई ग्रहण गर्दै भरथेग गरिरहेको छ, आजको पुँजीवाद । स्क्यान्डिभियन मुलुकहरूले अझ धेरै समाजवादी मान्यतालाई आत्मसात् गरिरहेको पाइन्छ । पुँजीवादको मुख्य नेतृत्व मानिएको अमेरिकाले पनि कैयौँ समाजवादी विशेषतालाई अवलम्बन गर्न बाध्य छ । तर, संसारभरि झन्डै सबै देशका शासन प्रणाली तथा समाज व्यवस्था मूलभूत पुँजीवादी मान्यतामा आधारित छन् । हिजो कम्युनिस्ट व्यवस्था अपनाइसकेका देशहरू पनि पुँजीवादी ढाँचामा ढल्किँदै गइरहेको स्थिति छ । 

पुँजीवादको मूलभूत मान्यता भनेको प्रतिस्पर्धामा आधारित व्यवस्था हो । यसले व्यक्ति स्वतन्त्र ढंगले काम गरेमा मात्र उसको प्रतिभा र सक्षमता प्रस्फूटन हुने विश्वास गर्छ । ‘हरेक मान्छे आफ्नो लागि जन्मिएको हो’ भन्ने चरम व्यक्तिवाद पुँजीवादको खास चरित्र हो । यही चरित्रको कारण पुँजीवादी व्यवस्थामा व्यक्ति मनग्ये नाफा कमाउन स्वतन्त्र र लालायित हुन्छ । आजको दुनियाँमा केही मुठ्ठीभर मानिस खर्बपति बन्ने र अधिकांश मानिस सडकमा भौँतारिनुपर्ने अवस्था सिर्जना हुनु यसैको परिणाम हो । जतिसक्दो बढी नाफा कमाएर छिटो र माथिल्लो स्तरको धनी बन्ने ध्याउन्नमा पुँजीपतिहरूले मानिसमाथि मात्र शोषण गरिरहेका छैनन्, प्रकृतिमाथि भइरहेको दोहन पनि उत्तिकै डरलाग्दो छ ।

अबको कम्युनिस्ट व्यवस्था निर्माण गर्न चाहिएको छ, गतिशील र इमानदार नेतृत्व । किनकि, गतिशील नेतृत्वले आजको वस्तुगत सापेक्षतामा मार्क्सवादलाई पुनर्व्याख्या गर्न सक्छ । इमानदार र मानव मुक्तिका निम्ति कटिबद्ध नेतृत्वले उत्पीडित जनमानसमा व्याप्त निराशालाई ऊर्जामा परिणत गर्न सक्छ ।

ताज्जुब लाग्दो त के हो भने यति धेरै उत्पीडनकारी व्यवस्थालाई सिंगो मानव जातिले चाहेर÷नचाहेर अंगीकार गरिरहेको छ । विशाल मानव समुदायलाई निरन्तर प्रभुत्व स्वीकार गराउने वातावरण निर्माण गर्न सक्नु अवश्य पुँजीवादीहरूको सफलता हो । यसका लागि पुँजीपतिहरूले आफ्नो अकुत सम्पत्तिको आडमा शासकहरूलाई मात्र प्रभावित गरेका हुँदैनन्, राज्यका नीति तथा संरचनालाई समेत कब्जा गरिरहेका हुन्छन् । अझ त्यस प्रकारको भाष्य सिर्जना गर्न मिडिया, प्राज्ञिक संस्था तथा समग्र राज्यसंयन्त्रलाई प्रयोग गरिरहेका छन् । उदारवादी पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा पनि तत्कालीन पुँजीपतिहरूको चाहनाअनुसार नीति बनाउन बाध्य हुनु यसैको द्योतक हो ।

कसरी टाक्सियो कम्युनिस्ट आन्दोलन ? : माक्र्सवादी सिद्धान्तको आधारमा हेर्ने हो भने कम्युनिस्टहरू आजको संकटमा पुग्नुको मूल कारण आन्तरिक हो । बाह्य पक्ष सहायक मात्र हुन्छ । उनीहरूको एउटा गम्भीर कमजोरी माक्र्सवादी विचारलाई समयसापेक्ष गतिशील विचारका रूपमा विकास गर्न नसक्नु हो । जसको अभावमा कम्युनिस्ट आन्दोलनले व्यापक जनाधार पाउन सकेको छैन । दक्षिण एसियाको सन्दर्भमा हेर्दा यहाँको जात–व्यवस्थालाई कम्युनिस्टहरूले सही ढंगले विश्लेषण गर्न सकेनन् । अर्थात्, जातको गहन मुद्दालाई वर्गीय समस्याअन्तर्गत सीमित गरिदिए । सारमा, युद्धमा ढाल र सत्तामा पुग्ने भर्‍याङ बनाइदिए, उत्पीडित दलित समुदायलाई । अर्को महाभूल सत्तामा मूल नेतृत्व नै जाने र सुखसयलमा लिप्त भएर आफ्नो वर्गीय धरातललाई भुलिदिने भयो । विचलनको भासमा डुब्दै जाँदा अन्ततः उनीहरू चरम सत्तालोलुप र स्वेच्छाचारी बन्न पुगेका छन् । परिणामतः कम्युनिस्ट नेतृत्व पुँजीवादी गोलचक्करमा फस्दै आएका छन् । एकचोटि पुँजीवादी भासमा थचारिसकेपछि फेरि बौरिएर कम्युनिस्टहरूले क्रान्ति हाँकेको इतिहास पाइँदैन । बरु उल्टै आमजनमानसमा व्यापक निराशा पैदा गरिदिएको छ । 

सन् १९२५ मा भारतीय कम्युनिस्ट पार्टी गठन भयो । नेपालमा सन् १९४९ मा कम्युनिस्ट पार्टीको उदय भयो । अफसोच ! कम्युनिस्टहरूले भन्ने गरेजस्तो क्रान्ति दक्षिण एसियामा कुनै देशले पनि गर्न सकेका छैनन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट व्यवस्था स्थापना गर्ने लक्ष्य लिएका यी पार्टीहरू उल्टै धाँजा फाटेझैँ अनेकौँ टुक्रामा विभाजित छन् । भ्रम छरेरै भए पनि भोट बटुल्न पार्टीको नाम कम्युनिस्ट राख्न भने छोडेका छैनन् । तर, व्यवहार कट्टर धार्मिक दलाली र ठेकेदारी पार्टीजस्तो देखिन्छ । जातका कारण नरसंहार र हिंसा हुँदासम्म अरू त छोडौँ, आफूलाई क्रान्तिकारी भन्ने दलहरूले एउटा विज्ञप्ति निकाल्ने आँटसमेत गर्दैनन् । वर्गका ठुल्ठूला गफ दिने तर पार्टीलाई न समावेशी बनाउने, न लोकतान्त्रिक । एउटा अध्यक्षले वर्षौं पार्टीलाई आफ्नो कब्जामा राखिदिँदा नयाँ नेतृत्व र आन्दोलन विकास हुने ठाउँ बन्द भएको अवस्था छ । 

आगामी बाटो के ? : विद्यमान विश्व व्यवस्थालाई हेर्दा पुँजीवाद चरम विकासमा पुगेर झर्दो क्रममा छ । आफ्नो जालझेलपूर्ण व्यवस्था टिकाउन खर्बौं खर्चिएर भ्रमपूर्ण भाष्यहरू पुनरुत्पादन गर्ने सिलसिला जारी छ । यस्ता चलखेल गरी आफ्नो शोषणको सत्ता टिकाइराख्न उनीहरूसँग पैसा, पावर र समय पर्याप्त छ । तर, कम्युनिस्टहरूसँग धारिलो द्वन्द्वात्मक भौतिकवादी विचार छ । पुँजीवादी व्यवस्थाबाट थिचिएको विशाल श्रमजीवी शक्ति छ । श्रमजीवीले आर्जेको विज्ञान, प्रविधि र सञ्चारको उच्चतम विकास छ । जसबाट कैयौँ समाजवादी भ्रूणहरू पैदा भइरहेका छन् । 

अबको कम्युनिस्ट व्यवस्था निर्माण गर्न चाहिएको छ, गतिशील र इमानदार नेतृत्व । किनकि, गतिशील नेतृत्वले आजको वस्तुगत सापेक्षतामा मार्क्सवादलाई पुनर्व्याख्या गर्न सक्छ । इमानदार र मानव मुक्तिका निम्ति कटिबद्ध नेतृत्वले उत्पीडित जनमानसमा व्याप्त निराशालाई ऊर्जामा परिणत गर्न सक्छ । त्यसका लागि विद्यमान कम्युनिस्ट आन्दोलनको कोर्स नै बदल्न जरुरी छ । तब मात्र आजको वैचारिक अन्योलतामा फसेको कम्युनिस्ट आन्दोलनलाई दिशाबोध गर्न सकिन्छ । जुन गतिमा आज विज्ञान प्रविधिले फड्को मारिरहेको छ, पुँजीवादले त्यसको अत्यधिक प्रयोगबाट नै अकुत मुनाफा जम्मा गरिरहेको छ । त्यसलाई राजनीतिक जागरणमार्फत श्रमिक तथा उत्पीडित वर्ग समुदायमाझ पुर्‍याउनु सर्वाधिक महत्वपूर्ण काम हो । वैज्ञानिक विचारले सुसज्जित संगठन मात्र पुँजीवादसँग जुध्ने भौतिक शक्तिमा रूपान्तरित हुन सक्छ । साँच्चिकै मुक्तिकामीहरू सचेत र संगठित भई महाअभियानमा लामबद्ध हुने हो भने कम्युनिस्ट व्यवस्था सन्निकट नै देखिन्छ । 

सुझावित समाचार