स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या

शनिबार, १२ असार, २०७८
डिजिटल संस्करण
स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या

वडाध्यक्ष सूर्य कुमार श्रेष्ठ

वडाध्यक्षको हत्या गरी हिलोमाटोमा पुरियो

सर्लाहीको ईश्वरपुरमा स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या भएको छ । शुक्रबार राति करिब ११ बजेतिर ईश्वरपुर नगरपालिका–३, का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको हो । वडाध्यक्ष श्रेष्ठ सोही वडाकाे भक्तिपुरनिवासी हुन् । वडाध्यक्ष र डोजर चालकबीच विवाद भएको र चालकले डोजरको बकेटले हानेर श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । 

'उनीहरू पहिला घटनास्थलनजिकैको होटेलमा बसेर खाजा खाएका रहेछन् । खाजा खाँदै जाँदा उनीहरूबीच मनमुटाव सुरु भएछ ।' प्रहरी उपरीक्षक राठौरले भने, 'खाजा खाइसकेपछि दुवैजना घरतर्फ लागेछन् । घरतर्फ जाँदै गर्दा बाटाेमा उनीहरूबीच थप भनाभन भएछ । दुवैजनाबीच विवाद हुँदा चालकले अचानक नजिकै रहेको स्काभेटर स्टार्ट गरी बकेटले हानेर वडाध्यक्षको हत्या गरी हिलो माटोले पुरेको देखिन्छ ।' 

घटनाको जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले वडाध्यक्ष श्रेष्ठलाई अचेत अवस्थामा हिलो माटोले पुरेको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक राठौरले बताए । वडाध्यक्ष श्रेष्ठलाई अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ निवासी ३५ वर्षीय  प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजार विगाहका ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । 

दाहाललाई घटनालगत्तै नियन्त्रणमा लिइएको हाे भने फरार रहेका जेसिबीचालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । 

अन्दाजी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । अप्रत्यासित रूपमा घटेको घटनाका कारण गाउँ नै शोकमा परेकाे छ । घटनाको खास कारण पत्ता नलागेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार