दक्ष चिकित्सा पत्रकारको खाँचो

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण

चिकित्सा क्षेत्रसम्बन्धी सही र तथ्यपरक जानकारी आममानिसमाझ पुर्‍याउन पनि चिकित्सा पत्रकारितामा लगानी आवश्यक छ 

पत्रकारिता सतहमा देखिने छिपछिपे पानी मात्र होइन होला, यो त समुद्रजस्तै फराकिलो र गहिरो पो हुनुपर्ला । यसका आयाम पनि विशिष्ट छन् । यो आफैँमा बहुआयामिक छ । अहिले पत्रकारितामा एउटा निश्चित बिटको जिम्मेवारी लिएर त्यसैमा केन्द्रित भई रिपोर्टिङ गर्ने प्रवृत्ति नेपालमा पनि फस्टाउँदो अवस्थामा छ । काठमाडौंमा त बिटकेन्द्रित रिपोर्टिङ सुरु भएको निकै भइसक्यो, मोफसलमा पनि अभ्यास हुँदै गइरहेको छ । पत्रकारितामा प्रत्यक्ष संलग्न नभए पनि पाठकको रूपमा पत्रकारितालाई नजिकबाट नियाल्दै आएको छु । हामी मेडिकल विद्यार्थीलाई धेरैले सोध्ने प्रश्नले मलाई यो लेख लेख्न बाध्य बनायो । 

चिकित्सा पत्रकारिता के हो भनेर हामीलाई धेरैले सोध्ने गर्नुहुन्छ । अन्य बिटका पत्रकारिताजस्तै चिकित्सा पत्रकारिताचाहिँ विशुद्ध स्वास्थ्यसँग सम्बन्धित पत्रकारिता हो भनेर जवाफ दिने गर्छौं । स्वास्थ्य र चिकित्साशास्त्रसम्बन्धी रोचक तथा नयाँ तथ्य र मास मिडियामा स्वास्थ्यसम्बन्धी विषयहरूको प्रसार नै चिकित्सा पत्रकारिता हो । यसको मुख्य ध्येय मिडिया आउटलेटमार्फत आममानिसमा स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्नु नै हो । आमसञ्चारका माध्यममा स्वास्थ्यसम्बन्धी जानकारी प्रकाशित हुनु नै चिकित्सा पत्रकारिता हो । चिकित्सा र स्वास्थ्यसम्बन्धी विषयलाई आकर्षक र विविधतापूर्ण शैलीमा पस्केर आममानिसलाई सूचनातर्फ आकर्षित गर्न सक्नुपर्छ । किनकि, यस्ता विधिले नागरिकमा स्वास्थ्यसम्बन्धी नयाँ जानकारी पु¥याउन र स्वास्थ्यसम्बन्धी दृष्टिकोण फराकिलो बनाउन मद्दत पुग्छ । आमनागरिकको व्यवहारमा स्वास्थ्य सेवाको उपयोग, क्लिनिकल अभ्यास र स्वास्थ्य नीतिमा परिवर्तन गर्न पनि यसले योगदान पुर्‍याउन सक्छ ।

मिडियाले आमनागरिकमा स्वास्थ्य क्षेत्रको जानकारी फैलाउन महत्वपूर्ण भूमिका खेल्छ । उपलब्ध स्वास्थ्य जानकारी र त्यसको यथार्थ स्वास्थ्य क्षेत्रमा व्यापक फरक हुन्छ । मिडियामा के प्रकाशित हुन्छन्, त्यसले बिरामीको स्वास्थ्यको निर्णयमा महत्वपूर्ण असर पार्छ । यसले स्वास्थ्य सेवाको अवधारणाकै बारे पनि सर्वसाधारणको बुझाइलाई असर पार्न सक्छ । स्वास्थ्यसम्बन्धी रिपोर्टिङमा व्यावसायिकताको सख्त आवश्यकता छ । जसले यस विषयको विज्ञता र स्वायत्तताका साथै सेवा लिने सेवाग्रही र सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्छ । अव्यावसायिक र गलत पत्रकारिताले झुटा आशा र अनावश्यक डर दुवै उत्पन्न गर्न सक्छ । 

हामीकहाँ ठिकठाक अवस्थामा अस्पताल आएको बिरामीको मृत्यु कसरी भयो भनेर भिडले तोडफोड गर्ने, स्वास्थ्यकर्मीमाथि हिंसा गर्ने अनि पत्रकारले पनि भिडलाई सुनेर रिपोर्टिङ गर्दिने विडम्बनापूर्ण अवस्था छ 

पत्रकारिता एक विचार हो, जसले आमनागरिकलाई सन्तुलित र वस्तुगत दृष्टिकोण दिन्छ । पत्रकारिता भनेको सबैलाई बुझ्न सक्ने विषयहरूको व्याख्या गर्नु हो जस्तो लाग्छ । गएका केही वर्षमा चिकित्सा विज्ञानमा धेरै नयाँ तथ्य, खोज, अनुसन्धान र जनचेतनाका विषय दिनप्रतिदिन आउने गरेको छ । स्वास्थ्यसँग सम्बन्धित सूचना र यसको नवीनतम विकासमा नागरिकको सोचमा व्यापक विकास हुनु जरुरी छ । यसका लागि राम्रो लेखनको आवश्यकता महसुस हुन्छ । जसले वैज्ञानिक कथाहरू बुझ्न, वैज्ञानिक तथ्य केलाउन, त्यसलाई चाखलाग्दो तरिकाले पस्कन र नागरिकमा सान्दर्भिक चिकित्सकीय अनुसन्धान र जानकारी प्रवाह गराउन सहयोग पुर्‍याउन सक्छ । सरकारले चिकित्सा पत्रकारितालाई खासै प्रोत्साहन नदिएको हो कि भन्ने लाग्छ । स्वास्थ्यसम्बन्धी वास्तविक आधारभूत तथ्य आम–जनमानसलाई जानकारी नहुनु र जानकारी गराउन नसक्नु दुवै दुःखद पक्ष हुन् । 

सरकारले चिकित्सा पत्रकारिताको विशेष तालिम हाम्रा पत्रकार साथीहरूलाई दिन जरुरी छ । हाम्रो शिक्षा प्रणालीमा पनि स्वास्थ्य जनचेतनाका विषयलाई उति प्राथमिकता दिइएको छैन । अहिलेको सन्दर्भमा यो महत्वपूर्ण आवश्यकता भइसकेको छ । अहिले जारी युरोकपमा डेनमार्कका मिडफिल्डर क्रिस्चियन एरिक्सन खेलका दौरान मैदानमै ढलेको हामीले देख्यौँ । मैदानमै उनको हृदय गति रोकिन पुग्यो । एरिक्सन खेलमैदानमै ढलेपछि डेनमार्कका कप्तान साइमन क्येरले मेडिकल टिम आउनुअगाडि नै ‘सिपिआर’ सुरु गरिसकेका थिए । र, त्यही विधिलाई पछि मेडिकल टिमले पनि निरन्तरता दिएर एरिक्सनलाई आस्पताल पुर्‍याइयो र उनलाई बचाउन सकियो । चिकित्सा क्षेत्रका लागि पनि यो एउटा ऐतिहासिक र अविस्मरणीय घटना हो । 

उनलाई चिकित्सकको टोलीले के गरेका छन् भन्ने मिडिया र दर्शकले नदेखून् भनी डेनिस खेलाडीहरूले गोलो घेरा बनाई छेकेको दृश्य हामीले टेलिभिजनमा देख्यौँ । स्वास्थ्यकर्मीबाहेक अरूका लागि यो दृश्य दुःखद (ट्रम्याटिक) हुन सक्छ । तर, यसबाट स्वास्थ्य उपचारमा गोपनीयताको आवश्यकता हामीले बुझ्नुपर्ने हुन्छ । यता, हाम्रो देशमा अस्पतालको आइसियू कक्षको ढोका लगाएर ‘सिपिआर’ विधिबाट उपचार गर्दा छाती र पेट थिची–थिची डाक्टरले मारे भन्ने आरोप र कुटाइ खानुपर्ने अवस्था छ । यो यहाँका स्वास्थ्यकर्मीले भोगिरहेको दुःखद यथार्थ हो । अर्को भनेको ‘सिपिआर’को तालिम आमनागरिकलाई पनि दिनुपर्छ भन्ने खेलका दौरान भएको यो घटनाले पनि पुष्टि गर्छ । त्यहाँका खेलाडीले सिपिआर विधिको प्रयोग जान्दैनथे भने मैदानमा आँखैअगाडि आफ्ना सहकर्मी गुमाउन पर्न सक्थ्यो । 

यसले पनि के पुष्टि गर्छ भने सिपिआर विधिको तालिमले धेरै मानिसको ज्यान बचाउन सकिन्छ । हुन त यहाँ आमनागरिकको कुरा गरिरहँदा भएका स्वास्थ्यकर्मीमध्ये ७० प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी नै सिपिआर विधिको तालिमबाट वञ्चित छन्, तालिमप्राप्त छैनन् । युरोकपजस्ता प्रतिष्ठित प्रतियोगितामा सहभागी सबै खेलाडीको खेलअघि नै सम्पूर्ण स्वास्थ्य परीक्षण गर्ने गरिन्छ । यति हुँदाहुँदै पनि खेलमैदानमा यस प्रकारको अप्रिय घटना हुनुले चिकित्सा विज्ञान कत्तिको अप्रत्याशित क्षेत्र हो र स्वास्थ्यकर्मीले सामना गर्नुपर्ने अप्रत्याशित जोखिमको दायरा कति रहेछ भन्ने जगजाहेर गराएको छ । तर, हामीकहाँ ठिकठाक अवस्थामा अस्पताल आएको बिरामीको मृत्यु कसरी भयो भनेर भिडले तोडफोड गर्ने, स्वास्थ्यकर्मीमाथि हिंसा गर्ने अनि पत्रकारले पनि भिडलाई सुनेर रिपोर्टिङ गर्दिने विडम्बनापूर्ण अवस्था छ । त्यसैले यस्ता विषयमा दक्ष पत्रकारको खाँचो छ । समस्यालाई चिर्न पनि चिकित्सा पत्रकारितामा लगानी आवश्यक छ । होइन भने तथ्यहीन व्याख्या विश्लेषण गरिदिँदा जनमानसमा चिकित्सा क्षेत्रप्रति वितृष्णा जाग्दै जान्छ र विश्वास नै हराउन सक्छ । स्वास्थ्यकर्मी सधैँ प्रायोजित हिंसाबाट लक्षित हुन सक्छन् । 

(चिकित्सक सिंह नेपाल चिकित्सक संघका सहसचिव हुन्) 

सुझावित समाचार