चीनमा शिक्षाले पनि तय गर्छ, नेतृत्वको सफलता

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

चीनका सबैभन्दा शक्तिशाली मानिने राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली कच्याङ दुवैले विद्यावारिधि गरेका छन् 

चिनियाँ कम्युनिस्ट पार्टीले १ जुलाईमा स्थापनाको सयौँ वार्षिकोत्सव मनाउँदै छ । सयवर्षे इतिहासमा चिनियाँ कम्युनिस्ट पार्टीले भोगेको रूपान्तरणबारे पनि चर्चा भइरहेको छ । यहाँ सो पार्टीको शिक्षासम्बन्धी धारणामा आएको परिवर्तनबारे चर्चा गर्ने प्रयास गरिएको छ । माओको सांस्कृतिक क्रान्तिले चीनको शिक्षा व्यवस्थामा गम्भीर व्यवधान उत्पन्न गरेको थियो । सन् १९६५ देखि सन् १९७७ बीच एक दशकभन्दा लामो समय कलेजस्तरको प्रवेश परीक्षा (गाओकाओ) नै सञ्चालन भएन । त्यसवेला चीनको सम्पूर्ण शिक्षा प्रणाली नै कठिन मोडमा पुगेको थियो । माओको मृत्युपछि देङ सियाओपिङले कलेज प्रवेश परीक्षा सुचारु गरे र औपचारिक शिक्षामा राज्यबाट भएको व्यवधान हट्यो । 

एक दशकभन्दा बढी समयमा भएको कलेजस्तरको प्रवेश परीक्षामा ५७ लाख चिनियाँ विद्यार्थीले भाग लिएका थिए । यी विद्यार्थी सन् १९७८ मा देङले सुरु गरेको ‘सुधार र खुलापन’को नीति कार्यान्वयन गर्ने आधार बनेका थिए । सन् १९८२ मा स्टेट काउन्सिलले सरकारी ओहोदाका सम्बन्धमा संस्थागत सुधार सुरु ग¥यो । युवा तथा शिक्षित मन्त्री तथा अधिकारीलाई उच्च ओहोदा दिन प्रोत्साहित गर्ने विषय पनि समेटिएको थियो । सन् १९८२ को प्रशासनिक सुधारको बलमा सन् १९८२ देखि सन् १९८७ को अवधिमा चिनियाँ सरकारमा कलेज शिक्षित मन्त्री र उपमन्त्रीको हिस्सा ३८ प्रतिशतबाट बढेर ५९ प्रतिशत पुग्यो । अझ ४५ प्रतिशत मन्त्रीले इन्जिनियरिङ शिक्षा लिएका थिए । जुन पाँच वर्षअघि दुई प्रतिशत मात्र थियो । जब कि माओको समयमा कुनै उच्च ओहोदामा पुग्नका लागि नेतासँग ‘राजनीतिक कार्य र अनुभव’ तथा कानुनको प्रशिक्षण पर्याप्त मानिन्थ्यो । 

माओको सांस्कृतिक क्रान्तिले औपचारिक शिक्षाभन्दा व्यावहारिक ज्ञानलाई महत्व दिएको भए पनि देङको आगमनले औपचारिक शिक्षाले महत्व पायो र सरकारमा शिक्षित मन्त्रीहरू प्रवेश गर्ने क्रम सुरु भयो 

सन् १९९७ देखि चीनमा इन्जिनियरिङ वा अन्य प्राविधिक शिक्षा पाएका मन्त्रीको प्रतिनिधित्व बढेर ७० प्रतिशतसम्म पुग्यो । प्रान्तीय गभर्नरमध्ये ७७ प्रतिशतले प्राविधिक विषय पढेका थिए । सन् १९९७ पछि भने राजनीतिमा प्राविधिक शिक्षा लिनेको आधिपत्य मत्थर हुन थाल्यो । सन् २००८ मा ४१ प्रतिशत मन्त्रीले प्राविधिक शिक्षा पास गरेका थिए, जुन सन् २०१३ मा झरेर १२ प्रतिशतमा झर्यो । चिनियाँ कम्युनिस्ट पार्टीको वर्तमान १९औँ राष्ट्रिय कंग्रेसको नेतृत्ववर्गमा मानविकी र सामाजिक विज्ञानमा डिग्री लिएका नेताको वर्चस्व छ । राष्ट्रिय कंग्रेसलाई चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय मानिन्छ । हरेक पाँच वर्षमा एकपटक यसको बैठक बस्ने गर्छ । देशको सबैभन्दा शक्तिशाली दुई नेता राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली कच्याङसँग डक्टरेटको डिग्री छ । 

चीनको वर्तमान नेतृत्ववर्ग मोटामोटी रूपमा दुई गुटमा बाँडिएका छन्, ‘तुआन पाई’ र ‘प्रिन्सेलिङ्स’ । ‘तुआन पाई’लाई ‘कम्युनिस्ट युथ लिग गुट’ वा ‘हु जिन्ताओ गुट’ पनि भनिन्छ । यस वर्गका नेताहरू सामान्य पृष्ठभूमिबाट उठेर आजको स्थानमा आइपुगेका हुन् र यसका हर्ताकर्ता हु जिन्ताओलाई मानिन्छ । यस गुटका अधिकांश नेता कम्युनिस्ट युथ लिगमा राजनीति गरेर माथि उठ्न सफल भएका हुन् । ‘प्रिन्सेलिङ्स’ गुटमा भने पुराना कम्युनिस्ट नेताका सन्तान छन् । उनीहरूमध्ये अधिकांशको सम्बन्ध सन् १९३५ को लङ मार्चमा बचेका १० हजार लालसेनाका सेनानीसँग छ । 

वर्तमान राष्ट्रपति सी चिनफिङ आफैँ पनि ‘प्रिन्सेलिङ्स’ गुटका सदस्य हुन् । उनी पूर्वउपप्रधानमन्त्री र पोलिटब्युरो सी झोङ्गक्सुनका छोरा हुन् । चीनका दोस्रो शक्तिशाली नेता प्रधानमन्त्री ली कच्याङले पेकिङ विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । कच्याङ सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएयताकै सबैभन्दा सुशिक्षित प्रधानमन्त्री मानिन्छन् । अहिले चीनको आर्थिक योजनाको सम्पूर्ण नेतृत्व कच्याङको हातमा छ । केन्द्रीय समितिका अधिकांश सदस्य शीर्ष चिनियाँ विश्वविद्यालयमा शिक्षित छन् । विदेशी शिक्षा लिएका मन्त्री तथा उच्च ओहदाका सरकारी कर्मचारीको हिस्सा कम नै छ । त्यस्ता मन्त्री तथा अधिकारीले वित्त, विदेश मामिला, विज्ञान र प्रविधि विभाग साम्हालिरहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको एक हिस्सा राजनीतिक वंशबाट आएका भए पनि तिनले पनि नेतृत्वको सिँढीमा माथि चढ्नका लागि शैक्षिक योग्यता हासिल गर्नैपर्छ । त्यसैले अधिकांश ‘प्रिन्सेलिङ्स’ समूहका नेतासँग पनि न्यूनतम स्नातक डिग्री छ । आमजनताबीचबाट हुर्केका नेतालाई उच्च ओहदामा पुग्नका लागि थप बलियो शैक्षिक योग्यताको आवश्यकता पर्छ । 

(बिबिसी विश्व सेवाको चीन डेक्समा रहेर मिडिया पत्रकार रहिसकेका बरार हाल स्वतन्त्र रूपमा पत्रकारिता गर्छन्)
द प्रिन्टबाट

सुझावित समाचार