पर्यटन उद्योगसँग सम्बद्ध होटेल, ट्राभल, ट्रेकिङ तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी प्रदान गर्ने भएको छ । कोभिड–१९ का कारण तुलनात्मक रूपमा बढी प्रभावित भएकाले पर्यटन क्षेत्रका कर्मचारीलाई कोषले विशेष सापटी दिने भएको हो ।
यी क्षेत्रहरूमा कार्यरत कर्मचारीले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी भएको भएमा मात्र यो सेवा पाइने कोषले जनाएको छ । यस कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिइने जनाइएको छ ।
हालको असामान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषले जनाएको छ । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने कोषले जनाएको छ ।
यस सापटीमा कर्मचारी बचत वृद्धि अवकाश कोषले दिने ब्याजदरसरह नै ब्याज लिइने जनाइएको छ । अर्थात् यो कार्यक्रममा कोषले लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीलाई ०७८ पुस मसान्तसम्म उपलब्ध गराइने र सापटी लिएको रकम २ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।