जिल्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्रमा रहेको सायाँ स्वास्थ्यचौकीमा सिटामोलसमेत अभाव भएको छ । दैनिक २० देखि २५ जनासम्म रुघाखोकी र ज्वरोका बिरामी आउने गरेको सायाँ स्वास्थ्यचौकीमा सिटामोल अभाव भएको हो ।
स्वास्थ्यचौकीमा सामान्य सिटामोलसमेत नहुँदा बिरामीहरू खाली हात घर फर्किन बाध्य भएका छन् । गाउँपालिका केन्द्रकै स्वास्थ्यचौकी भएकाले सम्पूर्ण वडाबाट बिरामी आउने गरेको सायाँ स्वास्थ्यचौकी सर्केगार्डले जनाएको छ ।
रुघाखोकी, कपाल दुख्ने, शरीर दुख्नेलगायतका बिरामी स्वास्थ्यचौकीमा आउने गरेको सायाँ स्वास्थ्यचौकीमा प्रमुख किरण बुढाथोकीले जानकारी दिए ।
‘गाउँपालिकाले भर्खरै औषधि खरिद गरेको हो, स्वास्थ्यचौकीमा सिटामोल अभाव छ,’ स्वास्थ्य प्रमुख बुढाथोकीले बताए ।
अन्य बिरामीका लागि औषधि अलिअलि भएको र चाहिने मात्रामा औषधि नभएको स्वास्थ्य प्रमुख बुढाथोकीको भनाइ छ । ‘औषधि अभाव हुँदा गाउँपालिकाबाट माग गर्छौँ । अहिले गाउँपालिकामा पनि औषधि पर्याप्त मात्रामा छैन भन्नुहुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।
सर्केगार्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार २५ लाखको औषधि खरिदमा पहिल्यै टेन्डर भइसकेको थियो । सामान्य रूपमा गाउँपालिका सबै स्वास्थ्य संस्थामा हल्का हल्का औषधि भएको बताए । गाउँपालिकाको स्टोरमा थोरै औषधि छ । सिटामोल अभाव भएको उनले स्वीकार गरे ।