अघिल्लो खेलमा पहिलो रोजाइमै खेलेका ६ खेलाडीलाई परिवर्तन गरेको ब्राजिलले पेरुविरुद्ध ४–० को प्रभावशाली जित हात पार्यो । जितसँगै दुई खेलबाट ६ अंक जोडेको ब्राजिल समूह ‘बी’को शीर्ष स्थानमा छ ।
अघिल्लो खेलमा पहिलो रोजाइमै खेलेकामध्ये आधा खेलाडीलाई परिवर्तन गरेर पनि ब्राजिलले कोपा अमेरिकाअन्तर्गत आफ्नो दोस्रो खेलमा पेरूमाथि ४–० को प्रभावशाली जित हात पारेको छ ।
रियो दी जेनेइरोस्थित निल्टोन सान्तोस स्टेडिययमा भएको खेलमा ब्राजिललाई जित दिलाउन रक्षक एलेक्स सान्द्रो, नेमार, रिबेइरो र रिचार्लिसनले एक–एक गोल गरे । यो जितसँगै ब्राजिल समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ । ब्राजिलले दुई खेलबाट दुई जितसहित ६ अंक बनाएको छ ।
प्रशिक्षक टिटेका अनुसार ब्राजिलले जारी कोपा अमेरिकालाई अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपको तयारीका रूपमा लिएको छ । सोही कारण उसले प्राय: खेलमा आफ्ना खेलाडीको परीक्षण गरिरहेकाे छ । ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको थियो । उक्त खेलमा पहिलो रोजाइमा नपरेका ६ खेलाडीलाई प्रशिक्षक टिटेले पेरूविरुद्ध अवसर दिएका थिए ।
भेनेजुएलाविरुद्ध पहिलो रोजाइमा खेलका गोलरक्षक एलिसन, रक्षक माक्रविन्होस, रेनन् लोडी, मिडफिल्डर कासेमिरो, लुकास पाक्विटा र फर्वार्ड रिचार्लिसनले पेरूविरुद्धको खेलको स्टार्टिङ लाइनअपमा थिएनन् । उनीहरूको स्थानमा इडर्सन, थिएगो सिल्भा, एलेक्स सान्द्रो, फाबिन्हो, एभर्टन र गाब्रिइल बार्बाेसालाई अवसर दिइएको थियो ।
खेलमा ब्राजिलले १२औँ मिनेटबाटै अग्रता बनाएको थियो । गाब्रिइल जिससले क्रस गरेको बललाई क्लोज रेञ्जबाट सान्द्रोले गोलमा परिणत गरेका थिए ।
खेलको ६८औँ मिनेटमा पे?को डी बक्सभित्र बललाई नियन्त्रणमा लिएका नेमारले गोलरक्षक पेद्रो गल्लेसलाई समेत कटाएर गोल गरे । त्यसपछि पेरूले केही सुधारिएको खेल खेल्ने प्रयास गर्यो ।
यद्यपि, गोल गर्न सकेन । बरु, खेलको ८९औँ मिनेटमा ब्राजिलले तेस्रो गोल थप्यो । यसपटक रिबेइरोले गोल गरेका थिए । दोस्रो हाफमा मैदानमा छिरेका रिचार्लिसनले खेलको इन्जुरी समयमा गोल गरेपछि ब्राजिलको जित ४–० ले निश्चित भएको थियो । प्रतियोगिताअन्तर्गत ब्राजिलले बुधबार कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।